Comments Add Comment

भरतपुर कोभिड–१९ प्रयोगशालामा दैनिक सयभन्दा बढीको परीक्षण

२४ जेठ, चितवन । चितवनको भरतपुरमा स्थापना गरिएको भरतपुर कोभिड–१९ प्रयोगशालामा दैनिक एक सयभन्दा बढी स्वाब परीक्षण गर्न थालिएको छ । भरतपुर अस्पताल मातहतमा रहेको प्रयोगशालामा चितवन, नवलपरासी, धादिङ, कपिलवस्तु, मकवानपुर लगायतका जिल्लाबाट संकलन गरी ल्याइएका स्वाब परीक्षण हुँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

भरतपुर महानगर प्रमुख रेनु दाहालको पहलमा गएको गत चैत २४ गतेबाट सञ्चालनमा आएको प्रयोगशालामा अहिलेसम्म दुई हजार सात सय ५७ जनाको स्वाब परीक्षण गरिएको अधिकारीले जानकारी दिए । शुरुशुरुका दिनमा निकै कम परीक्षण भए पनि पछिल्लो समयमा भने दैनिक एक सयभन्दा बढीको नमूना परीक्षण गर्न थालिएको छ ।

भरतपुर अस्पताल र कोरोना अस्थायी अस्पतालबाट मात्रै एक हजार ५०३ वटा नमुना परीक्षण भएका छन् । भरतपुर अस्पतालको ५८६ र कोरोना अस्थायी अस्पतालको ९१८ वटा नमूना परीक्षण भएको अस्पतालले जनाएको छ । बाँकी कपिलवस्तु, मकवानपुर, धादिङबाट संकलन गरेर ल्याइएका हुन् ।

प्रयोगशालामा अहिले १० जना प्राविधिकहरुले काम गरिरहेका छन् । भरतपुर अस्पतालकी माइक्रोबायोलोजिष्ट डा. नितु अधिकारीको नेतृत्वमा भरतपुर अस्पतालका ६ जना, चितवन मेडिकल कलेजका दुई र पुरानो मेडिकल कलेज भरतपुरका दुई जना प्राविधिकहरूले काम गरिरहेका छन् । अहिले विभिन्न जिल्लाका क्वारेन्टाइनमा बसेकाहरुको स्वाब संकलन गरी पठाउने गरिएकोले प्रयोगशालामा चाप बढ्दै गएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । ‘चितवनमा पनि क्वारेन्टाइनमा झण्डै १ हजारभन्दा बढी हुनुहुन्छ उहाँहरुको पनि टेस्ट भैरहेको छ, बाहिरी जिल्लाबाट पनि स्वाबहरु संकलन भएर आइरहेका छन्, जसले गर्दा चाप निकै बढेको देखिएको छ,’ मेसु डा. तिवारीले भने, ‘अहिले रिएजेन्ट पनि भएको र जनशक्ति पनि दक्ष भएकाले काम फटाफट गर्न सकेका छौं ।’

कोभिड १९ प्रयोगशालामा अहिले १ हजार पीसीआर किट र आरएनएन एक्सट्याक्सन किट् रहेको डा. तिवारीले जानकारी दिए । ‘हरेक दिन एक बजे मन्त्रालयमा रिपोर्टिङ गर्छौं, रिएजेन्टको समस्या छैन, भिटिएम पनि पर्याप्त छ,’ मेसु डा. तिवारीले भने । स्थानीय तहका स्वास्थ्यकर्मी र विभिन्न अस्पतालहरूलाई आफैँले भिटिएमको व्यवस्थापन गरेर स्वाब गरेर ल्याउन भनिएको छ ।

प्रयोगशालामा काम गर्ने १० जना प्राविधिकलाई अस्पतालले भरतपुर चौविसकोठीमा रहेको होटल ग्लोबलमा आइसोलेसनमा राखेको छ । प्राविधिक कर्मचारीहरु उच्च मनोबलका साथ राति एक–दुई बजेसम्म काम गर्ने गरेको डा. तिवारीले बताए । मेसु डा. तिवारीले पहिले भरतपुर अस्पतालको मात्रैं व्यवस्थापन गरे पुग्नेमा अहिले भरतपुर अस्पतालसहित भरतपुर कोरोना अस्पताल र कोभिड १९ प्रयोशालाको समेत व्यवस्थापन गर्नुपर्ने बताए । ‘हामीले शनिवारको सार्वजनिक पनि नभनी काम गरिहेका छौं, आवश्यक पर्दा रातमा समेत गएर व्यवस्थापकीय काम गरेका छौं,’ डा. तिवारीले भने । मन्त्रालयका गाइडलाइन, खर्चमा मितव्यीयता र चुस्त व्यवस्थापनलाई ख्याल गर्दै आइपर्न सक्ने चुनौतीको समेत सामना गर्ने गरी योजना बनाइएको डा. तिवारी बताउँछन् ।

१७ जनामा कोरोना संक्रमण पुष्टि

चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा अहिलेसम्म १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामा चितवनका ६ जना, नवलपरासीका ७ जना र कपिलवस्तुका ४ जना छन् । भरतपुर अस्पतालमा उपचारका लागि राखिएका राप्ती नगरपालिकाका दुई र मकवानपुरमा नै कोरोना संक्रमण पुष्टि भएर रिफर भएकी एक गर्भवती महिलासहित ३ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।

संक्रमण पुष्टि भएकामध्ये अहिले ५ जनाको भरतपुर कोरोना अस्पतालमा र २ जनाको भरतपुर अस्पतालमा उपचार भैरहेको छ । कोरोना अस्पतालमा उपचाररत चार जना नवलपुरका हुन् । हाल अस्पतालमा उपचाररत संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए ।

चितवनका जेठ १० गतेपछि नयाँ संक्रमित थपिएका छैनन् । जिल्लाका दैनिक ६० जनाको स्वाब लिएर कोरोना परीक्षण गरिएको सूचना अधिकारी पौडेलले बताए । क्वारेन्टिनमा बसेकाहरूको चाप बढ्दै गएकाले संक्रमण देखिनसक्ने भएकोले तयारी परीक्षणको दायरा बढ्दै गएको अधिकारीले बताए । तनहुँ, गोरखा लगायतका जिल्लाबाट समेत आवश्यक परे नमूना ल्याउन भनिएको अस्पतालका मेसु डा. तिवारीले बताए ।

भरतपुर अस्पतालमा लिए १६ हजारले सेवा

केन्द्रीय अस्पतालको रुपमा विकास भएको भरतपुर अस्पतालमा लकडाउनपछिको समयमा करिब १६ हजार बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी पौडेलले दिएको तथ्यांकअनुसार १५ हजार ९१२ जनाले सेवा लिएकामा दुई हजारभन्दा बढीले प्रसूति सेवा लिएका छन् ।

१५ हजार ४०५ जनाले आकस्मिक सेवा लिएका छन् । ५०० जनाले ज्वरो क्लिनिकमार्फत सेवा लिएका छन् । अस्पतालमा अहिले दैनिक ३ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् । अस्पतालमा अहिले १३५ आइसोलेन बेड संख्या रहेको छ । १० बेडको आईसीयू कक्ष कोरोना संक्रमितको उपचारका लागि तयार गरिएको छ । अस्पतालको ‘ए’ ब्लकको भुइँ तलालाई सील गरी कोरोना संक्रमितलाई क्याविन र वार्डमा राख्ने व्यवस्था मिलाइएको डा. तिवारीले बताए ।

अस्पतालले ओपिडी सेवा जारी राखेको छ । विगत ६ महिनादेखि बिग्रिएको सिटी स्क्यान मेसिन पनि पुनः सञ्चालनमा आएको छ । अस्पतालमा आएका कुनै पनि बिरामीलाई उपलब्ध सेवा नदिई कसैले फर्काएमा कडा कारबाही गरिने अस्पतालका मेसु डा. तिवारीले बताए । अस्पतालमा स्वास्थ्यकर्मीले सीमित स्रोत साधान र चुनौतीका बीच सेवा दिइरहेको डा. तिवारीले दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment