+
+
WC Series
चितवन राइनोज 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
0/0
Shares
लेखक, लेखनी र लोकालय :

काफ्का, काफ्काएस्क र काफ्काली कायान्तरण

एक सय वर्षभन्दा पहिले लेखिएका भए पनि काफ्काका किताबहरू आधुनिक समयका चिन्ता, पीर र व्यथाहरूबारे सशक्त तरीकाले बोल्छन् ।

जयदेव गौतम जयदेव गौतम
२०८२ मंसिर २० गते १४:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फ्रान्ज काफ्का सन् १८८३ मा प्रागमा जन्मेका थिए र सन् १९२४ मा अस्ट्रियाको क्लोस्टर्न्युबर्गमा क्षयरोगले निधन भएका थिए।
  • काफ्काका प्रमुख कृतिहरूमा 'द मेटामोर्फसिस', 'द ट्रायल' र 'द क्यासल' पर्दछन् जसले जीवनको विसङ्गति र कर्मचारीतन्त्रको उदेकलाग्दो चरित्र चित्रण गर्छन्।
  • उनको लेखनशैलीबाट उत्पन्न 'काफ्काएस्क' शब्दले जटिल र बुझ्न कठिन अवस्थालाई जनाउँछ र विश्वभरका लेखक र पाठकलाई प्रेरित गरिरहेको छ।

उनी जुलाई ३ तारिखमा जन्मिए । र, जून ३ तारिखका दिन दिवंगत भए । तर उस्तै–उस्तै लाग्ने यी दुई अलग महिनाका एउटै तारिखका बीच भने चार दशक लामो अन्तराल छ । किनभने उनी तत्कालीन यूरोपको अस्ट्रिया–हङ्गेरिन साम्राज्य अन्तर्गत पर्ने प्राग शहरमा सन् १८८३ मा आमाको गर्भाशयबाट बाहिरिएका थिए, र, क्षयरोगले ग्रस्त भई अस्ट्रियाको क्लोस्टेरन्युबर्ग शहरमा सन् १९२४ मा फ्रान्ज काफ्काले जीवनको अन्तिम सास फेरेका थिए । जतिबेला उनको मृत्यु भयो, त्यो समयसम्म उनी संसारका लागि मानौं एक अन्जान जीवात्मा मात्र थिए ।

तर जम्मा एकचालीस वर्ष पनि बाँच्न नपाएका यी व्यक्तिलाई बीसौं शताब्दीमा लेखिएको विश्व–साहित्यका एक प्रमुखतम हस्ती मानिन्छ । उपन्यास, कथा, डायरी, पत्र–पत्रादि, उखान–टुक्का जस्ता सूत्र–वाक्यहरू आदि लेखे पनि उनी विशेष गरी आफ्ना तीन प्रमुख कृति –मास्टर वर्क्स – ‘द मेटामोर्फसिस’, ‘द ट्रायल’ र ‘द क्यासल’ का लागि अत्यधिक चिनिन्छन्, पढिन्छन् अनि रुचाइन्छन् पनि ।

उनी दार्शनिक थिएनन्, र आफ्ना रचनालाई दर्शनको स्वरूप पनि दिएनन् तर उनले आफ्ना रचनामा जीवनको विसङ्गति र अर्थहीनता, समाजबाट अलगावको स्थिति, अनि सरकारी संयन्त्र र लाल फिताशाही अथवा कर्मचारीतन्त्रको उदेकलाग्दो चरित्र आदि जस्ता विचारलाई वीभत्स अभिव्यक्ति दिए ।

उनलाई पढी जान्नेहरू भन्छन्, उनका रचनाहरू अस्तित्ववाद र विसङ्गतिवादको नजिक छन् किनभने उनी कुनै दैवी शक्तिको उपस्थिति वा आशीर्वादको कुरा गर्दैनन्, अमानवीय शक्तिहरूविरुद्धको मानवीय सङ्घर्षको चित्रण गर्छन्, र, यो अर्थहीन एवं विसङ्गत संसारमा आफ्नो लक्ष्य हासिल गर्न व्यक्ति आफैँ जिम्मेवार हुनुपर्ने अभिव्यक्ति दिन्छन् । उनले आफ्ना कतिपय रचनामा यथार्थवाद र स्वेरकल्पना अनि अत्यन्त जटिल, अनौठो एवं बुझ्नै नसकिने सामाजिक र सरकारी शक्ति प्रदर्शन –नोकरशाहीतन्त्र– को वर्णन गरेका छन् ।

र, उनले लेखेका अनि उल्लेख गरेका क्लिष्ट, जटिल एवं अबुझ पहेली जस्तो लाग्ने कठिन परिस्थितिलाई सङ्केत गर्ने गरी नयाँ शब्द नै आविष्कार भयो, उनकै नामसँग गाँसिएर, “काफ्काएस्क” । कठिनतम अथवा बुझ्न कठिन हुने कुरा गर्‍यो यदि कसैले भने त्यसलाई “कस्तो काफ्काएस्क कुरा गरेको ? अलि सजिलोसँग र बुझिने गरी भन्न सकिँदैन ?” भनेर संवाद गर्ने चलन नै चलेको छ, चलाइएको छ । लेख–रचनाहरूमा पनि यो शब्द भाषाशास्त्र (लेक्सीकोन) भित्रकै एक अंशका रूपमा प्रयोग हुने गरेको छ ।

उनका किताबहरूमध्ये ‘मेटामोर्फसिस’ लघु–उपन्यास अनि ‘द जजमेन्ट’, ‘अ हङ्गर आर्टिस्ट’ (कथा), ‘कन्टेम्प्लेशन’ र ‘अ कन्ट्री डाक्टर’ कथा–सङ्ग्रहहरू, एउटा लामो चिठ्ठी ‘लेटर टू हिज फादर’ आदि उनको जीवनकालमै प्रकाशित भएका थिए । तर ती कुनै पनि कथा, उपन्यास वा पत्र–साहित्यले उनलाई कुनै पहिचान दिएका थिएनन्, केही सय प्रतिभन्दा बढी बिक्री पनि भएका थिएनन्, उनलाई केही चेक अनि जर्मन लेखक–मित्रहरूसम्म मात्र चिनारी दिएका थिए, र, अन्यत्र उनी मानौं गुमनाम सरह थिए ।

यही कारणले गर्दा उनी जीवनको अन्तिम पलसम्म आफूलाई एक कमसल एवं नितान्त असफल लेखक ठहर गर्दै बाँचेका थिए । (उनको स्वभाव र प्रकृति के थियो भने उनलाई नाम र प्रशंसाको भोक थिएन, बस् केवल निरन्तर लेख्न पाए पुग्थ्यो) । उनलाई “म लेख्न सक्छु । लेखनमा नै मेरो जीवनको अर्थ छ” भन्ने चाहिँ लागिरहन्थ्यो ।

पितासँग काफ्का अत्यधिक धकाउँथे, डराउँथे । पिता-पुत्रबीचको यस्तै तीतो सम्बन्ध र पिताको ‘डोमिनेटिङ’ स्वभाव पछि काफ्काका सिर्जनाहरूमा छताछुल्ल पाइन्छ ।

आफ्नो हृदयको आवाज मुखरित गर्दै उनी सोझै भन्थे, “लेख्नु भनेको मृत्युभन्दा पनि गहिरो निद्रामा पुग्नु हो । जसरी एक पटक चिहानमा गाडिसकिएको मुर्दालाई बाहिर निकालिदैन, त्यसै गरी कसैले मलाई पनि आफ्नो लेख्ने टेबलबाट टाढा (गर्न) राख्न र पुर्‍याउन सक्दैन ।”

उनको मृत्युको केही वर्षपछि पूर्वप्रकाशित कृतिसँगै उनका अरू अनेक अप्रकाशित किताबहरू छापिए, अनि त्यसपछि त उनी आफ्नो शहर र देशभित्र मात्र नभई क्रमशः विश्वभर पढिन र चिनिन थालिए । विश्वभरका पाठकले उनलाई संसारका महान लेखकहरूको श्रेणीमा दर्ज गरे ।

दुनियाँभरका कलाकार, दार्शनिक, लेखक, धार्मिक एवं सांस्कृतिक प्राज्ञ–गुरु र विविध क्षेत्रका तमाम सर्जक उनका सिर्जना पढेर तिनबाट व्यापक रूपमा प्रभावित पनि र अभिप्रेरित पनि हुन थाले । भइरहेकै छन् । र, भइ नै रहने छन् ।

को थिए यस्तो गज्जबका व्यक्तित्व ? हो, उनी थिए, वर्तमान चेक गणतन्त्रका एक जना जर्मनभाषी यहूदी लेखक । दुनियाँ उनलाई फ्रान्ज काफ्का भनेर चिन्दछ ।

रातभर बाहिर बार्दलीमा बालक काफ्का

काफ्काको समग्र जीवनकथा नै सुखद छैन । त्यसमा त असाधारण प्रतिभा, प्राणघातक रोग, दुःख, निराशा, संत्रास, एक्लोपन, अनिद्रा, जटिलता, रहस्यमयता, हीनताभाव, अवसाद, असन्तुष्टि, छटपटाहट आदि अनेक भाव मिश्रित रूपमा खाँदिएर बसेका छन् । शायद यसै कारण उनी र उनीबारे गहिरिएर पढेकाहरू भन्छन्, काफ्काको जीवन गलत अभिभावकत्व अर्थात् नितान्त असन्तुलित लालनपालनको एक दुःखद उदाहरण हो ।

पछि गएर उनको लेखनमा देखिएको विसङ्गति र वीभत्सता परिवारभित्र उनी आफैँले पाएको र भोगेको व्यवहारकै छाप पनि हो । यही कारण उनको नाम काफ्कासँग जोडिएर जटिल र कठिनताको पर्यायका रूपमा “काफ्काएस्क” भनेर नयाँ शब्द नै उदय भयो । (अङ्ग्रेजी साहित्य र पत्रकारितामा यो शब्द बढी प्रयोग हुन्छ) ।

पिता हर्मन र आमा जूली काफ्काको छ जना छोराछोरी भएको मध्यम वर्गीय परिवारमा फ्रान्ज काफ्का जेठा थिए । उनका दुई भाइ क्रमशः जर्ज र हेनरीक शैशव अवस्थामै दिवंगत भएका थिए, भने उनका तीन बहिनी ग्याब्रियाली (एली), भ्यालेरी (भ्याली) र ओटिली (ओट्ला) थिए । (यी तीनै जना बहिनीलाई दोश्रो विश्व–युद्धको बेला नाजी जर्मन सेनाले यातना शिविर वा कन्सनट्रेशन क्याम्पमा पुर्‍याई नृशंसतापूर्वक हत्या गरेको थियो) ।

आफ्ना बहिनीहरूमध्ये फ्रान्ज कान्छी बहिनी ओटिलीसित सबभन्दा घनिष्ठ थिए ।

फ्रान्जका पिता हर्मन काफ्का आफैँ चाहिँ चेक गणतन्त्रको बोहेमिया प्रदेश अन्तर्गत पर्ने ओसेक गाउँका बासिन्दा ज्याकोब काफ्काका चौथा सन्तान थिए । यो परिवार पशुपंक्षीको मासु बेच्ने पसल सञ्चालन गथ्र्यो । अलि उमेर छिप्पिएपछि हर्मनले गाउँ छोडे र प्राग शहरमा बसाइँ सरे । उनकी श्रीमती र फ्रान्जकी आमा जूलीको माइती परिवार कपडा उद्योग सञ्चालन गर्थ्यो । प्राग बस्न थालेपछि हर्मनले कपडा पसल खोले, छिट्टै प्रगति हुँदै गयो र पसलमा उनले पन्ध्र जनासम्म कामदार राख्न थालेका थिए । यसरी चाँडै नै उनी प्राग शहरमा उच्च–मध्यम परिवारको आर्थिक श्रेणीमा पुगिसकेका थिए ।

पिता हर्मन चाहिँ मासु व्यापारको पारिवारिक विरासतले गर्दा अलि कठोर र कर्कश त थिए नै, उनको शरीर पनि अग्लो र कुनै बलशाली पहलमान जस्तो दह्रो एवं कसरती थियो । तर फ्रान्ज थिए सानो जिउ भएका दुब्ला–पातला बालक । हर्मन चाहिँ आफ्नो जेठो छोरालाई आफू जस्तै मजबूत शरीर भएको बलशाली बनाउन चाहन्थे । शायद यस कारण पनि उनी छोरा फ्रान्जप्रति आवश्यकताभन्दा बढी नै कठोर थिए।

क्षयरोगले काफ्काको घाँटीको माथिल्लो भागमा नराम्ररी असर गरेको थियो । यसले गर्दा उनले केही खान सक्दैन थिए । क्षयरोगको यही प्रभावले उनी खानै नसक्ने अवस्थाले गर्दा अन्त्यमा भोकमरी (कुपोषण) ले दिवंगत भएका थिए ।

एक पटकको प्रसङ्ग, फ्रान्ज काफ्का लगभग ९ वर्ष पुगेका थिए । जाडो याम थियो । रातिको समयमा उनले तिर्खा लाग्यो भन्दै बाआमासित पानी मागे । अँध्यारो भएकाले एक्लै भान्छातिर जान सकेनन्, केही समय पानी पनि पाएनन् । उनको एकोहोरो पानी मगाइले आजित हुन पुगेका पिता हर्मन ओछ्यानबाट जुरुक्क उठे र छोरालाई पाखुरामा समाएर बार्दलीबाहिर पुर्‍याए, अनि आफू भित्र पसेर बार्दलीको ढोका भित्रबाट बन्द गरेर फेरि ओछ्यानमा घुस्रिए । जाँघे र कमेज मात्र लगाएका बालक फ्रान्ज त्यो मुटु ठिहीर्‍याउने यूरोपेली जाडोको रात रुँदै र डराउँदै बाहिर बार्दलीमा बिताउन विवश बने ।

आमा जूली पनि आफ्ना पति हर्मनसँग डराउने हुँदा त्यस रात फ्रान्जको उद्धार हुन सकेको थिएन । रवाफ देखाउनुपर्ने हर्मन डर, धाक, धम्की, बल, हात, खुट्टा आदि सबथोक प्रयोग गर्न पटक्कै पछि पर्थेनन् । पितासँग काफ्का अत्यधिक धकाउँथे, डराउँथे । पिता-पुत्रबीचको यस्तै तीतो सम्बन्ध र पिताको ‘डोमिनेटिङ’ स्वभाव पछि काफ्काका सिर्जनाहरूमा छताछुल्ल पाइन्छ ।

लेखक बनेर उदाउँदै गर्दा फ्रान्ज काफ्काले प्रकाशित गरेको करिब १०० पृष्ठ लामो किताब “लेटर टू हिज फादर” मा उनले लेखे, “म सानो छु, दुब्लो–पातलो छु र मेरो बुबा अग्लो अनि पहलमान जस्तो शरीर भएको हुनुहुन्छ, त के यत्ति कारणले गर्दा उहाँ मलाई डराएर बस्ने बनाउन सक्नुहुन्छ त ? …उहाँ मेरो बुबा हुनुहुन्छ, त के यत्तिले गर्दा उहाँलाई ममाथि हुकुम चलाउने र मेरो भावनात्मक शोषण गर्ने अधिकार प्राप्त हुन सक्छ ? …के पिता हुनु भनेको बलशाली र अत्याचारी हुनु हो र ?… के सबै किसिमको शक्ति भनेको अन्ततः पिताकै जस्तो शक्ति हुने गर्छ त ?”

यति मात्र नभएर फ्रान्ज काफ्काको दिमागमा घुमिरहने अर्को प्रश्न पनि थियो, जुन उनले आफ्ना रचनाहरूमा गहिरो गरी अभिव्यक्त गरेका छन्, “शक्ति वा बलशाली मानिसहरू कमजोर वा शक्तिहीन मानिसहरूसँग किन दास सरह व्यवहार गर्छन् ?”

अर्थहीन जीवनमा अर्थ खोज्ने प्रयास

काफ्काको बालापन लगभग एक्लोपनमा नै बितेको हो । किनभने विदाबाहेक अन्य सबै दिन पिता काममा व्यस्त रहने, र आमा पनि बाह्र–बाह्र घण्टासम्म त्यही काममा खटिनुपर्ने हुँदा काफ्का धेरैजसो या त एक्लै हुन्थे, होइन भने घरमा काम सघाउने सहयोगीहरूको रेखदेखमा । बहिनीहरू सानै थिए ।

हाइस्कूलको पढाइ सकेपछि उनी चेक गणतन्त्रको सबैभन्दा ठूलो र हालसम्म पनि सञ्चालित विश्वकै पुराना विश्वविद्यालयमध्येको एक ‘युनिभर्सिटी अफ प्राग’ पनि भनिने ‘चाल्र्स युनिभर्सिटी’ मा पढ्न थाले ।

पहिला दर्शनशास्त्र पढ्न भर्ना भए पनि पितालाई खुशी पार्न केवल दुई सातापछि नै विषय परिवर्तन गरी उनले कानुन पढ्न थाले । कानुनसँगै उनले जर्मन स्टडीज र कला इतिहास पनि पढ्न थाले । यहीँ उनको भेटघाट र परिचय भयो, जीवनभरका साथी म्याक्स ब्रडसित पनि ।

पछि ब्रडले लेखे–बताए अनुसार, काफ्का अत्यन्त लज्जालु स्वभावका थिए । तर उनी आजीवन गहन अध्येता थिए, मानौं अध्ययनका लागि त उनी महान अघोरी नै थिए । काफ्काले प्लेटो, गुस्ताभ फ्लोबेयर, फ्योदोर दोस्तोएभस्की, आदि समेत धेरै पुराना र नयाँ लेखकलाई पढे । तर उनलाई विशेष मन पर्ने लेखकहरूमा फ्योदोर दोस्तोएभस्की, फ्लोबेयर, निकोलाई गोगोल, फ्रान्ज ग्रीलपार्जर, हेनरी भान क्लीष्ट, योहान वुल्फग्याङ भान गुथे आदि थिए । उनलाई चेक साहित्य पनि उत्ति नै रुचिकर लाग्थ्यो।

त्यही विश्वविद्यालयबाट काफ्काले १८ जून १९०६ मा कानूनमा विद्यावारिधि ‘डक्टर अफ ल’ को उपाधि हासिल गरे । त्यसपछि अनिवार्य एक वर्ष नागरिक तथा अपराध अदालतहरूमा अवैतनिक जागीरे सेवा प्रदान गरे ।

अध्ययन र अवैतनिक काम सकिएपछि काफ्काले करिब एक वर्ष एउटा बीमा कम्पनीमा काम गरेका थिए । तर बिहान आठ बजेदेखि साँझ छ बजेसम्म काम गर्नुपर्ने त्यो कार्यतालिकामा उनले स्वतन्त्र लेखन गर्न पाएनन्, त्यसकारण त्यो कामबाट राजीनामा दिएर अर्को बीमा कम्पनीमा काम थाले । उनका पिता छोराको यो कामलाई ‘मात्र मुखमा माड लाउने काम’ भन्थे, केवल केही बिल, शुल्क आदि मात्र तिर्न पुग्ने तलब पाउने जागीर, र त्यसबाट केवल बिल भुक्तनी गर्न मात्र मिल्छ, भन्थे ।

तर काफ्का पिताको यस भनाइसित सहमत थिएनन् । बीमा कम्पनीमा उनले छिटोछिटो बढुवा पाए । त्यहाँ वर्षौं काम गर्दा उनले लेखेका वार्षिक प्रतिवेदनहरू उनका माथिल्लो तहका अधिकृतहरूले निकै रुचाए । अब उनलाई आफूले चाहे अनुसार स्वतन्त्र लेखनका लागि यथेष्ट समय मिल्न थालेको थियो, किनभने कम्पनीमा उनको काम केवल दिउँसो दुई बजेसम्म मात्र हुन्थ्यो । यद्यपि उनका पिता चाहन्थे, छोराले फेन्सी सामान बेच्ने पारिवारिक पसलमा पनि जिम्मेवारीयुक्त किसिमले समय देओस् । तर त्यस कार्यप्रति काफ्काको ध्यान कहिले  गएन । बरु उनले सिकिस्त बिरामी भएर काम गर्न नछाडेसम्म उही बीमा कम्पनी र स्वतन्त्र लेखनलाई निरन्तरता दिइरहे ।

काफ्काले केही अवधि बीमा कम्पनीमा काम गरेपछिको समय आफ्नो ठूलो ज्वाइँ कार्ल हर्मनले साझेदारीमा खोलेको पसलमा खर्च गरे, तर यसरी समय खर्च गरेको कुरो छिट्टै नै उनलाई व्यर्थ लाग्न थाल्यो किनभने त्यसले उनको लेखनमा बाधा पारिरहेको थियो । यसो भएपछि उनले त्यो काम छाडिदिए ।

पहिलो विश्वयुद्धका बेला सैन्य सेवामा अनिवार्य जानुपर्ने अवस्था सिर्जना भयो तर उनले काम गर्ने बीमा कम्पनीले उनलाई छोडेन । बरु सन् १९१५ मा उनलाई क्षयरोग  लागेको चिकित्सकीय कागज बनाएर सेनामा जान नपर्ने गराइयो । त्यसपछि पनि एकाध पटक काफ्काले सेनामा जाने प्रयास गरेका थिए ।

यसै क्रममा सन् १९१७ मा उनलाई फेरि जाँच गरियो । यस पटक उनलाई क्षयरोग लागेको झन् पुष्टि भयो । यही रोगले गर्दा अर्को वर्ष सन् १९१८ मा उनले काम गर्ने कम्पनी ‘वर्कर्स एक्सीडेन्ट इन्स्यूरेन्स इन्स्टीच्यूट’ ले नियमित निवृत्तिभरण पाउने गरी कामबाट विदा दियो । तिनताका क्षयरोगको उपचार हुँदैन थियो । काफ्काले आफ्नो जीवनका अन्तिम वर्षमा धेरैजसो समय उपचार–गृहमा बिताएका थिए ।

त्यो समय ताका पाइपले खाना खुवाउन मिल्ने प्रविधि पनि विकास भइसकेको थिएन । क्षयरोगले काफ्काको घाँटीको माथिल्लो भागमा नराम्ररी असर गरेको थियो । यसले गर्दा उनी केही खान सक्दैनथे । यही प्रभावले उनी खानै नसक्ने अवस्थाले गर्दा अन्त्यमा कुपोषणका कारण दिवंगत भएका थिए ।

आफू मर्न लागेका ती दिनहरूमा काफ्का आफ्नो कथा–सङ्ग्रह “अ हङ्गर आर्टिस्ट” छाप्नका लागि अन्तिम सम्पादन गर्दै थिए ।

आजीवन अविवाहित काफ्का र उनको प्रेम

काफ्काले जीवनमा धेरै पटक प्रेम गर्ने प्रयास गरे तर कहिल्यै सफल प्रेमी हुन सकेनन् । अनेक युवतीहरूसित सम्बन्ध गाँसे, केही पटक सगाई पनि गरे तर विवाह कहिल्यै पनि भएन । यद्यपि छ फिटको शारीरिक अग्लाइ पाएका उनको जीवनमा  तीन जना युवतीहरू आए– फेलिस बावर, मिलेना येसेन्स्का र डोरा डायमन्ट, तथापि काफ्काको दाम्पत्य जीवन गाँसिन सकेन ।

उनी युवतीहरूसित प्रेम सम्बन्ध गाँस्थे, आफ्नो अत्यन्त अन्तर्मुखी स्वभावले गर्दा कमै मात्र भेटघाट गर्थे र, बरु आफ्ना भावनाहरू पत्रमा लेखेर पठाउँथे । अथवा, मन र मस्तिष्कमा उठेका भावनाहरूलाई डायरीमा लेखी बस्थे ।

आफूलाई क्षयरोग लागेको थाहा भएपछि काफ्का केही महिना कान्छी बहिनी ओटला र बहिनी–ज्वाइँ कार्ल हर्मनसँग बस्ने गरी उनीहरूको गाउँ बोहेमिया पुगे । त्यहाँ उनले पूर्ण आराम अनुभव गरे र पछि त त्यो बसाइँलाई आफ्नो जीवनको सर्वश्रेष्ठ समयावधि भनेर पनि लेखे,

काफ्काको प्रेम र यौन स्वभावबारे उनका निकटतम साथी म्याक्स ब्रडले भने अनुसार, खासमा काफ्का त यौन चाहनाले गर्दा अत्यन्तै तिर्खाएका र झण्डै “प्रताडित” जस्तै हुन्थे । र, यसो हुँदा पनि उनी सधैँ “यौन असफलता” को त्रासले भयभीत भइरहन्थे । आफ्नो यो भय मेटाउन काफ्काले आफ्नो युवा जीवनको धेरैजसो समय देह–व्यापार केन्द्रहरू धाएरै बिताएका थिए । योसँगै उनले नग्न एवं अश्लीलतम तस्वीर हरू पनि थुपारेका थिए ।

आफ्नो प्रकृति र स्वभाव यस्तो भए पनि काफ्कालाई आफू कुनै पनि मानवीय सम्बन्ध र दाम्पत्य जीवनका लागि उपयुक्त पात्र नभएको भन्ने लागिरहन्थ्यो । उनले आफ्नो डायरीमा लेखेका छन्, “मैले विवाह गरें भने त्यसपछिको पारिवारिक जीवनले मेरो लेखन–यात्रालाई पूर्णतः प्रभाव पार्नेछ, मेरो लेखकीय स्वतन्त्रता खोसिने छ ।” यस कारण पनि उनले कहिल्यै विवाह गरेनन् ।

काफ्काकी पहिली प्रेमिका फेलिस बावर थिइन । उनी काफ्काका साथी म्याक्स ब्रडकी नातेदार थिइन् र उनलाई काफ्काले पहिलो पटक ब्रडकै घरमा भेटेका थिए । अगस्त २०१२ मा प्रथम भेट भए लगत्तै उनीहरूबीच प्रेमपत्रको आदानप्रदान सुरु भयो । अर्को वर्ष जुलाईमा काफ्काले विवाहको प्रस्ताव राखे । उनीहरूको सगाई भयो र मे १९१४ मा विवाह हुने पनि पक्का भयो तर विवाह नहुँदै काफ्काले त्यो सगाई तोडी दिए ।

तापनि उनीहरूबीच भेटघाट र प्रेमपत्र साटासाट चाहिँ जारी थियो । फेरि उनीहरूको सगाई भयो र १२ जुलाई १९१७ मा उनीहरूबीच विवाह गर्ने र सँगै प्रागमा बस्ने सहमति भयो । तर यही बेला अस्पतालले काफ्कालाई क्षयरोग लागेको नतिजा सुनायो । यो थाहा पाएपछि काफ्का आफैँले दोस्रो पटक सहमति भएको विवाह नगर्ने निर्णय सुनाए । फेलिस त्यही वर्षको डिसेम्बरमा उनीबाट टाढिइन् ।

फेलिससित काफ्काले उनलाई लेखी पठाएका पाँच सयभन्दा बढी चिठ्ठी सुरक्षित थिए । आफूलाई आर्थिक सङ्कट परेको बेला उनले ती चिठ्ठी एकजना प्रकाशकलाई बेची दिइन् । तर, करीब पाँच वर्ष उनीहरू दुईबीच प्रेमपत्र आदानप्रदान भए पनि, फेलिसले काफ्कालाई लेखेका चिठ्ठीहरू भने सुरक्षित रहेनन् । जेहोस्, काफ्काले उनलाई लेखेका ती चिठ्ठीहरू “लेटर्स टू फेलिस” शीर्षकमा मझौला आकारको किताब बनेर छापिए ।

फेलिससित सम्बन्धमा रहेकै बेला काफ्काले आफ्नो चर्चित कथा “जजमेन्ट”, आफ्नो पहिलो अपूर्ण उपन्यास “अमेरिका” (अथवा, “द म्यान हू डिसएपीयर्ड”) र बहुचर्चित लघु–उपन्यास “मेटामोर्फसिस” पनि लेखेका थिए । यीमध्ये केवल मेटामोर्फसिस मात्र उनको जीवनकाल (सन् १९१५) मा छापिएको थियो, पहिले एक जर्नलमा, र, केही पछि अलग्ग किताबको रूपमा ।

काफ्काको जीवनी लेख्ने एक जर्मन लेखक राइनर स्ट्याक र अर्का एक बेलायती लेखक जेम्स हावसका अनुसार, काफ्काले तेश्रो पटक पनि सगाई गरेका थिए, सन् १९२० मा जूली वोरिसेक नाम गरेकी एक जना होटल कामदार युवतीसँग र, उनीहरूले एउटा फ्ल्याट भाडामा लिएर विवाह गर्ने मिति पनि तय गरिसकेका थिए । तर काफ्काका पिताले  स्वीकृति दिएनन् । र, यो विवाह कहिल्यै भएन ।

यही बेलातिर उनले आफ्नो नयाँ किताब “लेटर टू हिज फादर” को मस्यौदा तयार पार्न थालेका थिए ।अझ उनै स्ट्याक र ब्रडले पनि भने अनुसार, फेलिस बावरसित परिचय र निकटता बढिरहेको बेलामा पनि काफ्काले बर्लिनमा बस्ने अर्की एक यहूदी युवती, मार्गरथ ग्रेट ब्लोक, सित सम्बन्ध स्थापित गरेका थिए । ब्लोकले त काफ्कासितको सम्बन्धपछि एउटा छोरा पनि जन्माएकी थिइन्, तर काफ्कालाई यसबारे जानकारी कहिल्यै भएन । त्यो बालक पनि सात वर्ष हुँदा नहुँदै दिवंगत भएको थियो । यद्यपि काफ्काको जीवनी लेख्ने अर्का जर्मन लेखक पीटर आन्द्रे एल्टले भने “काफ्का र ब्लोकबीच अन्तरंग सम्बन्ध थिएन” भन्दै स्ट्याक र ब्रडको यो कुरा अस्वीकार गरेका छन् ।

अगस्त १९१७ मा आफूलाई क्षयरोग लागेको थाहा भएपछि काफ्का केही महिना कान्छी बहिनी ओटला र बहिनी–ज्वाइँ कार्ल हर्मनसँग बस्ने गरी उनीहरूको गाउँ बोहेमिया पुगे । त्यहाँ उनले पूर्ण आराम अनुभव गरे र पछि त त्यो बसाइँलाई आफ्नो जीवनको सर्वश्रेष्ठ समयावधि भनेर पनि लेखे, किनभने त्यहाँ कुनै पनि किसिमको जिम्मेवारी वहन गर्नुपर्ने थिएन । त्यहाँ उनले डायरी नियमित लेखी रहे र अभ्यास–पुस्तिका (कापी) हरूमा नयाँ किताबका लागि बूँदा–टिपोट पनि गर्दै रहे ।

काफ्काले सेप्टेम्बर १९१७ देखि अप्रिल १९१८ सम्मको समयावधिमा बेग्लाबेग्लै पानामा बनाएका एक सय नौ ओटा बूँदा–टिपोटलाई सङ्कलन र सम्पादन गरेर, उनको मृत्युपछि, उनका साथी म्याक्स ब्रडले सन् १९३१ मा “द ग्रेट वाल अफ चाइना” शीर्षकको किताबमा समावेश गरी प्रकाशन गरेका थिए । ती बूँदा–टिपोट खासमा उखान–टुक्का र सूत्र–वाक्य (वा, एक पंक्ति–वाक्य) हरू थिए ।

सन् १९२० मा काफ्काको अन्तरंग सम्बन्ध एक जना चेक पत्रकार, लेखक तथा अनुवादक मिलेना येसेन्स्कासित कायम भयो । मिलेना त्यसो त विवाहित थिइन् तर काफ्कालाई भेट्ने ताका उनको वैवाहिक जीवन बिग्रिसकेको थियो । उनीहरू दुईबीच करीब तीन वर्ष सम्बन्ध यथावत् रह्यो । पहिले जस्तै काफ्काले थुप्रै प्रेमपत्रहरू लेखी पठाए । मिलेनाले पनि जवाफमा त्यस्तै पत्र लेखिन् । पछि, काफ्काले उनलाई लेखेका पत्रहरू एक सङ्ग्रहको रूप लिएर “लेटर्स टू मिलेना” शीर्षकमा छापिए । यो प्रकाशन चाहिँ काफ्का बितेको केही महिनापछि भएको थियो ।

मिलेना तत्कालीन चेकस्लोभाकियाकै नागरिक थिइन् । उनलाई पत्र लेख्दा काफ्का जर्मन भाषामा लेख्थे र मिलेना चाहिँ आफ्ना जवाफी पत्रहरू चेक भाषामा लेखी पठाउँथिन् । पछि गएर काफ्काली रचनाहरूलाई जर्मनीबाट चेक र अङ्ग्रेजी भाषामा अनुवाद गर्ने प्रथम मानिसहरूमध्ये मिलेना पनि एक थिइन् । दोश्रो विश्वयुद्धको बेला नाजी जर्मनीले चेकस्लोभाकियामा आक्रमण गरी त्यहाँ नियञ्त्रण गर्ने क्रममा हजारौं–लाखौं यहूदी र यहूदी समर्थकलाई पक्राउ गरी यातना शिविरमा पुर्‍याएको थियो । यस्तै एक यातना शिविरमा केही समय राखिएपछि मिलेनालाई मारिएको थियो ।

मिलेनासित सम्बन्ध टुटेपछि काफ्काको प्रेम–सम्बन्ध एक जना पच्चीस वर्षीय यहूदी किन्टरगार्डेन शिक्षिका डोरा डायमन्टसित गाँसियो । यो सम्बन्ध चाहिँ काफ्का जीवित छँदासम्मै (अर्थात्, करीब एक वर्ष) कायम थियो । परिवारको प्रभावमा रहेर आफ्नो लेखनमा नकारात्मक असर पर्छ भन्दै त्यस्तो परिस्थितिबाट भाग्न काफ्का बर्लिन पुगे र त्यहीँ डेरा लिएर डोरासँगै बस्न थाले । त्यहाँ बस्दा उनले चार ओटा कथा लेखे, आफ्नो यो अन्तिम सङ्ग्रह छपाउनका लागि आफैँले तयार पनि पार्दै थिए, तर यही अवधिमा मार्च १९२४ मा उनको निधन भयो र त्यसको केही महिनापछि उनको यो सङ्ग्रह चारमध्येकै एक कथा “अ हङ्गर आर्टिस्ट” नै मूल शीर्षक राखेर प्रकाशित भएको थियो ।

डोरा डायमन्ट काफ्कालाई उच्च सम्मान र साँचो प्रेम गर्थिन् । कहाँसम्म भने काफ्कालाई चिहानमा गाड्न लाग्दा उनी आफू पनि काफ्कासँगै गाडिने जमर्को नै गरेकी थिइन् तर सँगै गएका अन्य मलामीहरूले उनलाई त्यसो गर्न दिएका थिएनन् । काफ्का–मृत्युको छ वर्षपछि उनले विवाह गरिन् र पछि नाजी जर्मनीको उत्पात मच्चिन थालेकै बेला उनी एकमात्र छोरी लिएर पहिले सोभियत संघ पुगिन् तर त्यहाँ कार्यरत उनका पतिलाई जोसेफ स्टालिनको सरकारले साइबेरियाको श्रम शिविर पठाएपछि त्यहाँबाट पनि उम्केर इङ्ग्ल्याण्ड पुगेर प्राण बचाएकी थिइन् ।

बाँचुञ्जेल काफ्काले आफ्ना रचनाहरूलाई कुनै महत्व दिएनन् । लेखेर आउने नाम र दामलाई पनि खासै महत्व दिएनन् । बरु मर्ने बेलासम्म पनि आफूलाई एक असफल र कमसल लेखक मात्र ठानी रहे ।

डोरा डायमन्टको कटु आलोचना पनि हुने गर्छ, उनले काफ्काका कतिपय रचना नष्ट गरेकी थिइन् भनेर । कति रचना त काफ्का जीवित छँदै उनकै आग्रहमा उनले जलाइदिएकी थिइन् भने काफ्काले उनलाई लेखेका छत्तीस ओटा चिठ्ठीसहित अन्य कतिपय रचना चाहिँ आफैसँग राखेकी थिइन् । म्याक्स ब्रडले उनीसँग भएका सबै काफ्काली रचना आफूलाई दिन अनुरोध गरेका थिए । तर उनले मानिनन् । अझ उनीसित काफ्काले लेखेका कतिपय टिपोट–पुस्तिका पनि थिए । तर दुर्भाग्यवश, एक पटक उनको घरमा चोरी भयो र अर्को पटक हिटलरको हत्यारा दस्ता गेस्टापोले समग्र घरमा खानतलाशी गरेको थियो, यसरी ती दुई घटनाले अन्य सामानसहित काफ्काका रचनाहरू पनि हराए ।

काफ्का रहेनन् । दिगो प्रेम, विवाह र दामपत्य जीवनलाई आफ्नो लेखनका लागि बाधा ठान्ने उनै काफ्काले प्रेमबारे भने गज्जब अभिव्यक्ति दिएका छन्, छाती हल्लाउने र मुटु रसाउने प्रेमाभिव्यक्ति आफ्ना पत्र अनि डायरीमा लेखेका छन्, “हामीले यदि आफ्ना हातहरूको प्रयोग गर्न सक्दैनौं भने पनि केही छैन, बरु आऊ आआफ्ना गुनासाहरू मार्फत नै भए पनि एक–अर्कालाई आलिङ्गन गरौं ।… किनभने कागजमा लेखिएको चुम्बन कहिल्यै त्यो लेख्ने मानिसले चाहेको स्थानसम्म पुग्न सक्दैन । प्रेत्मात्माहरूले त्यस्ता सबै चुम्बन बीच बाटोमै खाइसकेका हुन्छन् ।”

जब काफ्काले आफूलाई घिनलाग्दो कीरा बनाए !

“अनौठा–अनौठा सपना देखेर एकाबिहानै ब्युँझिँदा ग्रेगर साम्साले आफूलाई ओछ्यानमा एउटा ठूलो डरलाग्दो कीरामा फेरिएको पायो ।” यो पहिलो पंक्ति हो फ्रान्ज काफ्काले लेखेको लघु–उपन्यास “मेटामोर्फसिस” को । कस्तो विस्मात् लाग्दो पंक्ति ! कस्तो विचित्र भाव उमार्ने पंक्ति ! पहिलो पंक्ति पढ्ने बित्तिकै अब अगाडि कथामा के भनेको होला भनेर निरन्तर उत्सुकता पनि र कौतूहल पनि ह्वात्तै बढ्दै जाने !

“मेटामोर्फसिस”, जसको नेपाली अर्थ हुन्छ कायाकल्प वा कायान्तरण, अझ भन्दा एउटा अवस्था वा स्वरूपबाट फेरिएर ठ्याक्कै अर्को अवस्था वा स्वरूप पाउनु । काफ्काले किताबको पहिलो पंक्तिमै आफ्नो मूल पात्रमा यो भीषण कायाकल्प भएको देखाएका छन् ।

एउटा फौबन्जार विक्रेताको काम गर्ने मूल पात्र ग्रेगर साम्सा ठूलो डरलाग्दो कीरामा फेरिएपछि आफ्नो कामलाई निरन्तरता दिन सक्दैन र घरको आफ्नो कोठामै खाट वा टेबलमुनि अथवा छत वा भित्तामा लुकेर बस्छ । परिवारका सबै जनाबाट परित्यक्त हुन्छ । ऊप्रति सबैको रुखो र घृणाजन्य व्यवहार हुन्छ । कसैलाई पनि ऊ हुनु नहुनुको मतलब हुँदैन । एक्लै बाँच्नुको कठोर पीडा उसले ब्यहोर्छ । ऊ निराश बाँचिरहेको हुन्छ । अनि एक दिन पिताले हानेको स्याउले लागेको चोटले गर्दा उसको मृत्यु हुन्छ ।

यत्ति हो कथाको सार । तर यसै मार्फत काफ्काले एक्लै बाँच्नुको पीडा, निराशा, कुण्ठा, जीवनको विसङ्गति, मानवीय विद्रूपता, अस्तित्ववाद, भौतिक एवं सामाजिक अलगावमा रहनुको पीडा, कमजोर हुनुको विडम्बना, स्नेहको तिर्सना र त्यो नपाउँदाको छटपटी, पारिवारिक परिवेश, उपेक्षा र व्यक्तिवादको उत्सव आदि प्रवृत्तिलाई सरल एवं प्रतीकात्मक भाषामा अभिव्यक्ति दिएका छन् ।

काफ्काले यो किताब, अर्थात् “मेटामोर्फसिस”, आफू केवल बत्तीस वर्षको हुँदा लेखेका थिए । केवल कल्पना मात्र नभएर यस किताबमा भएको कथा काफ्का आफैँले भोगेको, देखेको र अनुभव गरेको जीवनकै कहानी हो । खासमा उनका पिता उनीप्रति अति कठोर, कर्कश, असहिष्णु र मिचाहा प्रवृत्तिका थिए ।

“मेटामोर्फसिस” पहिलो पटक छापिए यता चालू सन् २०२५ मा आइपुग्दा एक सय दश वर्ष भइसकेको छ । पहिलो पटक छापिँदा यो किताब जम्मा आठ सय प्रति प्रकाशित भएको थियो, र त्यसमा पनि केवल चार सय प्रति मात्र बिकेको थियो । तर पहिला काफ्काको मृत्युपछि, र खास गरी दोश्रो विश्वयुद्धपछि, लेखक र किताब दुवैप्रतिको चासो संसारभर चुलिँदै जान थाल्यो । त्यही क्रममा जर्मन भाषामा मूल पाठ लेखिएको यो किताब अङ्ग्रेजी, फ्रेन्च, स्पेनिश, रसियन, चिनियाँ, जापानी, डेनिस आदि हुँदै संसारका धेरै भाषामा अनुवाद भयो । लेखक र किताब दुवै अधिकतम पाठकलाई प्रिय अनि रुचिकर लाग्न थाले ।

किताब सर्सती पढ्नका लागि सजिलो छ । आकारमा सानो भएकाले चाँडै सकिन्छ पनि । तर किताबको भाषाभित्र रहेका प्रतीक, बिम्ब, अलङ्कार, स्वेर–कल्पना, अस्तित्ववाद, विसङ्गतिवाद, मानव स्वभाव, अलगाववाद, पीडा र सास्ती, व्यङ्ग्य आदि अनेक पक्ष बुझ्न भने राम्रै ध्यान दिनु पर्छ, एकाग्रचित्त ध्यान लगाउनु पर्ने हुन्छ ।

यसले गर्दा, ठ्याक्क संख्या थाहा नभए पनि “मेटामोर्फसिस” किताबको बिक्री लाखौंमा भएको र वर्षेनी हजारौंको संख्यामा बिक्री हुने गरेको लख काट्न सकिन्छ । संसारभरमा कुन देशमा कति संस्करण छापिइसक्यो भने तथ्याङ्क नै उपलब्ध छैन । तर एउटा तथ्य भने यहाँ साझा गर्न सकिन्छ– मैले यी पंक्तिहरू लेखिरहेको र तपाईं पाठकले पढिरहेको बेला संसारभर कुनै न कुनै देशमा कोही शिक्षक, विद्यार्थी वा साहित्यानुरागीले “मेटामोर्फसिस” अवश्यमेव पढिरहेको होला ।

“मेटामोर्फसिस” बाहेक त्यसो त काफ्काले लेखेका सबै सामग्री पढ्नका निम्ति सर्वथा उपयुक्त छन् तापनि उनका अन्य चार ओटा किताब विशेष मानिन्छन्– “द कम्प्लीट स्टोरीज अफ काफ्का” । यो कथा–सङ्ग्रह सन् १९७१ मा छापिएको हो । यसमा काफ्काले लेखेका तीन उपन्यास, नीति कथा, सूत्र–वाक्यहरू र अन्य केही साना गद्य रचनाहरू बाहेक सबै कथा समेटिएका छन्, जसमा “द हङ्गर आर्टिस्ट”, “इन द पेनल कोलोनी”, “अ कन्ट्री डाक्टर” आदि प्रमुख कथा छन् ।

यस्तै, काफ्काको अर्को किताब हो, “अमेरिका” । शुरूमा यस अधूरो उपन्यासको शीर्षक“द म्यान हू डिसएपीयर्ड, अमेरिका” भनेर राखिएको थियो । यसमा एक जना सोह्र वर्षे किशोर कार्ल रोसम्यान घरेलू सहयोगी युवतीलाई गर्भवती गराएपछि अमेरिका निर्वासित हुन्छ । किताबमा काफ्कामा रहेको अमेरिकाप्रतिका धारणा र सोचाइहरू पढ्न पाइन्छ । खासमा यो किताब काफ्काले अतिशय पढ्ने यात्रा–वृत्तान्त र संस्मरण पुस्तकहरूको प्रभाव अनि उनको आफ्नै कल्पना–शक्तिले गर्दा लेखिएको थियो ।

यस क्रममा काफ्काको अर्को किताब “द क्यासल” हो, जुन पहिलो पटक सन् १९२६ मा छापिएको थियो । यो उनको अन्तिम उपन्यास पनि हो । यसमा “के.” नाम भएको पात्र भूमि–सर्वेक्षक हुन्छ । एउटा गाउँमा पुगेपछि त्यहाँ ग्राफ वेस्टवेस्ट नामक व्यक्ति घरधनी रहेको गढी जस्तो देखिने एउटा ठूलो भवनमा पस्न खोज्दा उसले अनुमति पाउँदैन । भित्र प्रवेशको अनुमति खोज्ने प्रयासमा धाउँदा उसले कर्मचारीतन्त्रबाट अनेक झण्झट र अन्त्यहीन जस्तो लाग्ने सास्ती ब्यहोर्नु पर्छ ।

खास काफ्काली शैलीमा लेखिएको यस अधूरो उपन्यासमा उदेकलाग्दा संस्था र कर्मचारीतन्त्रबाट पाइने दारुण सास्तीले पार्ने अमानवीय असर अनि विसङ्गतिका विरुद्धको सङ्घर्ष पढ्न पाइन्छ ।

काफ्काको दोस्रो बहुचर्चित एवं महत्वपूर्ण किताब हो, पहिलो पटक सन् १९२५ मा छापिएको “द ट्रायल” । यस उपन्यासमा जोसेफ के. नाम भएको एक जना बैंक अधिकृत आफूले नगरेको र थाहा पनि नभएको अपराधको आरोपमा एक दिन अचानक पक्राउ पर्छ । उसको अपराध के हो भन्ने बारे न उसलाई न पाठकलाई नै केही थाहा हुन्छ ।
अनि त काफ्काले यस उपन्यासमा बडो आकर्षक एवं प्रभावशाली ढङ्गले ऐन–कानूनको काफ्काएस्क चरित्र अर्थात् द्विअर्थी, रहस्यमय र अन्ततः बुझ्नै नसकिने प्रकृति भएको कानूनको चित्रण र त्यसविरुद्ध लड्नु पर्दा निरन्तर भय, त्रास र आतंकको वातावरणमा जिउन विवश जोसेफको वर्णन गरेका छन् ।

काफ्काले यस किताबको कथानकमा कमचारीतन्त्रको घनचक्कर प्रवृत्तिलाई महत्वका साथ उठाएका छन्, पढ्दै जाँदा पाठक आफैँ पनि विस्मित् हुन पुग्छन् । योसँगै काफ्काले यस उपन्यासमा जटिल कर्मचारीतन्त्रका जोखिमहरू र त्यसविरुद्ध गर्नुपर्ने भीषण सङ्घर्षबारे पनि ठाउँठाउँमा सूक्ष्म विचारमूलक टिप्पणी गरेका छन् ।

काफ्का र पुतली हराएकी बालिका !

काफ्का त्यो बेला करीब चालीस वर्ष पुगेका थिए । आफू बिरामी भए तापनि उनलाई त्यत्तिकै पनि यसो हिँड्न, डुल्न र टहलिन मन पथ्र्यो । उनले कहिल्यै विवाह गरेका थिएनन्, र, निःसन्तान थिए । तर बालबालिकालाई भने अत्यधिक माया–स्नेह गर्दथे । एक दिन उनी जर्मन महाशहर बर्लिनको कुनै पार्कमा डुल्दै थिए । पार्कमा उनको भेट एउटी सानी बालिकासित भयो । तर त्यो बालिका त रोइरहेकी थिई ।

काफ्काले स्नेहपूर्वक बालिकाको टाउको मुसार्दै सोधे “के भयो नानी” भनेर । खासमा त्यस बालिकाको पुतली–खेलौना हराएको रहेछ, र त्यही कारणले गर्दा ऊ रोइरहेकी थिइछ । काफ्का दोधारमा परे, उनी बालिकालाई सहयोग गर्न चाहन्थे तर कसरी भन्ने उनी आफैँलाई थाहा थिएन ।

उनीहरू दुवै जना मिलेर धेरै बेरसम्म त्यो हराएको पुतली खोजे । तर त्यो भेटिएन । अनि भोलि फेरि त्यहीँ भेट हुने र फेरि पनि त्यो खेलौना खोज्ने भन्ने वाचा गर्दै उनीहरू छुट्टिए । भोलि भयो । उनीहरू निर्दिष्ट स्थानमा फेरि भेट भए । खेलौना त भेटिएन तर काफ्काले त्यही हराएकी पुतलीले पठाएको भनेर एउटा चिठ्ठी बालिकालाई दिए ।
चिठ्ठीमा लेखिएको थियो, “नानू, कृपया तिमी नरोऊ, ल । म संसार हेर्छु भनेर लामो यात्रामा निस्केकी छु । मैले तिमीलाई आफू पुगेका ठाउँहरूबारे र त्यहाँ आफूले देखेका–गरेका रोचक अनि रमाइला अनुभवहरूबारे लेखिरहने छु ।”

अनि त्यस दिन उप्रान्त त जहिले–जहिले काफ्का र बालिका त्यसरी पार्कमा भेट्थे, काफ्काले खल्तीबाट एउटा चिठ्ठी झिक्थे र रमाइलो पाराले पढेर सुनाउन थाल्दथे । चिठ्ठीमा लेखिएका कुराहरू सुनेर बालिका मज्जा मान्थी र खुबै हाँस्थी । काफ्का सन्तुष्ट हुन्थे ।

यसरी नै करीब एक वर्ष बित्यो । एउटा चिठ्ठी काफ्काले पढेर सुनाए, “म संसार डुलेर बर्लिन फर्किसकेकी छु ।” अनि त्यसको भोलिपल्ट काफ्काले नयाँ पुतली किनेर त्यही पार्कमा त्यस बालिकालाई दिए । नयाँ पुतली आफूले समाते पनि आँखीभौं उचाल्दै बालिकाले भनी, “तर यो त मेरी पुतली जस्तो छैन, देखिँदैन पनि ।” मुसुक्क हाँस्दै काफ्काले खल्तीबाट अर्को चिठ्ठी झिके, अनि पढी पनि दिए । लेखिएको थियो, “मैले गरेका यात्राहरूले मलाई र मेरो रूप–रङ्गलाई फेरिदिएका छन् ।”

चिठ्ठी सुनेर बालिका फेरि उस्तै गरी अत्यन्त खुशी भई र पुतलीलाई अँगालोभित्र बेरी । केही समय त्यहीँ बसेर कुराकानी गरेपछि उनीहरू आआफ्नो घर फर्किए । तर त्यस दिनपछि काफ्का कहिल्यै फेरि त्यस पार्कमा आएनन् । आउन सकेनन् । किनभने अब उनी जीवित थिएनन्, संसारै छाडिसकेका थिए ।

केही वर्षपछि त्यो बालिका ठूली भई । अनि एक दिन उसले फेरि त्यो पुतली राम्ररी हेरी, त्यसभित्र पनि एउटा चिठ्ठी रहेछ, जुन उसले त्यस पहिले कहिल्यै देखेकै रहिनछ । उसले फटाफट त्यो चिठ्ठी झिकेर पढ्न थाली । काफ्काको हस्ताक्षर समेत भएको त्यस चिठ्ठीमा लेखिएको थियो, “तपाईंले जुनसुकै कुरालाई माया गरेको भए पनि त्यो कुनै बेला कसै गरी हराई जान सक्छ । तर अन्ततः त्यो माया अर्को कुनै तरीकाबाट तपाईं समक्ष फिर्ता आउँछ ।”

काफ्काले अब युवती भइसकेकी त्यस बालिकालाई दिन खोजेको सन्देश यति मात्र त थियो, परिवर्तन हाम्रो सहयात्री हो, त्यस कारण यसलाई स्वीकार गर्नु पर्दछ र परिवर्तनलाई आत्मसात् गर्दै जीवनमा अगाडि बढ्नु पर्दछ । यही एक सत्य हो जसले हाम्रो जीवनलाई परिभाषित गर्दछ ।

जेहोस्, यो कथासित जोडिएको प्रसङ्ग पनि उल्लेखनीय छ । त्यो के भने यो कथाको सत्यतामाथि प्रश्न उठ्ने गर्छ । किनभने यस कथाबारे स्वयं काफ्काले आफ्ना टिपोट वा डायरी आदि कतै केही उल्लेख गरेका छैनन् । साँचो कुरा कति मात्र हो भने यस कथाबारे डोरा डायमन्टले काफ्काबारे धुइँपत्ताल खोजतलाश गर्दै रहेका साथी म्याक्स ब्रडलाई भनेकी थिइन् ।

म होइन, मेरो रूपमा सपना आएको बुझ्नू !

शारीरिक तवरले काफ्का दुब्ला–पातला थिए तर उनलाई भेटी जान्नेहरूका अनुसार, उनमा आकर्षक केटौले सुन्दरता थियो, उनी बुद्धिमान थिए, शान्त प्रकृतिका थिए र उनमा हाँसो–ठट्टा गर्ने प्रवृत्ति कम थियो । उनलाई अलि धेरै चिनेजानेका म्याक्स ब्रडका अनुसार, काफ्का कुनै पनि परिस्थितिको यथार्थपरक एवं सटीक चित्रण गर्न माहिर थिए, भने काफ्का आफ्ना साथीहरूसित चाहिँ ख्यालठट्टा पनि गर्थे र गाह्रो–साह्रोमा परेका साथीहरूलाई अत्यन्त व्यवहारिक सल्लाह–सुझाव दिएर सहयोग गर्थे ।

ब्रडले त केसम्म लेखेका छन् भने उनले भेटेका सबैभन्दा रमाइला मानिसहरूमध्ये काफ्का एक जना थिए । काफ्का माछा–मासु खाँदैन थिए, जाँड–रक्सी–बियर–वाइन केही पिउँदैन थिए, र, समग्रमा उनी शाकाहारी थिए । उनको स्वभाव अन्तर्मुखी थियो ।

काफ्का आफ्नो शारीरिक तन्दुरुस्तीप्रति पनि सजग थिए र त्यसका लागि योगाभ्यास गर्थे, डुङ्गा खियाउने, अर्थात् रोइङ, गर्थे अनि बेलाबखत फिजिकल जिम पनि जाने गर्थे । तर लेखन भने काफ्काका लागि गम्भीर प्रार्थना जस्तै थियो, र लेखनकार्यका लागि कस्तै किसिमको हल्लाखल्ला उनका लागि ठूलो बाधक थियो । लेख्नका लागि उनलाई ‘मूर्दा शान्ति’ आवश्यक पथ्र्यो ।

एक पटक काफ्का उनै आफ्ना परम मित्र म्याक्स ब्रडलाई भेट्न उनको घर गएका थिए । मूलढोकाबाट भित्र छिरेपछि नजाने के सोच्दै काफ्का सीधै भित्री कक्षतिर पुगे । त्यहाँ म्याक्सका पिता सुतिरहेका थिए । अब काफ्कालाई के लाग्यो कुन्नि, उनी एकछिन ओछ्याननिर उभिए, अनि त्यसपछि केही नबोली र केही नगरी फनक्क फर्किएर बाहिरिन थाले । तर अकस्मात् ढोकानिर टक्क रोकिए, केही सोचे अनि म्याक्सका पितातिर हेर्दै साउतीको स्वरमा भने, “के थाहा पाइराख्नुस् भने यहाँ म आएको थिइनँ, मेरो स्वरूपमा सपना आएको थियो ।”

अनि उनी त्यहाँबाट फुत्त बाहिरिए । तर उनको त्यो एउटा वाक्य मात्रले पनि काफ्कामा रहेको गम्भीर हास्यचेतको भावना भने अवश्य प्रदर्शित गर्दछ ।

काफ्काको इच्छा–पत्र र दौंतरी म्याक्स ब्रड

फ्रान्ज काफ्काले कुनै दोश्रो लेखकबारे कहिल्यै केही भनेनन्, कुनै कृति विशेषको खासै समीक्षा पनि गरेनन् । तर उनी आफैँ आफ्नो चाहिँ कठोर आलोचना गर्थे, आफैँ लेख्थे अनि आफैँ पहिलो पाठक र पहिलो आलोचक पनि बन्दथे । यसरी आफैँले आफ्नो आलोचना गर्न उनको सर्वाधिक भरपर्दो माध्यम थियो, डायरी लेखन ।

काफ्का नियमित डायरी लेख्थे । आफूलाई लागेका कुरा लेख्थे, मनमा उठेका तरंग लेख्थे, मस्तिष्कमा जागेका विचार लेख्थे, परिवारका कोही सदस्यबारे लेख्थे, जागीर र कर्मचारीतन्त्र अनि समाजबारे लेख्थे, र बेला–बखत आफ्ना कोही साथीहरूबारे पनि लेख्थे । कहिले डायरीमा उनी लेख्थे, “आजको दिन व्यर्थ गयो । एक शब्द पनि नलेखी अर्को दिन गयो ।”

उनका “डायरीज” र “लेटर्स टू फ्यामिली, फ्रेन्ड्स एन्ड एडीटर्स” शीर्षकमा पनि पुस्तकहरू प्रकाशित छन्, जसमा उनले लेखेका छन्, “केही नलेखेको तीन दिन भयो । … म लेख्न चाहन्छु, टाउको फुट्ला जस्तो नहुँदासम्मै लगातार लेखिरहन चाहन्छु । … जे सुकै भए पनि म लेख्दै जानेछु, यो भनेको मेरो आफ्नै आत्मरक्षाका लागि समेत आवश्यक छ । … आज अपरान्ह लेखिरहेको बेला यस्तो महसुस भयो मानौं म भारहीन भएर कुनै शरीर र खुट्टाहरू बेगर नै शहरका गल्लीहरूमा दुई घण्टाभन्दा बढी समयसम्म हिँडिरहेको थिएँ।”

काफ्काले निरन्तर डायरी र चिठ्ठीहरू लेख्दै आफू, आफ्नो भाषा र लेखनशैली सुधार्दै अनि माझ्दै गए । तर उनको अनौठो स्वभाव कस्तो थियो भने लेखिसकेपछि आफैँलाई पढ्दा नराम्रो लाग्यो भने यताउता केही नसोची त्यो लेखन जलाएर वा च्यातेर नष्ट गरी दिन्थे । यस क्रममा उनको विशिष्ट एवं मौलिक लेखनशैलीको विकास पनि भयो, जसलाई उनका पाठकहरू मुक्त कण्ठले प्रशंसा अनि सराहना गर्दछन् ।

खासमा काफ्का एक जना दुर्लभ मानिस थिए । किनभने उनले नलेख्नका लागि पनि उत्तिकै सङ्घर्ष गरे, उनी भन्थे, “म जे लेख्न चाहन्छु त्यो लेख्नै सकिँदैन ।” त्यसकारण उनी नलेख्न खोज्दथे तर फेरि पनि लेख्ने र लेखिरहने लोभ चाहिँ थाम्न सक्दैन थिए ।

काफ्काले आफ्नो डायरीमा लेखे, “म यहाँ लेखिरहेको छु किनभने नलेखी बस्न बहुतै गाह्रो छ, र के पनि थाहा छ भने लेख्न पनि उत्तिकै कठिन छ । यी दुवै स्थिति देखेर यसबाट उम्किने उपाय नदेखेकोले म यहाँ डायरीका पानाहरूमा लेखिरहेको छु ।”

मृत्यु हुनुभन्दा केही पहिले साथीहरूको नाममा काफ्काले मरणोपरान्तका लागि इच्छा–पत्र लेखेका थिए, र त्यो साथी म्याक्स ब्रडलाई दिएका थिए ।
काफ्काले आफ्नो इच्छा–पत्रमा लेखेका थिए, “कपया मैले लेखेका सबै कुरा –मेरा डायरी, मेरा कथा, मेरा नीति कथा, मेरा चित्र–नक्शाङ्कन, मेरा टिपोट– हरू जलाइदिनू । र, ती सबै लेखोटहरू पढ्दै नपढी जलाइदिनू । किनभने यही नै मैले त्यस तनाव र अवसादबाट छुटकारा पाउन सक्ने एकमात्र उपाय हो, जस अन्तर्गत म लेखेर त्यो सब भन्ने प्रयास गरिरहेको थिएँ जुन कुरा भन्नै सकिँदैन ।

मैले आफैँलाई थाम्न नसक्दा यसरी लेखिएको हो । र, अहिले यी सबै जलाइदिनु नै चिन्ता, तनाव र अवसादबाट मेरो मुक्तिको मार्ग हो । आफूलाई नियञ्त्रण गर्न नसक्दा नै मैले यो सब लेखेको हूँ । मलाई राम्रोसँग थाहा थियो, यो सब लेख्न सकिँदैन, तापनि मैले लेख्नै पर्ने भएर यो सब लेखें, त्यस कारण अब, यो सब केही पनि नपढी, नष्ट गरी दिनू, सबै लेख–रचना सम्पूर्ण रूपले नष्ट हुने गरी जलाइदिनू । केही पनि बाँकी नरहोस् ।”

काफ्काको त्यो इच्छा–पत्र पाए पनि साथी ब्रडले आफ्ना अद्भुत प्रतिभाशाली मित्रको मरणोपरान्तको इच्छा पूरा गरेनन् । उनलाई साथीको अन्तिम इच्छाभन्दा साहित्यको माया लाग्यो । त्यसमा पनि उनी त काफ्काको लेखनका दीवाना जो थिए ।

म्याक्स ब्रड र काफ्का निकटस्थ दमाली थिए । विश्वविद्यालयका दिनहरूबाट शुरू भएको उनीहरूबीचको यो मित्रता काफ्काको मृत्यु हुँदासम्म –अर्थात्, करीब बाइस वर्षसम्म– यथावत् थियो । ब्रड आफैँ पनि पत्रकार, उपन्यासकार र निबन्धकार थिए ।

दोश्रो विश्युद्धको बेला नाजी जर्मनीले चेकोस्लोभाकियामा आक्रमण गरेपछि ब्रड भागेर प्यालेस्लाइन पुगेका थिए । पछि उनले तेल अभीभ (इजरायल) मा साहित्य र नाटक क्षेत्रमा सल्लाहकार भएर काम गरेका थिए । त्यहीँ डिसेम्बर १९६८ मा उनको मृत्यु भएको थियो । ब्रडलाई उनका निबन्ध र उपन्यासहरूभन्दा काफ्काको साथी भनेर बढी पहिचान र बेसी सम्मान प्राप्त छ ।

म्याक्स ब्रड नै त्यो प्रथम व्यक्ति थिए जसले यथाशक्य खोज–अनुसन्धान गरी फ्रान्ज काफ्काको पुस्तकाकार जीवनी जर्मन भाषामा लेखेर सर्वप्रथम सन् १९३५ मा छपाएका थिए । ब्रडको यो पुस्तक “फ्रान्ज काफ्का. अ बायोग्राफी” शीर्षकमा अङ्ग्रेजी अनुवाद सन् १९४७ मा न्यूयोर्कमा छापिएको थियो ।

यही समय, अर्थात्, दोश्रो विश्वयुद्ध समाप्तिको आसपास, देखि काफ्काबारे पढ्ने, उनका विविध पक्षहरूबारे समीक्षात्मक एवं समालोचनात्मक ढङ्गले लेख्ने, उनको लेखनमा रहेको दार्शनिक, सामाजिक एवं मानवीय पक्षहरू औंल्याउने, उनको उजागर नभइसकेका पाटाहरू खोतल्दै काफ्काली लेखनशैलीको विशिष्टता पर्गेल्ने आदि समेत तमाम सर्वपक्षीय प्रशंसायुक्त पठनपाठनको अन्त्यहीन सिलसिला शुरू भएको थियो ।

इच्छा–पत्रमा भनिए अनुसार काम नगरे पनि, काफ्काको छिटो मृत्यु भइसकेपछि, म्याक्स ब्रडले साँचो दौंतरी भाव निभाए, र, निःसंकोच भन्न सकिन्छ, सामान्यतया उनले गर्दा नै संसारले काफ्कालाई त्यसरी चिन्यो, जसरी अचेल चिन्ने गरेको छ । उनले काफ्का दिवंगत भएपछि उनका अप्रकाशित रचनाहरूको सक्दो खाजी गरे अनि करीब छ वर्षपछि आवश्यक सम्पादनसहित पुस्तकहरूको रूपमा प्रकाशित गरे । यसो गर्दा उनले यथाशक्य काफ्काकै भाषा र लेखनशैलीलाई यथावत् राखेका थिए ।

यसरी ब्रडले गर्दा काफ्काको शेषपछि उनका यत्रतत्र छरपस्ट रहेका रचनाहरू प्रकाशित रूपमा संसार सामु आउन पाएका हुन् । यसर्थ पनि उनीहरू दुई जना –फ्रान्ज काफ्का र म्याक्स ब्रड– बीचको मित्रता विश्व साहित्यिक इतिहासको एक अप्रतिम धरोहर हो ।

सर्वाधिक प्रयोग भइरहने पन्ध्र काफ्काली भनाइ

काफ्काका लागि लेखन सबै थोक थियो । उनी यसलाई मीठो र गज्जबको पुरस्कार सरह तर एक गम्भीर प्रार्थनाको स्वरूप जस्तो, अनि मृत्युभन्दा पनि गहिरो निद्रा जस्तो ठान्दथे । यस कारण उनी “नलेख्ने लेखक” लाई समाज बिगार्ने धमिरा भन्दथे । काफ्कालाई लेख्न कठिन र सकिँदैन पनि जस्तो लाग्थ्यो, तर उनी नलेखी बस्न पनि सक्दैन थिए।

यसरी लेख्ने दौरानमा उनले अनेक कल्पना गरे, धेरै देखे, थुर्पै सहे, अनि मनग्गे पढे । उनी जे हात लाग्यो, त्यो सबै पढ्दैन थिए, रोजेर अनि छनोट गरेर पढ्थे । अनि त उनले लेखेका कतिपय पंक्तिहरू साहित्य र जीवनका लागि बहुमूल्य भनाइ (कोट्स) का रूपमा स्थापित छन् ।

१. “हाम्रो आत्मा एक विशाल महल जस्तै हो, जसमा नजाने कति अनजान कोठाहरू छन् । ती प्रत्येक कोठाका ढोकाहरूमा ताल्चा लागेको छ । किताबहरू, खासमा, ती सबै ताल्चा खोल्ने चापी हुन् ।”

२. “हामीभित्र एउटा समुद्र छ र त्यो बरफ झैं जमेर बसेको छ । किताबहरू त्यस्तो बञ्चरोजस्तो हुनु पर्छ जसले त्यो बरफ फोर्न सकोस् ।”

३. “जुन किताब हामी पढ्छौं, ती किताबले यदि हाम्रो टाउकोमा मुड्की बजारेर, घनले हिर्काएर हामीलाई ब्युँझाउन सक्दैनन् भने ती र त्यस्ता किताब पढेर के फाइदा ?”

४. “म एक त्यस्तो पिँजडा हूँ जो आफूभित्र बस्ने पंक्षीको खोजीमा छ ।”

५. “म स्वतन्त्र छु, त्यसकारण म हराउँछु ।”

६. “युवावस्था खुशहाल हुन्छ, प्रसन्न अवस्था हुन्छ, किनभने युवासँग सुन्दरता देख्ने क्षमता हुन्छ । त्यो जो सुकै मानिस जससित सुन्दरता देख्ने क्षमता यथावत् कायम छ, त्यस्तो मानिस कहिल्यै बुढो हुँदैन ।”

७. “ईश्वरले हामीलाई ओखर दिएको छ, तर उसले त्यो ओखर पनि फोरेर भने दिएको छैन ।”

८. “जीवनको अर्थ के हो भने यो थामिन्छ, जीवन रोकिन्छ ।”

९. “त्यस कुराबाट शुरूआत गर जुन सही छ, त्यसबाट होइन जुन सर्वस्वीकार्य छ ।”

१०. “हरेक क्रान्ति वाष्प बनेर उडेर जान्छ र त्यसले आफ्ना पछाडि केवल नयाँ नोकरशाहीतन्त्रको हिलो मात्र छोडेर जान्छ ।”

११. “यो केवल तिनीहरूको मूर्खता मात्र हो जसले गर्दा उनीहरू आफैँबारे यतिविधि ढुक्क हुन सक्छौं भन्ने ठान्दछन् ।”

१२.“सुत, उठ, सुत, उठ, हरे ! कस्तो दयनीय जीवन !”

१३. “ऊ मर्नदेखि असाध्यै डराउँछ, किनभने ऊ अहिलेसम्म बाँचेकै छैन ।”

१४. “संसारमा केवल दुई ओटा आधारभूत पाप छन्, र तिनैबाट अरू सबै पाप निःसृत भएका हुन्छन्, ती दुई पाप हुन्– अधैर्य र आलस्य ।”

१५. “एउटा मूर्ख भनेको एउटै मूर्ख हो । दुइटा मूर्ख भनेको दुई जना मूर्ख हुन् । दश हजार मूर्ख भनेको एउटा राजनीतिक दल हो ।”

अजम्बरी प्रभाव, अजरामर अभिप्रेरणा

मृत्यु भएको जति धेरै वर्ष भए पनि काफ्का आफूभन्दा पछिका पुस्ताका लागि निरन्तर प्रेरणा हुँदै आएका छन् । उनको सटीक एवं चुस्त लेखनशैली, अनि कथा वर्णन गर्ने अनौठो संरचनागत कला, सरल शब्दमा अधिकतम गहिरा कुरा भन्न सक्ने ल्याकत, र अलगावमा परेका मानिस एवं विसङ्गतिपूर्ण समाजको अस्तित्ववादी व्याख्याले पाठकलाई सहजै आकर्षित गर्ने सामथ्र्य राख्दछ ।

काफ्काले लेखेका कथा र उपन्यासहरू कर्मचारीतन्त्र र सरकारी संयन्त्रविरुद्ध वहन गर्नुपर्ने सास्तीपूर्ण एवं समयहीन विषयहरूबारे सशक्त ढङ्गले बोल्दछन् । यसले गर्दा उनी लेखक, कलाकार, चित्रकार, दार्शनिक, संस्कृतिकर्मी, सिनेकर्मी, साहित्यिक इतिहासकार, धर्मगुरु र शिक्षार्थी सबैका लागि रुचिकर र प्रेरक रहँदै आएका छन् ।

काफ्कालाई लाग्थ्यो– फ्रान्सेली लेखक गुस्ताभ फ्लोबेयर, रसियन लेखक फ्योदोर दोस्तोएभस्की, जर्मन लेखक हेनरीक भान क्लीष्ट, र अस्ट्रियन लेखक फ्रान्ज ग्रीलपार्जर उनका साहित्यिक “रक्त–नातेदार” हुन् । अत्यधिक अध्ययन गरिरहने र “किताबहरू त लागूऔषध हुन्” भन्ने गरेका काफ्काले अल्बर्ट क्यामू, जँ–पल सात्र्र, र युजीन लोनेस्को आदि समेत अस्तित्ववादी दार्शनिक अनि लेखकहरूलाई सर्वाधिक प्रभाव पारेका थिए ।

बेलायती–अमेरिकी कवि डब्लू.एच.अडेनले काफ्कालाई “बीसौं शताब्दीका दान्ते” भनेका छन् (दान्ते इटालियन महाकवि हुन्) । यस्तै, रसियन–अमेरिकन उपन्यासकार भ्लादीमिर नोबोकोभले काफ्कालाई बीसौं शताब्दीका महानतम लेखकमध्येका एक भनेका छन् । अझ, नोबेल साहित्य पुरस्कार विजेता कोलम्बियन उपन्यासकार ग्याब्रियल गार्सिया मार्खेजको भनाइ छ, “काफ्काले लेखेको ‘मेटामोर्फसिस’ पढेर यति फरक किसिमले पनि लेख्न सकिँदो रहेछ भन्ने थाहा पाएँ ।”

यस्तै, काफ्काबाट अत्यधिक प्रभावित भएका चर्चित लेखकहरूमा चेक–फ्रेन्च उपन्यासकार मिलन कुन्देरा, अल्बानियन कवि इस्माइल कादरी, अमेरिकी उपन्यासकार जे.डी.स्यालीङ्गर, अर्जेन्टाइन कथाकार होर्गे लुई बोर्गेस, पोर्चुगीज लेखक होजे सारामागो, नोबेल पुरस्कार विजेता दक्षिण अफ्रिकी–अस्टे«लियन उपन्यासकार जे.एम.कुत्सी, सर्वाधिक पढिने जापानी उपन्यासकार हारूकी मुराकामी आदि समेत अनगन्ती छन् ।

पछिल्लो समयमा सन् २०२५ का लागि साहित्य तर्फको नोबेल पुरस्कार पाएका हङ्गेरीका एकहत्तर वर्षीय उपन्यासकार लास्लो क्रास्नाहोर्काई फ्रान्ज काफ्काबाट अत्यधिक प्रभावित र अभिप्रेरित छन् । अझ काफ्काली उपन्यास “द क्यासल” बाट उनी सर्वाधिक प्रभावित छन् ।

सन् २०१३ मा ‘व्हाइट रिभ्यू’ पत्रिकालाई दिएको एक अन्तर्वार्तामा, नोबेल साहित्य पुरस्कार पाउने दोश्रो हङ्गेरियन लेखक बनेका (नोबेल साहित्य पुरस्कार पाउने पहिलो हङ्गेरियन लेखक थिए, इम्रे कारतेस, जसले यो पुरस्कार सन् २००२ मा पाएका थिए), व्रास्नाहोर्काईले भनेका थिए, “म जतिबेला काफ्कालाई पढिरहेको हुँदिनँ, म काफ्काबारे सोचिरहेको हुन्छु । अनि जतिबेला म काफ्काबारे सोचिरहेको हुँदिनँ, म उनीबारे सोच्नुपर्ने विचारबाट वञ्चित भइरहेको हुन्छु । र, यसरी केही समय उनीबारे सोच्न नपाइरहेको अवस्थामा म हतारिँदै उनको कुनै पुस्तक झिक्छु र फेरि काफ्कालाई पढ्न थाल्दछु ।”

वर्तमान समयका एक बहुचर्चित एवं बहुपठित छ्यहत्तर वर्षीय जापानी उपन्यासकार मुराकामीले एउटा उपन्यास नै लेखेका छन्, “काफ्का अन द शोर” शीर्षकमा । उपन्यासमा फ्रान्ज काफ्काबारे एक शब्दै छैन, तापनि शीर्षक भने उनै लेखक काफ्काको सम्मानमा राखेको मुराकामीले भनेका थिए ।

जापानी भाषामा सन् २००२ मा र तीन वर्षपछि २००५ मा अङ्ग्रेजी अनुवाद छापिएर दुनियाँभर चर्चा कमाएको यस उपन्यासमा यौन–कुण्ठाले ग्रस्त अनि घरबाट भागेको एक पन्ध्र वर्षीय किशोर ‘काफ्का तामुरा’ र बिरालासँग संवाद गर्न सक्ने विचित्र क्षमता भएको एक जना शारीरिक रूपले अशक्त वृद्ध ‘सातोरू नाकाता’ गरी दुई मूल पात्रसँगै अन्य पात्रहरूको कथा छ । स्वेरकल्पना, सपना, भाग्य, अवचेतनता र मायावी यथार्थयुक्त लेखनले यो उपन्यासलाई विशिष्ट बनाउँछ ।

एक सय वर्षभन्दा पहिले लेखिएका भए पनि काफ्काका किताबहरू आधुनिक समयका चिन्ता, पीर र व्यथाहरूबारे सशक्त तरीकाले बोल्छन् । उनका सिर्जनामा कर्मचारीतन्त्र (ब्यूरोक्रेसी) ले दिने÷पुर्‍याउने अमानवीय सास्ती, व्यक्तिको निजात्मक महिमाको ह्रास, र सामाजिक अलगावले उत्पन्न गरेको छटपटाहटपूर्ण असर आदि पक्षहरू खुलेर आएका छन् । मानवीय विद्रूपताको स्वरूपले उनका रचनाहरूमा वीभत्स अभिव्यक्ति पाएका छन् ।

काफ्काले अलगावमा अलमलिनु परेको भए पनि आफूलाई शब्दहरूमा वा यस्तै अन्य कुनै सिर्जनात्मक कार्यमा अभिव्यक्त गर्नु सर्वथा श्रेष्ठ हुने अस्तित्ववादी विचार दिएका छन् । शायद यसैले गर्दा, यी र यस्तै मिल्दाजुल्दा समस्यासँग जुझिरहेको अहिलेको जेन–जी पुस्ताका लागि काफ्का एक आदर्श लेखक मानिएका छन् ।

चेक राजधानी प्रागमा भव्य ‘फ्रान्ज काफ्का सङ्ग्रहालय’ छ । यसको ठूलो आकर्षण यसमा राखिएको र समय–समयमा हुने काफ्काको संसार र उनको लेखन सम्बन्धी प्रदर्शनी हो । प्रागमै सन् १९९० देखि ‘फ्रान्ज काफ्का सोसाइटी’ स्थापित–सञ्चालित छ र काफ्काको सम्मानमा यसले सन् २००१ देखि अन्तर्राष्ट्रिय स्तरको दश हजार डलर नगद राशिसहितको ‘फ्रान्ज काफ्का पुरस्कार’ दिँदै आएको छ ।

यस्तै, अमेरिकी राज्य क्यालीफोर्नियास्थित सान डिएगो स्टेट यूनिभर्सिटीले सन् १९९८ देखि “काफ्का प्रोजेक्ट” चलाउँदै आइरहेको छ, जसले फ्रान्ज काफ्काले लेखेका विविध सामग्रीहरूको खोजतलाश, संरक्षण, संवर्द्धन र जगेर्ना गर्ने दिशामा काम गर्दछ । स्वयं काफ्काबारे र उनले लेखेका किताबमाथि सिनेमा बनेका छन्, अनि नाट्य रूपान्तरण गरिएर पनि सफल प्रदर्शन हुँदै आएका छन् ।

बाँचुञ्जेल काफ्काले आफ्ना रचनाहरूलाई कुनै महत्व दिएनन् । लेखेर आउने नाम र दामलाई पनि खासै महत्व दिएनन् । बरु मर्ने बेलासम्म पनि आफूलाई एक असफल र कमसल लेखक मात्र ठानी रहे । तर संसार उनीसँग सहमत भएन, र उनको यस्तो सोचाइलाई पनि सदर गर्न किमार्थ तयार भएन ।

त्यसैले त उनको शेषपछिका यतिका वर्षहरूसम्म आज पर्यन्त र भोलि अज्ञात समयसम्म पनि आधुनिक युगले जन्माएका अस्तित्ववादी प्रताडना अनि उपेक्षा एवं अलगावको जीवनमा अनिच्छापूर्वक ब्यहोर्नु पर्ने सास्तीहरूको दारुण प्रतिबिम्बन पढ्न र बुझ्न उनै काफ्काको लेखनमा डुबुल्की मार्नु पर्ने हुन्छ ।

लेखक
जयदेव गौतम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?