Comments Add Comment

मुगुमा आमाको देहान्त, काठमाडौंको प्रतीक्षालयमा किरिया

२५ जेठ, काठमाडौं । मुगुको छायानाथ रारा नगरपालिका-१२ का ५० वर्षीय जङ्ग बुढा विगत ६ वर्षदेखि काठमाडौंको वनस्थलीमा श्रीमती र दुई छोरासँगै बस्दै आएका छन् ।

उनी काठमाडौं रहरले आएका हैनन् । उनी आफ्नी ४७ वर्षीया श्रीमती जानदेवी बुढाको उपचारको क्रममा काठमाडौं आइपुगेका हुन् । उनकी श्रीमती जानदेवी मिर्गौलाका बिरामी हुन् । उनको हप्तामा तीन पटक डायलासिस गराउनुपर्छ । उनले नियमित रुपमा श्रीमतीको डायलासिस राष्ट्रिय मिर्गौला उपचार केन्द्र वनस्थलीमा गर्दै आइरहेका छन् । श्रीमतीको डायलासिस गराउन आवश्यक पर्ने पैसा उनले मजदुरी गरेर जुटाउँदै आइरहेका थिए । डायलासिसका लागि आवश्यक खर्च जुटाउन उनलाई जेठो छोराले पनि सघाउँदै आएका छन् ।

लकडाउनले घर खर्चसम्म धान्न धौधौ छ । तर पनि उनले ऋणधन गरेर श्रीमतीको उपचार गराउँदै आएका छन् । लकडाउनकै बीचमा जेठ १५ गते मुगुमा ७९ वर्षीया आमाको मृत्यु भएपछि उनको जीवनमा अर्को बज्रपात आइपर्‍यो । वनस्थलीमा कोठाभाडा लिएर जीवन गुजारा चलाउँदै आएका उनी आमाको मृत्युपछि भने १० दिनदेखि वनस्थलीस्थित ढुंगेधारामा रहेकाे प्रतीक्षालयमा बसिरहेका छन् । उनलाई कसैले घरबाट निकालेको भने होइन । उनी स्वविवेकले आफ्नो कारण अरूलाई समस्या नहोस् भनेर प्रतीक्षालयमा बसेका हुन् ।

आफ्नो घर नभएका कारण उनी प्रतीक्षालयमै किरियापुत्रीको रुपमा बसेका छन् । प्रतीक्षालय वरपर त्रिपालले घेरेर उनी आमाको किरिया बसेका छन् । सडक किनाराको प्रतीक्षालयमा सेतो धोती बेरेर उनी आमाको किरिया बसेका छन् ।

‘घर जाऔं भने लकडाउनका कारण जान सक्ने कुरा भएन । घर जानका लागि पैसा पनि थिएन । त्यसैले आमाको किरिया बस्ने घरको रुपमा प्रतीक्षालयलाई नै रोजेँ,’ बुढा भन्छन्, ‘राति डर लाग्ने भएकाले कान्छो छोरालाई प्रतीक्षालयमा नै राख्ने गरेको छु । प्रतीक्षालयलाई कार्टुनले छेकेर दुई खण्डमा विभाजन गरेको छु । दिउँसोको समयमा श्रीमती पनि त्यही आएर बस्ने गर्छिन् । रातिको समयमा श्रीमती र जेठो छोरा कोठामै जान्छन् । जेठो छोराले आमालाई औषधि खुवाउनेदेखि लिएर अन्य काम गर्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment