Comments Add Comment

भुक्तानी रोकिएपछि डायलासिस सेवा बन्द गर्ने अस्पतालको घोषणा

२६ जेठ, बुटवल । सरकारले दिने अनुदान रोकिएपछि बुटवलको गौतमवुद्ध सामुदायिक मुटु अस्पतालले मिर्गौला रोगीलाई दिँदै आएको डायलासिस सेवा बन्द गर्ने घोषणा गरेको छ ।

२०७३ पुसदेखि मिर्गौला रोगीलाई निशुल्क डायलासिस सेवा दिँदै आएको यस अस्पतालले असार १ गतेदेखि सेवा दिन नसक्ने बताएको छ ।

यस अस्पतालमा प्रदेश ५ का तीन सय ५० जना मिर्गौला रोगीले डायलासिस गराउँदै आएका छन् । सरकारले मिर्गौला रोगीलाई हप्तामा दुई पटकसम्म डायलासिस सेवा निशुल्क दिने घोषणा गरेपछि यस अस्पताललाई पनि डायलासिस सेवा दिने अस्पतालको नाममा सूचीकृत गरिएको थियो ।

मिर्गौलारोगीको एक पटक डायलासिस गरेवापत सरकारले अस्पताललाई २५ सय रुपैयाँ दिँदै आएको छ । तर पछिल्लो ११ महिनादेखि सरकारले आफूहरुलाई रकम नदिएको अस्पतालले जनाएको छ । अस्पतालले अहिलेसम्म सरकारबाट करिब ८ करोड रुपैयाँ पाउन बाँकी रहेको बताएको छ ।

‘विगत वर्षदेखि नै ढिलासुस्ती र अल्मल्याउने काम हुंदै आएको थियो, चार–पाँच महिनाको अन्तरमा रकम निकासा हुँदै आएको थियो’ अस्पतालका अध्यक्ष एजाज आलमले भने ‘तर चालु आर्थिक वर्षमा भने केन्द्र र प्रदेश सरकार बीच नवीकरणका विषयमा भएको अन्योल र अलमलका कारण एघार महिना बितिसक्दा पनि रकम निकासा हुन सकेको छैन ।’

ठूलो रकम भुक्तानी रोकिँदा अस्पतालको सेवा सञ्चालनमै समस्या भएको आलमले बताए ।

भुक्तानी रोकिएपछि बिरामीको डायलाइसिस गर्न आवश्यक डाइलाइजर, फ्लुड, हेपारिन, ट्युबलालगायतका सामान किन्न नसकेको र सप्लायर्सले पनि उधारोमा सामान दिन छाडेको अस्पतालका अध्यक्ष आलमले गुनासो गरे ।

‘११ महिनासम्म थेग्यौं, अब जेठ मसान्तसम्म सरकारबाट रकम भुक्तानी नभए असार १ गतेदेखि सेवा नै बन्द गर्न बाध्य हुन्छौं’, अध्यक्ष आलमले भने, ‘चालु आर्थिक वर्षकै रकम नेपाल सरकारबाट भुक्तानी हुन नसक्दा बिरामीहरुको उपचारको लागि चाहिने औषधी पनि अभाव भएको छ ।’

नवीकरण कसले गर्ने भन्ने विषयमा प्रदेश र केन्द्र सरकारबीचको विवाद हुँदा रकम नपाएको आलम बताउँछन् । प्रदेशबाट नवीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको तर केन्द्रले प्रदेशबाट नवीकरण हुन नसक्ने भनी हालैमात्र पत्र पठाएपछि भुक्तानीमा पनि समस्या भएको अध्यक्ष आलमले बताए ।

अस्पतालले बुटवल, पाल्पा र लमहीबाट डायलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । बुटवलमा २०, दाङको लमहीमा १०, पाल्पाको तानसेनमा १० वटा गरी ४० वटा डायलासिस मेसिनमार्फत बिरामीको नियमित डायलाइसिस भइरहेको अस्पतालका प्रशासन प्रमुख कमल भण्डारीले जानकारी दिए ।

रुपन्देही उद्योग संघको संरक्षकत्व, रोटरी क्लब अफ बुटवल डाउन टाउन, रोटरी क्लब अफ बुटवल साउथ, रोटरी क्लब अफ बुटवल, रोटरी क्लब अफ सेन्ट्रल बुटवल, रोटरी क्लब अफ भैरहवा र रोटरी क्लब अफ लमहीको सहयोगमा यो अस्पताल सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment