 
																			२६ जेठ, पोखरा । पोखराको कोभिड अस्पतालमा आइतबार राति मृत्यु भएका ६० वर्षीय पुरुषको शव अझै व्यवस्थापन हुन सकेको छैन । आइतबार राति करिब साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु भएको करिब १५ घन्टासम्म शव आइसोलेसन कक्षमै राखिएको छ ।
‘स्थानीय तह, प्रशासन र आर्मीलाई शव व्यवस्थापनको जिम्मा दिइएको छ । तर, लामो समय भइसक्दा पनि उहाँहरु सम्पर्कमा आउनुभएको छैन,’ अस्पतालका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘शव अस्पतालमै हुँदा कर्मचारी पनि काम गर्न नसक्ने अवस्थामा पुगिसके ।’
शव व्यवस्थापनका लागि पोखरा महानगरले अझै पनि ठाउँको टुंगो लगाउन सकेको छैन । मृतकको परिवारको सहमतिमा शव व्यवस्थापन गर्ने गरी ठाउँ खोजिरहेको महानगर बताउँछ । ‘कोरोनाबाट मरेकाहरुको शव व्यवस्थापन गर्न छुट्टै कार्यविधि छ । त्यही कार्यविधि अनुसार लाश गाड्न यार्ड खोजिरहेका छौं,’ पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले भने ।
शर्माले अस्पतालसँग आफूहरुले सम्पर्क भने नराखेको बताए । ‘अस्पतालसँग हाम्रो पनि सम्पर्क भएको छैन । कोरोनाले मान्छे बितेको छ । तनावमा हुनुहुन्छ होला ! फोन गरेर के डिस्टर्ब गरिराख्नु भनेर सम्पर्क गरेको छैन,’ उनले भने, ‘हाम्रो कार्यविधि अनुसार नै नेपाली सेनाले शव व्यवस्थापन गर्छ ।’
शव व्यवस्थापनका लागि पोखरा फूलबारीस्थित भगवती दल गणलाई जिम्मा दिइएको छ । गणका कर्णेल मदनजंग कार्कीले महानगरले शव व्यवस्थापन ठाउँ व्यवस्था गरे आफूहरु तत्काल फिल्डमा खटिने जानकारी दिए । ‘बिहानैदेखि केटाहरु रेडी अवस्थामा छन् । महानगरले कुनै सूचना दिएको छैन । सूचना दिएको केही समयमै मेरा केटाहरु मुभ हुन तयार छन्,’ उनले भने ।
स्याङ्जा वालिङ निवासी ती व्यक्ति २३ गते अस्पताल भर्ना भएका थिए । २२ गते सुनौली नाकाबाट वालिङ नगरपालिकाले उद्धार गरेका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि पोखरा पठाइएको थियो । पोखरा आफन्तको आइसकेपछि उनलाई बल्ल अस्पताल भर्ना गरिएको थियो ।
गण्डकी स्वास्थ्य निर्देशनालयले कोरोनाबाट मृत्यु भएका ती पुरुषसँग सम्पर्कमा आएकाहरुको कन्टयाक ट्रेसिङ सुरु गरेको छ । उनी स्याङ्जाबाट पोखरा छारीको घरमा आएपछिमात्रै अस्पताल भर्ना भएका थिए ।
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4