Comments Add Comment

डब्ल्यूएचओले ब्राजिललाई भन्यो– कोरोनासम्बन्धी तथ्यांक सार्वजनिक गर्नू

२७ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना सम्बन्धी तथ्यांक सार्वजनिक गर्न ब्राजिललाई अपिल गरेको छ ।

मृतकको वास्तविक संख्या लुकाइरहेको भन्दै आलोचना भइरहेको बेला ब्राजिल सरकारले कोरोना भाइरसबाट समग्र संक्रमित र मृत्युको तथ्यांक सार्वजनिक गर्न छाडेको छ । शनिबार ब्राजिलको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा रहेको अहिलेसम्मको समग्र मृतक र संक्रमितको तथ्यांक हटाएर केवल पछिल्लो २४ घण्टामा भेटिएका संक्रमित र मृतकको तथ्यांक मात्र राखिएको थियो ।

डब्ल्यूएचओले ब्राजिलको यस कदममा चासो दिँदै तथ्य र पारदर्शिता अपनाउँदै विवरणहरु सार्वजनिक गर्न भनेको हो ।

ब्राजिल कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार ब्राजिलमा कोरोना भाइरसबाट ६ लाख ९१ हजार ७ सय ५८ जना संक्रमित छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणमा चासो नदिएको भन्दै ब्राजिल सरकारको आलोचना हुँदै आएको छ ।

विश्व स्वास्थ्य संगठनका हेल्थ इमरजेन्सी प्रमुखले पत्रकारहरुसँग कुरा गर्दै भने– नागरिकहरुको सुरक्षालाई ध्यान दिँदै तथ्यांकमा पारदर्शिता अपनाउनुपर्छ र त्यसलाई सार्वजनिक गर्नुपर्छ ।

उनले भने– आखिर के भइरहेको छ भनेर जान्नु जरुरी हुन्छ । भाइरस कहाँसम्म फैलिइसकेको छ भनेर पनि थाहा पाउनु आवश्यक छ । उनीहरुले यो संक्रमणलाई कसरी रोक्ने भनेर उपाय खोज्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment