Comments Add Comment

जापानका माकोटो हासिब बुण्डेसलिगामा सर्वाधिक खेल्ने एसियन खेलाडी

२७ जेठ, काठमाडौं । जापानी राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान माकोटो हासिबले जर्मन बुण्डेसलिगामा सर्वाधिक खेल खेल्ने एसियन खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाएका छन् । उनले यस्तो उपलब्धी हात पार्दा आफू एकदमै गौरवान्वित भएको बताए ।

३६ वर्षीय सेन्टर ब्याक हासिबले बुण्डेसलिगा अन्तर्गत शनिवार माइन्ज विरुद्धको खेलमा उनट्राट फ्राङ्कपुर्टका लागि पूरा ९० मिनेट खेलेका थिए । उक्त खेलमा उनको टिम माइन्जसँग २-० ले पराजित भयो । तर हासिबले भने बुण्डेसलिगामा ३०९ खेल खेल्दै कीर्तिमान बनाए । उनले दक्षिण कोरियामा पूर्व परवार्ड चा बुब कुनकको नाममा रहेको कीर्तिमान तोडे ।

‘म अरु एसियन खेलाडी भन्दै धेरै बुण्डेसलिगा खेल खेलेकोमा एकदमै खुशी छ । तर मेरोलागि टिमको जित अझै महत्वपूर्ण छ,’ खेलपछि हासिबले बुण्डेसलिगाको अफिसियल साइटसँग भनेका छन्, ‘हामीले चाहिएजति राम्रो खेल्न सकेनौँ । हामी सबै क्षेत्रमा केही कमजोरी देखियौँ ।’

हासिब सन् २००० देखि २००७ सम्म घरेलु लिग उराव रेड्समा खेलेर २००८ मा जर्मनी पुगेका थिए । उनले सन् २००८ मा वल्फ्सवर्गका लागि खेल्दै बुण्डेसलिगामा डेब्यु गरे । उनले २००८-०९ सिजन वल्फ्सवर्गबाट बुण्डेसलिगा उपाधि समेत जितेका थिए ।

२०१३ सम्म वल्फ्सवर्गका लागि खेलेका हासिब एक सिजन नुरेमवर्गमा खेलेर २०१४ मा एनट्राट फ्राङ्कफुर्ट पुगेका थिए । जहाँ उनले १५० भन्दा बढी खेल खेलिसकेका छन् । २०१८ मा उनले एनट्राटका लागि जर्मन कप समेत जितेका थिए ।

सन् २०१८ मा रसियामा भएको फिफा विश्वकप पछि हासिबले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । उनले जापानका लागि ११४ खेल खेलेका छन् । उनले २०११ जापानका लागि एसिया कप जितेका थिए ।

अर्को सिजन जर्मनीमा हासिबको १४औं सिजन पुग्नेछ । उनले अर्को सिजन क्लबको एम्बासडरको रुपमा समेत रहने घोषणा गरिसकेका छन् । एनट्राट जारी सिजन ११ औं स्थानमा छ । कोरोनाभाइरस महामारीपछि फेरि सुरु लिगमा एनट्राटले एक खेल मात्र जितेको छ । एनट्राटले जर्मन कपमा बुधबार लिग लिडर बायर्न म्युनिखसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment