Comments Add Comment

योगी आदित्यनाथको अभिव्यक्ति निन्दनीय : प्रधानमन्त्री ओली

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अघिल्लो हप्ता नेपालबारे दिएको अभिव्यक्ति आलोच्य र निन्दनीय भएको बताएका छन् ।

प्रतिनिधिसभामा बुधबार सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नेपाललाई हेप्न खोजेको हो भने आफूहरु हेपिन तयार नभएको बताए ।

गत बुधबार भारत लखनउमा इन्डो एसियन न्युज सर्भिसलाई दिएको अन्तर्वार्तामा महामन्त्री योगी आदित्यनाथले नेपालले आफ्नो देशको राजनीतिक सीमा निर्धारण गर्नुभन्दा अघि त्यसबाट उत्पन्न हुने परिणामका बारेमा सोच्नुपर्ने अभिव्यक्ति दिएका थिए । उनले ‘तिब्बतले के गल्ती गरेको थियो भन्ने पनि नेपालले सम्झिनुपर्छ’ भनी धम्कीपूर्ण भाषा बोलेका थिए ।

त्यस विषयमा कांग्रेस सांसदहरुले सरकारको धारणा माग गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने ‘यदि उहाँले त्यसरी बोल्नु भएको हो भने त्यो जायज होइन र त्यसरी नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने उचित होइन ।’

आदित्यनाथ भारतको केन्द्र सरकारको निर्णायक व्यक्ति नभए पनि मुख्यमन्त्रीको हैसियतमा पनि त्यस्तो बोल्न नहुने प्रधानमन्त्री ओलीले बताए ।

‘…मुख्यमन्त्रीको हिसाबले त्यस्तो बोल्नुभएको हो भने पनि नबोलिनुपथ्र्यो । बोल्नुभएको हो भने आलोच्य विषय हो, नेपाललाई धम्की दिनुभएको हो भने निन्दनीय विषय हो’ उनले भने ।

प्रधानमन्त्री ओलीले थपे ‘त्यस्तो कुरालाई हामी नेपालमाथिको अवहेलनाका रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैैन, मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment