Comments Add Comment

ट्रम्पलाई हराउँदै बाइडन बन्लान् त अमेरिकाको आगामी राष्ट्रपति ?

२९ जेठ, काठमाडौं । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्रेटिक पार्टीको उम्मेदवार जो बाइडन चुनिएका छन् । अब उनको प्रतिस्पर्धा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुनेछ ।

जो बाइडन एक अनुभवी राजनीतिज्ञ हुन् । बाराक ओबामाको पालामा बाइडन उपराष्ट्रपति थिए । आफ्ना समर्थकमाझ विदेशी नीतिको एक विशेषज्ञको रुपमा परिचित छन् । उनीसँग वासिङटन डीसीमा राजनीति गरेको लामो समयको अनुभव छ । मीठो बोली बोल्ने नेताको छवि बनाएका बाइडनले जिन्दगीमा धेरै उतारचढावको सामना गरेका छन् ।

विरोधीहरू भने बाइडनमा धेरै कमजोरी रहेको बताउँछन् । उनले आफ्नो भाषणको क्रममा झुटा दाबी गर्ने गरेको उनीहरूले आरोप लगाउने गरेका छन् । साथै, महिलाको कपाल सुँघ्ने खराब लतको विषयमा पनि चिन्ता जनाइने गरिएको छ ।

स्पष्ट वक्ता

जोन बाइडनको चुनावी प्रचारसँग लामो सम्बन्ध छ । अमेरिकाको संघीय राजनीतिमा उनको करियरको सुरुवात ४७ वर्षअघि अर्थात् सन् १९७३ को सिनेटको निर्वाचनबाट भएको थियो । उनले राष्ट्रपतिका लागि आफ्नो पहिलो दाबी आजभन्दा ३३ वर्षअघि नै पेस गरेका थिए । उनीसँग मतदातालाई आफूप्रति आकर्षित गर्ने खुबी छ । यद्यपि, उनी समयसमयमा गलत दाबी पनि गरिरहेका हुन्छन् ।

जनताहरूसँग भेट्दा बाइडन छिटै भावनामा बग्छन् र यही कारणले उनको पहिलो राष्ट्रपति चुनावको अभियान एक्कासी सकिएको थियो । राष्ट्रपति बन्नका लागि बाइडनको यो तेस्रो प्रयास हो ।

सन् १९८७ मा बाइडनले राष्ट्रपति बन्न पहिलोपटक प्रयास गरेका थिए । त्यतिबेला उनले अफ्ना पुर्खा कोइलाखानीमा काम गर्ने गरेको र उनीहरूलाई क्षमताअनुसार अगाडि बढ्ने मौका नमिलेको गलत दाबी गरेका थिए । उनको यो दाबी ‘जो बम्ब’ नामले चर्चित वा बदनाम छ ।

त्यस्तै, सन् २०१२ मा पनि उनले आफ्नो भाषणमा ध्यान दिन नसक्दा उनले गलत अर्थ लाग्ने भारी अभिव्यक्ति दिएका थिए । यद्यपि, उनलाई भाग्यले साथ दिएको नेताको रुपमा चिनिन्छ । अमेरिकाका पहिला अश्वेत राष्ट्रपतिले उनलाई उपराष्ट्रपति बनाएका थिए । उनले अश्वेत जातिहरूको विषयमा पनि बेलाबेलामा विभिन्न किसिमको विवादास्पद अभिव्यक्ति दिने गरेका छन् । तथापि, उनी अफ्रिकी–अमेरिकी समुदायमा निकै लोकप्रिय छन् ।

पूर्वविदेशमन्त्री तथा राष्ट्रपतिका उम्मेदवार बनिसकेका जोन केरी बाइडनको प्रशंसा गर्दै बाइडनमा कुनै किसिमको बनावटी व्यवहार नरहेको बताउँछन् । उनी अन्य नेताले जस्तो ढाेंग नगर्ने र सहजरुपमा मानिसहरूसँग घुलमिल हुने बानी रहेको केरीको भनाइ छ ।

बाइडनमाथि लागेको आरोप

गत वर्ष आठ महिलाले बाइडनले आफूहरूलाई आपत्तिजनक तरिकाले छोएको, अंकमाल गरेको वा किस गरेको आरोप लगाएका थिए । त्यसपछि सञ्चारमाध्यममा उनका विभिन्न किसिमको तस्वीर सार्वजनिक भयो । जसमा उनले धेरैपटक महिलाको कपाल सुँघ्दै गरेको पनि देखिएको छ ।

यो आरोपको जवाफमा बाइडनले महिलालाई अभिभावादन गर्ने समयमा थप सावधान बन्ने बताएका थिए ।

गत मार्चमा अमेरिकी अभिनेत्री तारा रीडले बाइडनमाथि ३० वर्ष पहिले आफूलाई यौन हिंसा गरेको आरोप लगाएकी थिइन् । बाइडनले भने यसलाई अस्वीकार गर्दै आएका छन् ।

त्यसो त ट्रम्पमाथि पनि धेरै यौन हिंसाको आरोप लागेका छन् । यद्यपि, बाइडन आगामी निर्वाचनमा आफ्नो गल्तीबाट पाठ सिक्दै अघि बढ्ने प्रतिबद्धताका साथमा लागिपरेका छन् । उनका लागि उनको राजनीतिक अनुभव नै महत्वपूर्ण हुने उनका समर्थकहरू बताउँछन् । उनले तीन दशकभन्दा लामो समय सिनेटमा बिताएका छन् । त्यसका साथै उनी बाराक ओबामाको पालामा आठ वर्ष उपराष्ट्रपति रहेका थिए ।

बाइडनको जीवन

बाइडनको जीवन निकै उतार चढावपूर्ण तरिकाले बितेको छ । उनी पहिलोपटक अमेरिकाको सिनेटको चुनाव जितेर शपथ लिने तयारी गरिरहँदा उनकी पत्नी र एक छोरीको कार दुर्घटनामा मृत्यु भएको थियो । उनका दुई छोरा ब्यू र हन्टर पनि घाइते भएका थिए ।

सन् २०१५ मा ४६ वर्षको उमेरमा ब्रेन ट्युमरको कारण मृत्यु भएको थियो । आफ्नो परिवारका निकट व्यक्तिहरू गुमाएको कारण पनि उनीप्रति मानिसहरूले सहानुभूति राख्ने गरेका छन् ।

यद्यपि, उनका छोरा हन्टरको कथा भने केही फरक छ । हन्टरले वकालतको अध्ययन गरेका थिए र यसको काम पनि सुरु गरेका थिए । त्यसपछि उनको जिन्दगी कसैले नियन्त्रण गर्न नसक्ने अवस्थामा पुग्यो । हन्टरकी पहिली पत्नीले उनलाई मदिरा र लागुऔषध प्रयोग गरेको लगायतका कारण देखाउँदै सम्बन्धविच्छेद गरेकी थिइन् । कोकिन सेवन गरेको पाइएपछि उनलाई अमेरिकी नौसेनाको रोजगारीबाट हटाइएको थियो ।

उनले एक अन्तर्वार्तामा चिनियाँ व्यापारीले उपचारमा हीरा दिएको बताएका थिए । तर ती व्यापारीमाथि चीनले भ्रष्टाचारको आरोपमा अनुसन्धान गरेको थियो ।

छोराका कारण बाइडनको राजनीतिमा समेत धक्का पुगेको छ । हन्टरको अत्यधिक आम्दानीको विषयमा पनि प्रश्न उठिरहेको छ । हन्टरले उल्लेख्य तलब लिनेमध्येको एक रोजगारी युक्रेनमा पनि थियो । यसै विषयलाई लिएर ट्रम्पले युक्रेनलाई भ्रष्टाचारको मामिलामा अनुसन्धानका लागि दबाब दिएका थिए । दबाबको विषयलाई लिएर ट्रम्पले महाभियोगको पनि सामना गर्नुपरेको थियो ।

विदेशी मामिला

विदेशी मामिलामा पनि बाइडनको लामो समयको अनुभव छ । उनले ४५ वर्षमा विश्वका सबैजसो प्रमुख नेतासँग भेट गरिसकेको दाबी गर्ने गरेका छन् । उनले सन् १९९१ मा भएको खाडीयुद्धको विपक्षमा उभिएका थिए भने सुन् २००३ मा इराकमा आक्रमण गर्ने पक्षमा मतदान गरेका थिए । यद्यपि, आक्रमणपछि इराकमा पुगेको नोक्सानीबारे भने उनले अमेरिकाको कडा आलोचना गरेका थिए । बाइडेनले ओसामा बिन लादेन मार्ने बेलामा बाइडनले ओबामालाई यो आक्रमण नगर्न सल्लाह दिएका थिए ।

गत जनवरीमा एक ड्रोन आक्रमणमा इरानका जनरल कासिम सुनेमानीको हत्याको आदेशमा पनि बाइडनले खुलेर समर्थन गरेका थिए । अन्य अधिकांश विदेशी मामिलामा बाइडनले मध्यमार्गी बाटो रोज्दै आएका छन् ।

अहिले अमेरिकाका विभिन्न सर्वेले धेरै किसिमको आकलन देखाएका छन् । तर नोभेम्बर आउन केही समय बाँकी छ । यस्तोमा अहिले नै ट्रम्प र बाइडनमा को अगाडि आउँछ भन्ने अनुमान गर्न कठिन छ । अहिले दुवै नेता एकअर्काको विरुद्धमा देखिएका छन् । यस्तोमा कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणको प्रयास तथा जर्ज फ्लोयडको प्रहरी नियन्त्रणमा भएको मृत्युपछि भड्किएको आन्दोलनको कारण अहिले अमेरिकाको राजनीतिक माहोल तातेको छ ।

आगामी निर्वाचनमा जित हासिल गरे बाइडन आफ्नो उतारचढावपूर्ण राजनीतिक जीवनको शिखरमा पुग्नेछन् । अन्यथा ट्रम्प पुनः चार वर्ष यो पदमा यथावत रहनेछन् । बाइडनले ट्रम्पलाई राष्ट्रपति बन्ने कुनै क्षमता नभएको व्यक्ति बताउँदै आएका छन् । साथै, ट्रम्पमाथि कुनै भरोसा पनि गर्न नसकिने उनको भनाइ छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment