Comments Add Comment

श्रीमान-श्रीमती एउटै मोटरसाइकल चढ्न नपाउने कस्तो नियम ?

३० जेठ, काठमाडौं । ११ चैतदेखि जारी लकडाउनलाई सरकारले २९ जेठबाट केही खुकुलो बनाएको छ । लकडाउन खुकुलो बनाउने नीतिअनुसार मोटरसाइकलमा दुईजना चढ्न नदिने निर्देशन ट्राफिक प्रहरीले पाएको छ ।

यो नीति कार्यान्वयन गर्ने क्रममा मोटरसाइकल चालक र यात्रुमात्र होइन, ट्राफिक प्रहरी समेत ‘पीडित’ बनेका छन् । शुक्रबार बिहानै काममा खटिएका ट्राफिकलगायतका प्रहरीहरूले यही नियमका कारण सर्वसाधारणको चर्को आलोचना खेप्नुपर्‍यो ।

एक त आज जोर गते, जोर नम्बर भएका सवारीमात्र चलाउन पाइने दिन । त्यसमाथि कतिले श्रीमती वा श्रीमानलाई पछाडि राखेर मोटरसाइकल चलाएका छन् । कोही प्रहरीसँग हारगुहार गर्दै बिरामी आफन्तलाई पछाडि राखेर अस्पताल लैजाँदै छन् । निर्देशनअनुसार त्यस्ता मोटरसाइकल रोकेपछि प्रहरीले केही न केही व्यावहारिक अप्ठ्यारोको सामना गर्न परिहाल्यो ।

त्यसमा पनि लामो लकडाउन र कोरोना नियन्त्रणमा सरकारको प्रभावहीनताबाट आजित बनेका सर्वसाधारण प्रहरीको टाउको दुखाइ बनेका छन् । दुईजना चढेर आएको मोटरसाइकल रोक्दा अधिकांश ट्राफिक प्रहरीले चर्को मौखिक प्रतिवादको सामना गर्नुपरेको, भनाभन भएको देखियो ।

यद्यपि, प्रहरीहरू संयमित भएर सम्झाइ बुझाइ गरिरहेका छन् ।

यो पनि पढ्नुहोस काम पाइनस् सरकार, मोटरसाइकलबाट मान्छे ओराल् !

सहकर्मीदेखि दम्पतीसम्म मोटरसाइकलमा

नयाँ बानेश्वर चोकमा ट्राफिक प्रहरीले रोकेका एक युवक र युवती प्रहरीसँग चर्को विवाद गरिरहेका थिए । एउटै अस्पतालका ती दुई स्वास्थ्यकर्मीलाई प्रहरीले सरकारको निर्देशन पालन गराउनु आफ्नोे बाध्यता रहेको भन्दै सम्झाइरहेका थिए ।

उनीहरूले स्वास्थ्यकर्मीलाई यसरी रोक्न नमिल्ने भन्दै जान जोडबल गरेपछि प्रहरी जवानले कमाण्डरसँग कुरा गर्नुस् भन्दै अलि पर अर्को झुण्डको प्रतिवाद खेपिरहेका सहायक निरीक्षक (असई) लाई देखाए ।

फटाफट असई छेउ गएर घाँटीमा झुण्डिएको परिचय पत्र देखाउँदै युवक जङ्गिए, ‘यो के गर्नुभएको, स्वास्थ्यकर्मीलाई नै पनि यसरी रोक्ने ?’

असई मणिकान्त झाले आफूलाई संयममा राख्दै भने, ‘सरकारको निर्णय नै यस्तै छ, सरकारले स्वास्थ्यकर्मीलाई चाहिँ दुईजना चढ्न दिनु भनिएको छैन ।’

असईको कुराले झन् तातिएका युवकले जनतालाई यसरी हेपाहा प्रवृत्ति नदेखाउन भने । असई झाले सरकारको निर्णय कार्यान्वयन गराउनु आफ्नो कर्तव्य भएको बताउँदै विवाद नगर्न आग्रह गरिरहे ।

निकैबेरको विवादपछि अर्का प्रहरी जवानले उही व्यावहारिक उपाय कार्यान्वयनमा ल्याए । त्यसअनुसार स्वास्थकर्मी युवक बाइक स्टार्ट गरेर एक्लै बिजुलीबजारतिर लागे । उनकी महिला सहकर्मी हिँडेरै अलिक पर पर्खिरहेको बाइकसम्म पुगिन् । प्रहरीहरूले देख्दै देखेनन् ।

त्यतिबेला असई झा बिजोर नम्बरको गाडी चालकसँग माथापच्ची गरिरहेका थिए । चालक आफ्नो परिचयपत्र असईको आँखाअगाडि घुमाउँदै गाडीको नम्बर होइन, यो हेरेर छाड्न भनिरहेका थिए । तर झाले मानेनन् ।

विवाद लम्बिन थाल्यो । खल्तीबाट मोबाइल निकाल्दै चालकले थर्काउन खोजे, ‘तपाईंलाई फोन नै गराउन पर्‍यो हैन त ?’

अब असई झा पनि जङ्गिए, ‘तपाईंले फोन गराएर डराउँदिन, के गर्नुहुन्छ, गर्नुस् ।’

‘एकैछिनमा थाहा भइहाल्छ, पख्नुस्’ भन्दै चालक नम्बर डायल गर्न थाले ।

असई कुर्लिए, ‘लौ कसलाई फोन गर्नुहुन्छ गर्नुस्, बरु नम्बर छैन भने म खोजी दिउँला ।’

बढ्दो आवेगका बीच दुवैजना शब्दहरूलाई सभ्यताको सीमाभित्र राख्न प्रयासरत थिए । चालक मोबाइल खेलाइरहेका देखिन्थे । असई झाको टोली पनि आफ्नै काममा केन्द्रित भयो ।

उनीहरूले दुईजना सवार अर्को मोटरसाइकल रोके, दम्पती रहेछन् । श्रीमती बैङ्कको अनि श्रीमान् सरकारी जागिरे । प्रहरीले कर्मचारीलाई छाड्नु भन्ने आदेश आफूहरूलाई नआएको बताए ।

‘श्रीमान्–श्रीमती आफ्नो मोटरसाइकलमा चढ्न नपाउने यो के नियम हो ?’ पछाडि बसेकी महिला आक्र्रोशित बनिन्, ‘हामी सधैं एउटा बाइकले कार्यालय भ्याइरहेका छौं, आज यो कस्तो नियम हो ?

प्रहरीहरू बोलेनन् ।

त्यसपछि फेरि उही व्यावहारिक उपाय लागु भयो— श्रीमतीलाई ओरालेर श्रीमान् एक्लै अघि बढेर अलि पर पर्खिन थाले ।

बानेश्वरपछि हामी न्युरोड गेट पुग्यौं । त्यहाँ पनि चर्कै प्रहरी–यात्रुबीचको वाक्युद्ध चलिरहेको थियो । एउटै मोटरसाइकलमा आएका दम्पतीसँग एक प्रहरी कड्किँदै थिए, ‘व्यावहारिक कुरा त हामीले पनि बुझेका छौं, तर सरकारको निर्णय कार्यान्वयन पनि गराउनै पर्छ नि ।’

अन्त्यमा त्यहाँ पनि उही व्यावहारिक उपाय अपनाइयो । प्रहरीसँग माथापच्ची नगरी यो उपाय अवलम्बन गर्नेहरू पनि धेरै नै देखिए । यस्तो बेला त्यसरी आफैँ आँखा छल्नेहरूलाई प्रहरीले देख्ने कुरै नआउँदो रहेछ ।

घाम चर्किन लागेको यो कार्यालय समयमा न्युरोड गेट र महांकाल मन्दिरबीचमा छिनका छिन यस्तो लुकामरी देखिन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment