Comments Add Comment

मृत बालकमा कोरोना पुष्टि भएपछि स्वास्थ्यसंस्था सिल, निजगढ बजार बन्द

३१ जेठ, वीरगञ्ज । र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ भई उपचारको क्रममा मृत्यु भएका बाराको निजगढ–६ का ५ वर्षीय बालकको पीसीआर परीक्षणमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारका क्रममा बालकको शुक्रबार साँझ मृत्यु भएको थियो । अस्पतालमा दुई पटक आरडीटी परीक्षण गर्दा दुवै रिपोर्ट पोजेटिभ देखिएको थियो । शुक्रबार राति गरिएको उनको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।

मृतक बालकमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

निमोनिया कारण सिकिस्त बनेका बालकलाई परिवारले निजगढमा दुईवटा निजी क्लिनिकमा जाँच गराएका थिए । उनीहरुले नै दिएको सुझावको आधारमा टेम्पोमा राखेर निजगढकै सामुदायिक प्रसूति अस्पतालमा लगिएको थियो । प्रसूति अस्पतालबाट एम्बुलेन्समा राखेर वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो । बिहान ११ बजे आकस्मिक कक्षमा ल्याइएका बालकको अवस्था गम्भिर थियो ।

कोरोनाका शंकास्पद विरामी आउन सक्छन् भनेर अस्पतालले भेन्टिलेटर सहित ५ बेडको आइसोलेसन तयारी अवस्थामा राखेको थियो । भेन्टिलेटरमा राख्नु अघि आरडीटी अस्पतालमै उपलब्ध किटबाट आरडीटी परीक्षण गरिएको थियो । त्यसपछि नारायणी अस्पतालको किटबाट समेत परीक्षण गरियो । दुवैमा रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएरै बालकको उपचार गरिएको वीरगञ्ज हेल्थ केयर अस्पतालले जनाएको छ ।

बालकको शव बिहान नेपाली सेनालाई जिम्मा लगाइसकिएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले जानकारी दिए । शवलाई गाउँमै लगेर सामाजिक परम्परा अनुसार अन्तिम संस्कार गर्ने तयारी परिवारका सदस्यहरुले गरेका छन् ।

निजगढमा त्रास

निजगढ नगरपालिका–६ माथिल्लो योजना टोलका बालकमा कोरोना संक्रमण पुष्टि भएपछि निजगढमा त्रास देखिएको छ । बालकलाई लगिएको स्वास्थ्य संस्था सिल गरिएको छ भने बजार पनि बन्द गरिएको छ ।

शनिबार बिहानै निजगढ नगरपालिकास्थित कोरोना रोकथाम तथा नियन्त्रण समितिको आकस्मिक बैठक बसेको छ । बैठकपछि नगर प्रमुखले बजार बन्द गरेर सहयोग गरिदिन आह्वान गर्दै विज्ञप्ती निकालेका छन् । नगर प्रमुख सुरेश कुमार खनालले जारी गरेको सूचनामा शंकास्पद क्षेत्रमा परीक्षणको क्रम अगाडि बढाइएकोले ढुक्क हुन आग्रह गरिएको छ ।

साथै विज्ञप्तीमा अर्को सूचना जारी नभएसम्म अत्यावश्यक औषधी पसल बाहेकका अन्य पसल बन्द गर्न आग्रह गरिएको छ । निजगढ नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण पसल तथा व्यवसायहरु (औषधी पसल बाहेक) सरकारी तथा निजी कार्यालहरु, बैंक तथा वित्तीय संस्थाहरु, नगरभित्र चल्ने सम्पूर्ण साना तथा ठूला यातायातहरु (विरामी बोक्ने एम्बुलेन्स बाहेक) पूर्णरुपमा बन्द गरेर सहयोग गरिदिन आग्रह गरिएको छ ।

त्यसैगरी अनावश्यक घर बाहिर हिँडडुल नगरी घरभित्रै बसिदिन, व्यक्तिगत दुरी बनाइ सुरक्षित बसिदिन पनि आग्रह गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment