
३१ जेठ, सुर्खेत । दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ । नारायण नगरपालिकाको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टिनमा बस्दै आएका संक्रमित र प्रहरीबीच शनिबार झडप भएको हो ।
झडपका क्रममा प्रहरीको कुटाइबाट ४ जना घाइते भएका छन् । घाइतेहरुलाई दैलेख अस्पतालको आइसोलेसन बार्डमा लगिएको छ ।
क्वारेन्टिनमा बस्दै आाएका ४३ जना संक्रमितहरुले दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै आन्दोलित भएका थिए । उनीहरु घर जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको दैलेख प्रहरी प्रमुख डीएसपी हरिबहादुर वलीले बताए ।
आइसोलेसन र क्वारेन्टिनमा रहेकाहरु दैनिकजसो आन्दोलन गर्दै आएका छन् ।
शनिबार पनि पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आन्दोलन सुरु गरेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए । उनले भने, ‘आन्दोलन गर्नु त उनिहरुको दैनिकी जस्तै भएको छ । घर जान पाउनु पर्ने भन्दै विद्यालयको गेट समेत तोडफोड गरेका छन् । उग्र हुन थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको हो ।’
कतिपयलाई अर्को विद्यालयको क्वारेन्टिनमा सारिएको उनले बताए ।
डुङ्गेश्वरका संक्रमितहरु आन्दोलित
जिल्लाकै डुङ्गेश्वर गाउँपालिकाका कोरोना संक्रमितहरु पनि आन्दोलनमा उत्रिएका छन् । खाने, बस्ने र शौचालयको उचित व्यवस्थापन नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
गाउँपालिकाले संक्रमितलाई वडा नम्बर १ को चुप्रा स्थित त्रिवेणी संगम माविमा राख्ने निणर्य गरेको थियो । सोहीअनुसार शुक्रबार मात्रै ३५ जना संक्रमितलाइ राखिएको थियो । उनीहरु खाना, बस्न र शौचालयको उचित व्यवस्थापन नभएपछि घर जान पाउनुपर्ने माग राख्नै शनिबार बिहानैदेखि आन्दोलनमा उत्रिएका थिए ।
चुप्रामा राम्रो व्यवस्थापन भएको होला भनेर पठाए पनि त्यसो नभएकाले अर्को विद्यालयमा लिने तयारी भै रहेको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए ।
प्रतिक्रिया 4