
३२ जेठ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले धनुषामा हिरासतमा रहेका व्यक्तिको मृत्युका सम्बन्धमा छानबिनको माग गरेका छन् ।
धनुषाको सबैला नगरपालिकामा ट्याक्टर दुर्घटनापछि पक्राउ परेका चालकको जेठ २७ गते हिरासतमै शौचालयमा भुण्डिएको अवस्थामा शव फेला परेको घटना छानबिन गर्न उनले माग गरेका हुन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै सांसद यादवले उक्त घटनामा पीडितका परिवारले झुण्ड्याएर मारेको बताइरहेको उल्लेख गर्दै छानबिन हुनुपर्ने बताए । उनले रुकुम घटनाबारे छानविन गर्न गठन भएको संसदीय समतिलाई धनुषाको उक्त घटनाको छानबिन गर्न जिम्मा दिन माग गरे ।
नेता यादवले राजनीतिक संरक्षणमा अपराधीले उन्मुक्ति पाइरहेको भन्दै आपराधिक घटनालाई राजनीतिक आडमा जोगाउने परम्परा रोक्न माग गरे ।
२७ जेठमा सबैला नगरपालिकाका अरुणकुमार मण्डललाई रातको समय फोन गरी बोलाएर गोली हानी हत्या भएको घटना पनि उनले छानबिन गर्न माग गरे ।
कोरोना नियन्त्रणमा समस्या
सांसद यादवले दुई नम्बर प्रदेशमा कोरोना नियन्त्रणमा समस्या भइरहेको बताए ।
दुई नम्बर प्रदेश सरकारले पनि कोरोना नियन्त्रणका लागि कुनै प्रभावकारी योजनाका साथ काम गर्न नसकेको टिप्पणी गरे ।
सांसद यादवले भारतबाट आएको भाइरस कडा भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति ब्यङ्ग्य गरे । ‘कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीले कडा खालको उपचारको व्यवस्था मिलाइदिनपर्यो’ उनले भने ।
प्रतिक्रिया 4