+
+
Shares

भरतपुर कोभिड ल्याबको दुःख : डाइपर लगाएर काम गर्छन् प्राविधिक

क्षमताभन्दा बढी नमुना, नौ सय अझै लाइनमा

सुवास पण्डित सुवास पण्डित
२०७७ जेठ ३२ गते १५:२६

३२, जेठ, चितवन । कोरोनाविरुद्धको लडाइँमा अग्रभागमा खटिएका प्राविधिक कर्मचारीका दुःख र हैरानी सानो छैन । घरपरिवार छाडेर महिनौंदेखि क्वारेन्टिनमा बसेका उनीहरूले एकछिन पनि आराम गर्न पाउने अवस्था छैन ।

चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वावको दैनिक औसत दुईसय नमुना परीक्षण हुन्छ । माइक्रोबायोलोजिस्ट नितु अधिकारी नेतृत्वको प्रयोगशालामा १२ खटिएका छन् । यीमध्ये दुईजना शुक्रबार मात्र थपिएका हुन् ।

डा. नितु अधिकारी, प्रयोगशाला प्रमुख

सुरुवाती दिनमा स्वाब संकलन कम हुन्थ्यो, तर हिजोआज बिहानदेखि राति अबेरसम्म निरन्तर परीक्षण गर्दा पनि नभ्याउने गरी स्वाबको नमुना आइरहेको छ । ‘कामको चाप यति छ कि न खानको ठेगान छ न त सुत्नको’, डा. अधिकारी भन्छिन्, ‘बाहिरी संसार नदेखेको दुई महिना पुग्न लाग्यो ।’

२४ चैत्रबाट सञ्चालित यो ल्याबमा कामको चाप यति छ कि प्राविधिकहरूले प्रयोगशालामा बिहान लगाएको पीपीई एकैपटक राति अबेर खोल्छन् । पीपीई लगाएपछि दिसा–पिसाब गर्न कठिन हुन्छ, समस्या त सुनाएर साध्य छैन, ब्लेडले पीपीई काटेर पिसाब फेर्ने अनि पछि टेपले टास्नेसम्म गरियो’, एक प्राविधिक भन्छन्, ‘केही दिनयता भने डाइपर लगाएर काम गरिरहेका छौं ।’

उनीहरूको २४ घन्टा प्रयोगशाला–आइसोलेसन (चौबीसकोठीको होटल ग्लोबल) गरेर बितिरहेको छ । उनीहरू यति कष्ट सहेर देशको लागि काम गर्न पाएकोमा गर्व नै गरिरहेका छन् । डा. अधिकारी भन्छिन्, ‘फेरि हामीले नगरे कसले गर्ने ? विकल्प पनि छैन ।’

ल्याबमा नमुनाको चापसँगै काम बढेको छ । स्रोत–साधन र प्राविधिक अपुग छन् । चितवन र आसपासका लागि भनेर सञ्चालनमा ल्याइएको यो ल्याबमा अहिले अर्घाखाँची, धादिङ, नवलपरासी, कपिलवस्तु, मकवानपुर र सल्यानसम्मका स्वाब आइरहेको छ ।

डा. अधिकारीका अनुसार, यो चार कोठे ल्याबमा हालसम्म तीनहजार जनाको स्वाब परीक्षण भएको छ भने आठ सयभन्दा बढी नमुना परीक्षण गर्न बाँकी छ । ‘दिनमा दुईसय भन्दा बढी नमुना परीक्षण गर्न सक्ने जनशक्ति र ल्याबको क्षमता छैन’, डा. अधिकारी भन्छिन्, ‘त्यो कारणले गर्दा खाना र निद्रा नभनी राति दुईबजेसम्म खट्नुपरेको हो ।’

स्वाबको नमुना भने दैनिक दुईसय जति थपिन्छन् । पोजेटिभ देखिएको स्वाबलाई दोहोर्‍याएर परीक्षण गर्नुपर्ने भएकोले निकै समय लाग्छ । एउटा नमुना परीक्षणमा नौ घण्टासम्म लाग्ने डा. अधिकारीले बताइन् ।

प्रयोगशालामा अहिले जसरी नै सधैं काम गर्न सम्भव नहुने उनले बताइन् । ‘अति धपेडी र तनाव छ । यो अवस्थामा कुनै साथी बिरामी भए समस्या थपिन्छ’, डा. अधिकारीले भनिन्, ‘अब दुई सिफ्टमा काम गर्नेबारे सोच्नुपर्छ होला ।’

अहिले ल्याबमा चारसय पीसीआर किट र चारसय आरएनए एक्सट्याक्सन किट छ । दुई सिफ्ट गर्दा पीसीआर र एक्सट्याक्सन किट्सँगै फ्रिज, सेफ्टी क्याबिनेटलगायत साधनहरू पनि थपिनुपर्छ । ‘अहिले त घरिघरि बिजुलीको पावरसमेत नपुग्दा एकातिर रोकेर अर्कोतिर काम सक्नुपर्ने अवस्था छ’, डा. अधिकारी भन्छिन्, ‘अब सबै कुरामा क्षमता विस्तार नगरी सुखै छैन ।’

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?