
१ असार, चितवन । विभिन्न विवादमा मुछिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल खाली गराइएको छ । अस्पतालमा बसेका कोरोना संक्रमितले सामान्य सुविधासमेत नपाएकाले मर्मतका लागि भन्दै अस्पताल खाली गराइएको हो ।
अस्पतालमा संक्रमित राखिएको ठाउँमा बाथरुम फुटेर जलथल भएपछि संक्रमितले भिडियो खिचेर सार्वजनिक गरेका थिए । उनीहरूले गर्मीमा पङ्खाको समेत व्यवस्था नभएको भन्दै आक्रोशसमेत पोखेका थिए । उनीहरूको खिचेको भिडियो सार्वजनिक भएपछि भरतपुर अस्पताल मातहत रहेको कोरोना अस्पताल खाली गराई संक्रमितलाई भरतपुर अस्पताल सारिएको हो ।
शनिबार साँझ १८ जना संक्रमित भरतपुर अस्पताल सारिएको थियो । चार जना संक्रमितलाई शनिबार नै डिस्चार्ज गर्न खोजिएको थियो । तर सो दिन उनीहरू घर जान मानेनन् । आइतबार उनीहरू घर गएपछि अस्पताल खाली भयो । डिस्चार्ज भएर घर जानेमा नवलपरासीका तीन र चितवनका एक जना छन् ।
अस्पतालमा संक्रमित हुँदा मर्मत सम्भार गर्न कठिन भएकाले मर्मतको अवधिका लागि उनीहरू सबैलाई भरतपुर अस्पतालमा सारिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिए । उनले भने, ‘बिरामी हुँदा मर्मत गर्न कठिन हुन्छ, मर्मतका लागि नै सबै संक्रमितलाई भरतपुर अस्पताल सारेका हौं ।’
संक्रमितहरूलाई अस्पतालको ‘ए’ ब्लकको भुइँ तलामा तयार पारिएको आइसोलेसन कक्षमा राखिएको छ । त्यहाँ ७५ बेड तयार छन् । भरतपुर अस्पतालमा हाल २५ जना संक्रमितको उपचार भइरहेको छ।
७२ घण्टाभित्रै तयार पारिएको भनेर प्रचार गरिएको भरतपुर कोरोना अस्पताल विवादमा तानिँदै आएको छ । अस्पतालको सामग्री चोरिएको प्रकरणले अहिले कोरोना अस्पतालमाथि अख्तियारले छानबिन गरिरहेको छ ।
प्रतिक्रिया 4