Comments Add Comment

गण्डकीको बजेटमा कांग्रेसको प्रतिक्रिया : सरकारले कोरोनाको गाम्भीर्यता बुझेन

१ असार, पोखरा । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३४ अर्ब ८४ करोड २१ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आगामी वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा २ अर्ब बढी बजेट हो ।

बजेटको स्रोतमध्ये ७ अर्ब रुपैयाँ चालु आर्थिक वर्षको नगद मौज्दातबाट थप हुने मन्त्री गुरुङले सुनाए । बाँकी १ अर्ब आन्तरिक ऋण र १ अर्ब रुपैयाँ नेपाल सरकारसँग ऋण लिने भनिएको छ । ‘खासमा बजेटको आकारमात्रै ठूलो हो । गुदी यसपटक घटेको छ,’ मन्त्री गुरुङले पत्रकारसँग प्रतिक्रिया दिए, ‘आगामी वर्षको बजेट २५ अर्ब रुपैयाँको आसपासमा मात्रै हो भन्न सकिन्छ ।’

प्रमुख प्रतिपक्ष दल नेपाली कांगे्रेसले बजेट नागरिकको आवश्यकतालाई सम्बोधन गर्ने खालको नभएको प्रतिक्रिया दिएकोछ । संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कोराना महामारीको समय भएकाले अहिले नगरी नहुने बाहेक अन्य कामलाई स्थगित गनुपर्नेमा नगरिएको बताए ।

बजेटले कोरोनाको गाम्भीर्यतालाई सम्बोधन गरेन
कृष्णचन्द्र नेपाली
नेपाली कांग्रेस संसदीय दलका नेता

बजेट कोरोना महामारी रोकथामलाई केन्द्रित गरेर आउनुपर्थ्यो । अहिले नगर्दा पनि हुने कार्यक्रमलाई स्थगित गरेर कोरोना केन्द्रित बजेट आओस् भन्ने हाम्रो पहिल्यैदेखि सरकारलाई सुझाव हो ।

बजेट हेर्दा कोशिस गर्न खोजेको तर, अहिलेको गाम्भीर्यतालाई बुझ्न नसकेको महसुस हुन्छ । अहिलेको आवश्यकता भनेको कहाँ कति वटा धारा, पानी, कुलो भन्ने होइन । अहिले भनेको यहाँका प्रत्येक परिवारको एक महिनाभित्र पीसीआर टेस्ट गर्न सक्नुपथ्र्यो ।

सरकारले क्वारेन्टिनमा बसिरहेकाहरुलाई दूरावस्थाबाट बचाउँछौं, मुक्त गर्छौं भन्न सक्नुपथ्र्यो । कोरोना महामारीसँग जुध्न सक्ने कुरालाई बजेटमा प्राथमिकता दिनुपथ्र्यो । त्यो नभइकन परम्परागत ढंगले ठूलाठूला आयोजनाम बजेट विनियोजन गरिएको छ ।
स्पष्ट रुपमा प्रदेशको अर्थतन्त्र धराशायी हुँदै गएको छ । यसलाई कसरी रिभाइभ गर्ने, कसरी सुधार्ने भन्ने कार्यक्रमसहित बजेट विनियोजन हुनुपर्थ्यो । यो अपुरो राख्नुभएको छ ।

राहतको एउटा बृहत्तर प्याकेज ल्यायो भन्ने किसिमको मनोविज्ञान नै दिन सकेन । फेरि त्यही अपूर्ण आयो जसले गर्दा भोलि कार्यान्वयनमा समस्या आउँछ । विगतमा विभिन्न अनुदान दुरुपयोग भएका थिए । अहिले पनि कोरोनाको नाममा दुरुपयोग हुने देखियो ।

बजेट प्रयोगमै नआउने कागजको रकेटजस्तो आयो
हरिशरण आचार्य
सांसद, समाजवादी पार्टी

खासमा यो बजेट एउटा कानले सुनेर अर्को कानले उडाउने खालको थियो । हामीले बच्चामा कागजको रकेट बनाउँथ्यौं । त्यो रकेट एक पटक उडाएपछि फेरि खोज्न निस्किँदैथ्यौं । बरु नयाँ रकेट बनाउँथ्यौं । अहिलेको बजेटको प्रकृति हेर्दाखेरि मैले त्यस्तै अनुभूति गरिराखेको छु ।

सरकारले योजना बनाउँछ, निर्माण गर्छ । तर, त्यसलाई कार्यान्वयन गर्ने निकाय र संरचना बनाउँदैन । यसो हुँदा पटक पटक बजेट भाषण हुने, त्यसलाई कार्यान्वयन गर्न नसक्ने अनि बजेट खर्च हुन नसक्ने स्थिति देखिन्छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको ४२/४३ प्रतिशतमात्रै बजेट खर्च भएको छ ।

बजेटमा अनुत्पादक क्षेत्रका सबै बजेट कटौती गरेर उत्पादन क्षेत्रको अभिवृद्धि गरिने भनिएको छ । तर, बजेट ८÷१० करोड छ । त्यसले कति उत्पादन बढाउन सकिन्छ ? त्यसको वितरण प्रणाली कसरी बनाइन्छ ? यो कुरा बुझ्न जरुरी छ ।

विशेष परिस्थितिलाई सम्बोधन गर्ने बजेट आएन
पियारी थापा
सांसद, राष्ट्रिय जनमोर्चा

बजेट बढेर आए पनि वास्तविक रुपमा काम गर्न सक्ने गरी आएको छैन । पुरानै तरिकाले आएको छ । विशेष परिस्थितिलाई सम्बोधन गरेर आउनुपर्ने थियो, त्यो अनुसारको कार्यक्रम आएको छैन ।

कोभिडको लागि खर्च राख्नुभएको छ । तर, त्यसको पारदर्शिता छैन । त्यसलाई कसरी खर्च गर्ने भन्ने हिसाबले आएको छैन ।

कोरोनामात्रै ठूलो होइन अहिलेको स्थितिमा । कोरोनापछिको भविष्यमा के गर्न सकिन्छ भन्ने त्यो प्रकारको बजेट आएको छैन ।

अहिले बजेटमा समेट्नुपर्ने भनेको कोरोना पछाडिको मान्छेहरुलाई कसरी समेट्न सकिन्छ ? बेरोजगारी वृद्धि भइरहेको छ । त्यो कसरी हटाउन सकिन्छ भन्ने तत्कालका लागि आउने भनेकै रोजगारी सिर्जना हुने कार्यक्रम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment