Comments Add Comment

ठेकेदारलाई विकास समिति सभापतिको फोन : कोभिडको बाहना नपार्नू

१ असार, पोखरा । भदौरे, ठूलाखेला, रातोमाटातिरका स्थानीयले खहरेखोलामा पुल बन्ने सपना सुनेको वर्षौं भयो । तर, चुनाव नारा र नेताको आश्वासनले पुल नबनेपछि खहरेले बेला–बेला स्थानीयको ज्यान पनि लिइरह्यो ।

देशमा संघीयता आएपछि प्रदेश सरकारले बल्ल उनीहरुमो माग सम्बोधन गर्दै खहरेमा पुल हाल्ने योजना ल्यायो । पोखरा–२३ को खहरे खोलामा पुल शिलान्यास गर्दै गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने, ‘वर्षौंदेखिको सपना अब पूरा हुँदैछ । १५ महिनाभित्र तपाईंहरु पुलबाट सरर गाडीमा हिँड्न पाउनुहुन्छ ।’

ठेकेदार कम्पनीसँगको सम्झौताअनुसार यतिबेला मुख्यमन्त्रीले भनेझैं स्थानीयले सरर पुलबाट यात्रा गर्न पाउँथे । तर, निर्माणै पूरा हुने बेला काम आधा पनि नहुँदा स्थानीयलाई फेरि यो बर्खाको चिन्ता परेको छ ।

सम्झौताअनुसार जेठ महिनाभित्र पुलको निर्माण सकिएर गाडी गुडिसकेको हुनुपर्थ्यो । तर, सुरुमा अनेक बाहाना बनाएर निर्माण ढिला गरेको ठेकेदारलाई अहिले कोभिड–१९ को बाहाना मिलेको छ ।

‘खहरेमा पुल बनेको सपना देख्दादेख्दै मेरै उमेर ढल्किसक्यो । खोलाले कतिको ज्यान लिइसक्यो । यसपालीको बर्खामा पनि पुल बन्लाजस्तो छैन,’ स्थानीय दुर्गाप्रसाद दाहालले भने, ‘सुरुमा ठेकेदारले कामै गरेन अहिले कोरोनाको बाहाना मिलेको छ ।’

यतिबेला सकिइसक्नुपर्ने पुलको काम ठेकेदारकै कारण ढिला भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर नवीनचन्द्र घिमिरेले बताए ।

‘सुरुमा ढिलासुस्ती भयो । अहिले त देशभरि नै कोभिड–१९ ले ठप्प भइहाल्यो,’ सडक डिभिजन इकाइ कार्यालयका इन्जिनियर ले भने ‘अहिलेसम्म आधामात्र काम भएको छ ।’

एकातर्फ समयमै पुलको काम नसकिने चिन्ता स्थानीयलाई छ भने अर्कोतर्फ बर्खाको बाढीले आधा बनेको पुल नै बगाउने हो कि भन्ने डर पनि रहिरहेको उनले बताए । ठेकेदारले राम्रोसँग काम गर्ने हो भने ३/४ महिनामा काम सकिन्छ ।

९० मिटर लामो खहरे खोला बक्स ब्रिज प्रदेश सरकारले ६ करोड ७५ हजारमा बनाउन निलगिरि नेसनल जेभीलाई जिम्मा दिएको छ ।

कोभिडको बाहनामा लापरबाही नगर्नु : सभापति कोइराला

ढिलासुस्ती तथा लापरबाही भएको गुनासोपछि गण्डकी प्रदेश सभा अर्थ तथा विकास समिति सभापति दीपक कोइराला खहरे खोला पुल निर्माणस्थल पुगे । प्राविधिकसहित निर्माणस्थल पुगेका कोइरालाले पुलको यथार्थ बुझे ।

विकास समितिले ठेकेदारलाई पनि यथार्थ जानकारी दिन निर्माणस्थल बोलाएको थियो । निर्माणस्थल नआइ उम्किएपछि ठेकेदार कम्पनीकावसन्तकुमार लामालाईविकास समिति सभापति दीपक कोइरालाले फोन लगाए ।

‘तपाईंले यो जेठभित्रै सक्नुपर्ने काम के कारणले झण्डै आधामात्र भयो ?’ सभापति कोइरालाले टेलिफोनमा सोधे । ठेकेदार लामा अक्मकिए । फेरि कोइरालाले नै थपे, ‘समयमै काम सकिएन भने तपाईंलाई कारबाही हुन सक्छ ।’

ठेकेदार लामाले सुरुमा सामान अभाव भएको र अहिले कोरोनाले असर गरेका कारण कामले गति लिन नसकेको बताए ।

विकास समिति सभापति कोइरालाले पहिलेको अनुगमन समितिजस्तो ठानेर हेलचेक्¥र्याईं नगर्न ठेकेदारलाई आग्रह गरे । ‘यो अरु समितिजस्तो होइन । तपाईंले गतिलो काम गर्नुभएन भने कारबाहीका लागि सिफारिस गर्छौं । हामी नयाँ ब्यवस्थामा छौं ।

नजिकबाट अनुगमन गर्छौं’ कोइरालाले भने, ‘पहिले पनि तपाईंको काम चित्तबुझ्दो नभएको गुनासो छ । अब कोभिडको बाहाना बनाएर लापरबाही नगर्नुहोला ।’

सामानको अभाव र कोभिडका कारणले समस्या उत्पन्न भए पनि काममा लापरबाही नगरी सक्ने मौका दिन ठेकेदार लामाले आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment