
२ असार, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २१ मा एक घरको भित्रैबाट खनेर खानेपानीको पाइप बिछ्याइएको छ । पार्वतीपुरका ९५ वर्षीया दृष्टिविहीन वृद्धाको कोठाको भुइँ र भित्ता भत्काएर खानेपानीको पाइप बिछ्याइएको हो ।
घरको दायाँ–बायाँ खाली जग्गा रहे पनि सुत्ने कोठाभित्र गहिरो खाल्डो खनेर र भित्ता नै फोडेर खानेपानीको पाइप बिछ्याइएको छ ।
वडाध्यक्ष चित्रसेन अधिकारी आफैँ संयोजक रहेको समितिले पार्वतीपुरमा खानेपानीको पाइप बिछ्याउने काम गरिरहेको छ । सो घरमा दृष्टिविहीन वृद्धा र अस्वस्थ रहेका उनका ५२ वर्षीय छोरा पदमराज अधिकारी बस्दै आएका छन् ।
खानेपानीको पाइप बिछ्याउने बेलामा घरको गाह्रो नै भत्काइएपछि घरसमेत भत्किने जोखिममा परेको छ ।
खानेपानीको पाइपलाइन विस्तारको क्रममा घरको दायाँतर्फ थोरै भाग घुमाएको भए घर खन्नुपर्ने अवस्था नआउने स्थानीय तथा अधिवक्ता नारायण गिरीले बताए ।
वडा नम्बर २१ का वडाध्यक्ष अधिकारीले आफूबाट गल्ती भएको भन्दै सामाजिक सञ्जालमा आश्चर्य व्यक्त गरेका छन् । यो घटना कसरी भयो भनेर आफैँलाईसमेत थाहा नभएको र सामाजिक सञ्जालमा फोटाहरू आएपछि मात्रै थाहा पाएको वडाध्यक्षले बताएका छन् ।
प्रतिक्रिया 4