+
+
Shares

सुदूरपश्चिमको बजेटबाट निजी क्षेत्र आशावादी

भानुभक्त आचार्य भानुभक्त आचार्य
२०७७ असार २ गते १६:२८

२ असार, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७–७८ को ३३ अर्ब २८ करोड ४८ लाखको बजेटलाई लिएर यहाँका निजी क्षेत्र आशावादी देखिएका छन् ।

आगामी आर्थिक बर्षको बजेटमा शिक्षा, स्वास्थ्यसँगै रोजगारी र उद्योगलाई पनि प्राथमिकता दिएको भन्दै यहाँ व्यवसायीले अब बजेट कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

‘शिक्षा स्वास्थ्य, उर्जासँगै उद्योग र कलकारखाना पनि प्राथमिकतामा परेका छन्’ कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने, ‘यसबर्षको बजेट सन्तुलित छ । अहिलेसम्म हामी उत्सहित छौँ । तर, कार्यान्वयन पक्ष फितलो हुनु हुँदैन ।’

सोमबार सुदूरपश्चिम सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले चालुतर्फ १४ अर्ब १८ करोड ७८ लाख र पुँजीगततर्फ १६ अर्ब ७२ करोड ८४ लाख रुपैयाँको आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

बजेटमा स्वास्थ्य क्षेत्रको सुधारका लागि मात्रै ३ अर्ब २६ करोड ३३ लाख रुपैयाँ विनियोजन गरिएको छ । कोरोना महामारीका कारण रोजगारी तथा आयश्रोत गुमाएका प्रदेशबासीलाई रोजगारीको व्यवस्था गर्ने गरी कृषि कार्यक्रम र पूर्वाधार विकासका योजना बजेटमा समेटिएका छन् ।

एक स्थानीय तह एक औद्योगिक ग्रामको लागि प्रदेश सरकारले ५ करोड रुपैयाँ विनियोजन गरेको छ । हरेक निर्वाचन क्षेत्रमा २ वटा नवीन उद्योग सञ्चालन गर्न ३ करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

अध्यक्ष कुँवरले प्रदेशको बजेट ठूलो नभएकाले धेरै अपेक्षा नसकिने भए पनि उद्योग सञ्चालनको वातावरण बनाउने र केही मात्रामा रोजगारी सिर्जना गर्ने आशा गरे ।

‘३३ अर्ब ठूलो रकम होइन । त्यसबाट धेरै ठूला कुरा समेट्न पनि कठिन हुन्छ’ उनी भन्छन्, ‘वस्तुगत रुपमा समेटिएका बिषय राम्रा छन् ।’

रोजगारी सिर्जना गर्न भन्दै विनियोजन भएको बजेट कार्यान्वयनमा इमान्दारिता देखिनुपर्ने उनले बताए ।

बजेटमा प्रत्येक स्थानीय तहमा लघु तथा घरेलु उद्योग स्थापना गर्न ९ करोड १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

स्वदेश तथा विदेशमा रोजगारी गुमाएका व्यक्तिहरुको ज्ञान, सीप र क्षमताको प्रयोग गरी कृषि तथा गैर कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने र त्यसका लागि बेरोजगार कोषबाट बिना धितो क्रृण दिने व्यवस्था बजेटमा गरिएको छ ।

सरकारले उद्योग स्थापनामा प्राथमिकता दिएको कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुस्करराज ओझा बताउँछन् ।

‘बजेट ठीक छ । तर, कार्यान्वयन पक्ष बलियो बनाउन आवश्यक छ । बजेट जति राम्रो भए पनि कार्यान्वयन भएन उपलब्धी हुँदैन’ उनले भने, ‘हिजोका दिनमा पनि बजेट नराम्रो आएको होइन तर, बजेट अनुसार काम हुन सकेन ।’

घोडाघोडी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष होम आचार्यले पनि बजेट कार्यान्वयन पक्ष बलियो बनाउनुपर्ने बताए । ‘यस पटकको बजेटमा सबै बिषय परेका छन् । तर, नीति तथा कार्यक्रम र बजेट भन्दा त्यसको कार्यान्वयन पक्ष बलियो हुन आवश्यक छ’ उनले भने ।

एक स्थानीय तह एक कृषि उपज, नमूना कृषि गाउँ आफैं बनाऊँलगायतका केही विगतकै कार्यक्रम बजेटमा दोहोरिएका छन् । कोरोना भाइरसबाट प्रभावितलाई लक्षित गर्दै रोगबाट बचाऔँ, भोकबाट जोगाऔँ अभियान, कामका लागि खाद्यान्न कार्यक्रम पनि बजेटमा समेटिएको छ ।

अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले बजेटमा संकटमा परेका व्यवसायीहरुको उत्थान गर्ने कार्यक्रम नभएको टिप्पणी गरे । ‘लकडाउनले गर्दा व्यवसाय धरापमा परेको छ । ती व्यवसाय प्रवर्द्धन गर्न सरकार गम्भीर देखिएन’ उनले भने ‘संकटमा परेकाहरुलाई राहत प्याकेज नभए पनि अरु विषयमा ठीकै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?