२ असार, काठमाडौं । म्याच फिक्सिङ आरोपमा सर्वोच्च अदालतबाट सफाइ पाएका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापाले ढिलै भए पनि सत्यको जित भएको प्रतिक्रिया दिएका छन् ।
सँगसँगै उनले न्यायको सिलसिलामा बितेको समय, आफूहरूले विगतमा गरेको मेहनत र परिश्रमको कसले मूल्याङ्कन गरिदिने भनी प्रश्न पनि गरेका छन् ।
म्याच फिक्सिङको आरोपमा सागर थापासहित ४ खेलाडी, एक प्रशिक्षक र फिजियोथेरापिस्ट गरी ६ जना २०७२ साल असोज २७ गते पक्राउ परेका थिए । त्यसपछि उनीहरू विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) को आजीवन प्रतिबन्धमा परेका छन् ।
झण्डै ५ वर्षपछि सफाइ पाएपछि सागरले फेसबुकमा लेखेका छन् ‘सत्यको जित भयो सम्मानित सर्वोच्च अदालतबाट पनि न्याय पाइयो आज । समय, मेहनत परिश्रमको मूल्याङ्कन कसले गर्दिने ? सरकारले, एन्फाले ?’
नेपालले २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर जानीजानी हारेको भन्दै सागरसहित खेलाडीहरू सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री, पूर्वखेलाडी तथा प्रशिक्षक अञ्जन केसी र फिजियोथेरापिस्ट डेविज थापालाई प्रहरी पक्राउ गरेको थियो।
उनीहरूले प्रहरीसामु फिक्सिङ गरेको स्वीकार गरे पनि अदालतमा इन्कारी बयान दिएका थिए । उनीहरूले खेल मिलेमतो गर्दा प्रतिखेल ५ हजार डलर र त्यसभन्दा बढी रकम लिने गरेको प्रहरीको दाबी थियो ।
उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर अभियोग लगाइएको थियो । सर्वोच्चअघि उनीहरूलाई विशेष अदालतले पनि सफाइ दिएको थियो ।
प्रतिक्रिया 4