Comments Add Comment

भक्तपुर जिल्ला फुटबल संघ खारेज, टासी घले फेरि एन्फाको मानार्थ अध्यक्ष

२ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले जिल्ला फुटबल संघ भक्तपुरको हालको कार्यसमिति प्रतिस्थापन गरी अर्को तदर्थ समिति गठन गरेको छ ।

हालको समितिले विधान विपरीत गतिविधि गरेको भन्दै मंगलबार बसेको एन्फा कार्यसमितिको बैठकले किशोर हेक्का अध्यक्ष रहेको १३ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।

गौतम सुखजुको नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघले एन्फाको छानबिन समितिले दिएको सुझाव र एन्फाको निर्देशन नियमावली र कानुनी प्रक्रिया समेतको उल्लंघन गरेर जिल्ला लिग सञ्चालन गरेको एन्फाको आरोप छ ।

एन्फाको विधान र नियमावली अनुसार हुनुपर्ने क्लब दर्तासमेत नभएको र क्लब संख्यासमेत नपुर्‍याई जिल्ला संघको गतिविधि सञ्चालन गरेको, एन्फाले पठाएको प्रतियोगिता नियमावली आफुखुशी सच्याई आफू अनुकुलको रकम उल्लेख गरी रकम उठाई लिग सञ्चालन गरेको पनि आरोप लगाइएको छ ।

‘संघको विधानको धारा १४ को उपधारा १को (क) र (ट) तथा धारा २१ को उपधारा ३ को विपरीतको गतिविधि गरेको देखिएको हुँदा एन्फाको निर्णय निर्देशनहरु कार्यन्वयन नगरेकोले विधानको धारा ५४ अनुसार एन्फा सदस्य भक्तपुर जिल्ला फुटबल संघको कार्य समितिलाई प्रतिस्थापन गरी सोको स्थानमा एक नयाँ भक्तपुर जिल्ला फुटबल संघको तदर्थ समिति गठन गर्ने’ एन्‍फाको निर्णयमा भनिएको छ ।

टासी घले फेरि मानार्थ अध्यक्ष

टासी घले फेरि अखिल नेपाल फुटबल संघ एन्फाको मानार्थ अध्यक्ष बनेका छन् । एन्फा कार्यसमितिको मंगलबार बसेको आपतकालीन बैठकले घलेलाई मानार्थ अध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको हो ।

घलेलाई एन्फा फर्काउनको लागि सोमबारै एन्फाको आपतकालिन समितिको बैठक बस्ने तय थियो । तर समितिको पाँच सदस्यमध्ये एन्फाका वरिष्ठ उपाध्यक्ष रहेका पंकज विक्रम नेम्वाङ स्वास्थ्य समस्याका कारण अनुपस्थित भएपछि बैठक स्थगित भएको थियो । त्यसपछि एन्फाले मंगलबार कार्यसमितिको आपतकालीन बैठक बोलाएर घलेलाई फर्काउनेलगायतको निर्णय गरेको हो ।

कर्माछिरिङ शेर्पाको वर्तमान नेतृत्वले घलेलाई यसअघि पनि मानार्थ अध्यक्षमा नियुक्त गरेको थियो  । तर आन्तरिक विवादपछि फेरि हटाएको थियो ।

राष्ट्रिय टिमको प्रशिक्षण अर्को महिनादेखि

एन्फाको बैठकले नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अर्को महिनादेखि सुरु गर्न सम्बन्धित निकायमा पत्राचार गर्ने निर्णय पनि गरेको छ ।

सन् २०२० को अक्टोबर ८ देखि नेपालमा हुने विश्वकपको दोस्रो चरणको छनोट खेलका लागि आगामी जुलाई महिनाबाट नै प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरिएको एन्फाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  उक्त प्रशिक्षण सञ्चालन गर्न एशियाली फुटबल महासंघको निर्देशन अनुरुप सम्बन्धित निकायहरु राष्ट्रिय खेलकुद परिषद, सम्बन्धित स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट समेत आवश्यक स्वीकृति लिने निर्णय एन्फाले गरेको हो ।

खेलाडी बीमा

एन्फाले नेपाली राष्ट्रिय फुटबल टिमका महिला तथा पुरुष टिमका ३५-३५ जना गरी ७० जना खेलाडीको कोभिड–१९ को विमा गर्ने निर्णय पनि गरेको छ ।

छानविन समितिमा खड्का

यस्तै बैठकले कास्की जिल्ला फुटबल संघका अध्यक्षका विषयमा छानबिन गर्न गठित समितिमा रत्न कुमार श्रेष्ठको स्थानमा उपाध्यक्ष वीरबहादुर खड्कालाई नियुक्त गरेको छ । श्रेष्ठले कोभिड– १९ को महामारी र व्यक्तिगत कारण देखाउँदैराजीनामा दिएपछि छानबिन समितिको संयोजकमा खड्का चयन भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment