Comments Add Comment

एनआरएन माल्टा कार्यसमितिको राजीनामा स्वीकृत, अनुशासन समितिबाट कारवाही हुने

बार्सिलोना । एनआरएनए माल्टाका पदाधिकारी वा सदस्यहरुबारे कारवाहीको निर्णय अनुशासन समितिले गर्ने भएको छ । शनिबार सम्पन्न संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय बैठकले कार्यसमितिको राजीनामा स्वीकृत गर्दै कारबाहीबारे निर्णय गर्न अनुशासन समितिलाई सिफारिस गरेको हो ।

राष्ट्रिय समन्वय परिषद् माल्टाका पदाधिकारीहरु गैरकानुनी रुपमा श्रमिकहरु ल्याउने कार्यमा कुनै न कुनै रुपमा संलग्नता रहेको प्रतिवेदन छानविन समितिले बुझाएपछि संघको अन्तर्राष्ट्रिय सचिवालयको बैठकमा छलफल भएको थियो । संघका कुनै पदाधिकारी वा सदस्यहरुले संघलाई नोक्सान पुराउने खराब आचरण गरेको पाइएमा निजलाई गरिने कारबाहीको निर्कयौल अनुशासन समितिले गर्ने विधानको दफा ३० मा उल्लेख छ । डा. अम्बिका अधिकारी संयोजक रहेको ५ सदस्यीय अनुशासन समिति छ ।

‘माल्टाका पदाधिकारी वा सदस्यहरुलाई के कस्तो कार्वाही गर्ने त्यसको सिफारिस गर्न अनुशासन समितिलाई अनुरोध गर्ने र अध्ययन समितिबाट प्राप्त प्रतिवेदन र प्रमाणहरु अनुशासन समितिलाई पेश गर्दै समितिले अनुशासन समितिको कार्यव्यवस्था सम्बन्धि नियमावली अनुसार प्रकृया अगाडि बढाउनेछ,’ संघद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

बैठकले राष्ट्रिय समन्वय परिषद् माल्टाका सम्पूर्ण पदाधिकारीहरुले दिएको राजीनामा स्विकार गर्दै माल्टामा नयाँ राष्ट्रिय समन्वय परिषद् गठन प्रकृया अगाडि बढाउन केन्द्रीय महासचिव डा. हेमराज शर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ ।

‘माल्टामा नेपाली अलपत्र, एनआरएनएका पदाधिकारी नै एजेन्टको धन्दामा’ शीर्षकमा अनलाइनखबरले समाचार छापेपछि एनआरएनए केन्द्रले नै छानबिनको प्रक्रिया अघि बढाएको थियो । एनआरएनए युरोप संयोजक नारायण आचार्यको नेतृत्वमा गठित छानबिन समितिले गतसाता अन्तर्राष्ट्रिय सचिवालयमा प्रतिवेदन बुझाएको थियो ।

छानविनमा के देखियो त ? माल्टा छानविन समितिका सदस्य रामशरण सिंखडाले अनलाइनखबरलाई दिएको जानकारी यस्तो छ–

भौतिकरुपमा त्यहाँ जान नसके पनि प्रविधिलाई सदुपयोग गर्दै भर्चुअलरुपमा सरोकारवालाहरुसँग हामी सम्पर्कमा रह्यौं । सकभर आफ्नो क्षमता र स्रोतले भ्याएसम्म गहिरो अध्ययन गर्यौं गैरआवासीय नेपाली संघभित्रका बिभिन्न तह र तप्काका साथीहरु, पंजीकृत सदस्यहरु, नागरिक समाजका अगुवाहरु, जो साथीहरु पीडित हुनुहुन्छ उहाँहरुसमेतको छलफलका आधारमा प्रतिवेदन तयार गरेका छौं । जसले मुख्यत दुईवटा कुराहरुलाई आत्मसाथ गरेको पाइन्छ । पहिलो, एनसीसी माल्टाका अधिकांश  साथीहरु कुनै न कुनै प्रकारले संग्लग्नता रहेको पाइयो । चाहे त्यो साथि ल्याउने सवालमा होस्, चाहे आफन्त ल्याउने सवालमा होस्, चाहे नजिकका प्रियजनहरुलाई त्यहाँ ल्याउँदाखेरि उहाँहरुको संग्लग्नता भेटियो ।

रामशरण सिंखडा

अर्कोतर्फ केहि साथीहरु हुनुहुन्छ जो पटक्कै संग्लग्न हुनुहुन्न । त्यसैले त्यहाँको घटना प्रकृति हेरेर निर्णय गर्न जरुरी छ । विद्यमान मौजुदा समितिको विधानले केन्द्रीय कार्यसमितिलाई कारवाही गर्ने अधिकार दिएको छैन । त्यसैले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले कार्यसमितिको राजीनामा स्वीकृत गर्दै कारवाहीबारे निर्णय गर्न अनुशासन समितिलाई सिफारिस गरेको हो ।

कोहि साथीहरुले श्रीमती मात्र ल्याउनु भएको छ । तर कोही साथीहरुले केही न केही मात्रामा आर्थिक संग्लग्नता देखाएर आफन्तहरु, साथिभाइहरु ल्याउनु भएको छ । प्रकृति फरक–फरक भएपनि अधिकांश साथीहरुको कुनै न कुनै प्रकारको संलग्नता रहेको प्रष्ट नै हो ।

जो साथीहरुलाई छानविनको दायराभित्र समेटेका थियौं । उहाँहरुको नाम र वयानको सारांशलाई उतारेर प्रतिवेदनको बिभिन्न अनुसूचिमा राखेका छौं । त्यसको भिडियो कपी पनि सम्प्रेषण गरेका छौं । ताकि अनुशासन समितिलाई सहज होस् भन्ने हिसावले पठाएका हौं । ती सामाग्रीहरुले कुन प्रकृतिको कारवाहीमा जान उचित हुन्छ भनेर निर्णय लिन सहज हुनेछ ।

सिंगो कार्यसमितिलाई नै छानविनको दायरामा ल्याउन सहज हुने भएकाले हामीले सुझाव दिएको आधारमा उहाँहरुले सामूहिक राजिनामा गर्नुभएको हो । राजिनामाको सवाल सामूहिकता हो । त्यहाँ कसैले गर्ने, कसैले नगर्ने गर्दाखेरि त्यसले राम्रो सन्देश जाँदैन । जो संग्लग्न्न हुनुहन्न उहाँहरुले पनि राजीनामा गर्नु भएको छ ।

म तपाईंलाई के आश्वस्त पार्न चाहान्छु भने, अहिलेको नेतृत्व दुईवटा कुरामा सचेत छ । आर्थिक पारदर्शिताको हिसावमा र मानव ओसारपसारको लान्छनाप्रति सचेत तरिकाले अघि बढेको छ । उहाँहरुले चाहेको भए यही कार्यसमितिलाई अर्को व्यवस्था नहुँदासम्म काम गर्न अख्तियारी दिन सक्नुहुन्थ्यो । तर त्यो दिनुभएको छैन । त्यसबाट के कुराको इंगित हुन्छ भने अहिलेको नेतृत्व निर्मम तरिकाले यस्ता कुराहरुमा सचेततापूर्वक पाइला चाल्दै छ । यो उपर अनुशासन समितिको काम कारवाही अगाडि बढेकाले घटनालाई छामछुम पार्ने वा आलटाल गर्ने भन्ने कुनै गुन्जायस नै देखिदैन ।

सबैभन्दा कान्छो र सानो एनसीसीलाई किन चलाएको भन्ने प्रश्न प्रतिप्रश्नहरु पनि छानविनको क्रममा नआएका होइननन् । तर हामीलाई दिएको दायराभित्र रहेर काम गरेका हौं । माल्टाको मात्र अख्तियारी थियो । त्यसकारण माल्टामा सुरु गर्यौं । अहिलेको नेतृत्वले के कुराको महसुस गरिरहेको छ भने यो सिक्काको अर्को पाटो पनि हो ।

हिँजोसम्म कुनै सानो तहमा बसेर गैरआबासीय नेपाली संघको आवरणमा यो काम गर्नलाई साथीहरु प्रोत्साहित र इच्छुक हुन्थे भने अब एकपटक सोच्नुहुन्छ । योचाहिँ साँच्चै कारबाहीको दायरामा आउने रहेछ, मिडियाले पनि यसलाई राम्रैसँग उठान गर्ने रहेछ भनेर जो कोहि पनि यो कुरा गर्नुअघि अब धेरैपटक सोच्नुहुन्छ । माल्टाको छानविनले यो कुराको सचेत गराउन सफल भएको छ । साना माछा हुन् वा ठूला, अब कोहि पनि गैरकानुनी काममा संग्लग्न हुनुहुन्छ भने उहाँहरु कानुनी दायरामा आउनका लागि बाध्य हुनुहुन्छ ।

(छानविन समितिका सदस्य सिंखडासँगको कुराकानीमा आधारित ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment