Comments Add Comment

विदेशी मुद्रा सञ्चिती १२ खर्ब नाघ्यो, एक वर्षको आयात धान्न सक्ने

३ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को १० महिनामा विदेशी विनिमय सञ्चिती १२ खर्ब रुपैयाँ नाघेको छ । २०७६ साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा विदेशी विनिमय सञ्चित बढेर १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

गत साउनमा विदेशी विनिमय सञ्चिती १० खर्ब ३८ अर्ब ९२ करोड रुपैयाँ रहेको थियो ।

राष्ट्र बैंकले १० महिनाको तथ्यांकमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे विश्लेषण गर्दै विदेशी विनिमय सञ्चितीले १२.२ महिनाको वस्तु आयात र १०. ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने बताएको छ ।

‘आर्थिक वर्ष २०७६/७७ को दश महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिती १२.२ महिनाको वस्तु आयात र १०.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’ राष्ट्र बैंकद्वारा जारी प्रतिवेदनमा भनिएको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिती २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० अर्ब २५ करोड पुगेको राष्ट्र बैंकले बताएको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिती २०७६ असार मसान्तमा ९ खर्ब २ अर्ब ४४ करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १० खर्ब ७५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती २०७६ असार मसान्तमा १ खर्ब ३६ अर्ब ४७ करोड रहेकोमा २०७७ वैशाख मसान्तमा १ खर्ब ६० अर्ब ७ करोड पुगेको छ ।

२०७७ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितीमा भारतीय मुद्राको अंश २४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment