Comments Add Comment

मंगलबारे अस्पतालको नाम मदन भण्डारी राख्न लागेपछि विरोध

३ असार, विराटनगर । प्रदेश १ सरकारले मोरङको उर्लाबारी– ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालको नाम परिवर्तन गर्न लागेपछि स्थानीय वासिन्दा आन्दोलनमा उत्रिएका छन् ।

प्रदेश १ को बजेटमा उक्त अस्पताललाई ट्रमा सेञ्टर बनाउने र नाम मदन भण्डारी अस्पताल राख्ने विषय समावेश भएपछि स्थानीयले मुख्यमन्त्री शेरधन राईको पुत्ला जलाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

‘मदन भण्डारीको नाममा मंगलबारे अस्पतालको पहिचान मेट्न खोजियो’ आन्दोलनको नेतृत्व गरिरहेका नेपाली कांग्रेसका नगर सभापति वीरबल थापाले भने, ‘मंगलबारेको आफ्नै विशेषता छ । नेताको नाम जोडेर मंगलबारेको पहिचान मेट्न पाइन्न भन्ने हाम्रो माग हो ।’

१ असारमा प्रस्तुत बजेटमा मंगलबारे अस्पताललाई प्रदेश गौरवको आयोजनामा राख्दै अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

‘जताततै नेताको नाम नजोडियोस’ थापा भन्छन् ‘मंगलबार नै नाम राख्दा के विग्रन्छ र !’

नेपाली कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक केदार कार्की मदन भण्डारीको नाम जताततै जोडेर प्रदेश सरकारले बदनाम गर्न खोजेको गुनासो गर्छन् । ट्रमा सेन्टर बनाउने निर्णय स्वागत योग्य भए पनि नाम परिवर्तनमा आफ्नो पार्टीको असहमति रहेको उनले बताए । सरकारले आफ्नो निर्णय नसच्याए सडक र सदनमा संघर्ष गर्ने उनले बताए ।

नेपाली कांग्रेस मोरङ सभापति डिगबहादुर लिम्बूले अस्पताल स्तरोन्नती गर्दा नेताको नाम नजोड्न आग्रह गरे ।

‘नाममा राजनीति नगरौं, निर्णय स्वागत गरौं

अस्पतालको नाम परिवर्तन गरेपछि नेपाली कांग्रेसहितका पार्टीले विरोध जनाइरहेका बेला नेकपा मोरङले आन्दोलनको औचित्य नभएको बताएको छ ।

‘मंगलबारेमा ट्रमा सेन्टर निर्माण हुनु प्रदेशका लागि गौरवको विषय हो’ नेकपा मोरङका सचिव गणेश उप्रेती सुशील भन्छन्, ‘नामकै विषयमा विरोधको कुनै अर्थ छैन ।’

नाम मात्र मदन भण्डारीको रहने बताउँदै उनले देशलाई योगदान गरेको व्यक्तिको नाममा अस्पतलको नामाकरण गर्दा विरोध गर्न आवश्यक नरहेको बताए ।

मंगलबारे अस्पताल नजिकै मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको कार्यालय छ । केही दिनअघि प्रतिष्ठान मातहत ल्याएर सञ्चालन गर्ने हल्ला चलेपछि स्थानीय असन्तुष्ट बनेका थिए ।

‘ट्रमा सेन्टर र प्रतिष्ठानबीच कुनै सम्बन्ध होइन र छैन भनेर हामीले स्थानीयलाई बुझाएका छौं’ उप्रेतीले भने ‘ट्रमा सेन्टर बन्दा व्यावसाय गुम्ने भन्दै स्वार्थ समूह पनि आन्दोलनमा लागेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment