+
+
Shares

ग्यारेजमा गाडी थन्काएर अर्थतन्त्र उँभो लाग्दैन

‘सरकारले बेवास्ता गर्‍यो भने चाबी बुझाउने अवस्थामा पुग्छौं’

सरोज सिटौला (महासचिव, यातायात व्यवसायी राष्ट्रिय महासंघ) सरोज सिटौला (महासचिव, यातायात व्यवसायी राष्ट्रिय महासंघ)
२०७७ असार ४ गते ८:१९

हामीले सार्वजनिक यातायात बन्द गरेर राखेको तीन महिना बित्यो । चैत ११ देखि रोकिएका हाम्रा बसहरू कति ग्यारेजमा त कति खुला चौर र बाटोघाटोमा छन् । हामी कोरोनाव्याधि नियन्त्रणमा सरकारको सहयोगी बन्न चाह्यौं र सरकालाई त्यसैअनुसार सघाइरहेका पनि छौं ।

हामीले सरकारलाई ८३ दिन दिइसक्यौं । रोग नियन्त्रणका लागि विश्वमा सार्वजनिक सवारी धनीहरूले सरकारलाई यति लामो समय दिनु परेको सायदै होला । हामीले धैर्य गरेर सरकारका कुरा सुन्यौं, निर्देशन मान्यौं, सहयोग अझै जारी राखेका छौं ।

सरकारलाई सघाउँदा–सघाउँदै अबचाहिँ आफैं खाडलमा परिसक्यौं । हाम्रा गाडीका इन्जिन बसिसके । ब्याट्री बिग्रिसके, पार्टपूर्जामा खिया लागेसके । थन्किएका ठूला गाडी निकाल्नुअघि अब करिब एक लाख खर्चनुपर्छ । ग्यारेजहरूमा प्राविधिक पनि छैनन् । घर फर्किएकाहरू उतै छन् ।

हामीले अझै कतिन्जेल गाडीहरू थन्काएर राख्ने हो ? सरकारले ३ महिना रोग नियन्त्रणमा काम गरेर किन जनतातो रोजीरोटीको बाटो खुला गर्न सकेन ? प्रश्नहरू छन् ।

गाडी नचेलेपछि यसमा आश्रित मजदुरहरू दैनिक भत्ताविहीन भएका छन् । उनीहरूको चुलो बल्न छाडिसक्यो । अहिले ट्रक–ट्यांकरजस्ता केही मालवाहक गाडी र टिपर चलेका छन् । यात्रुवाहक सवारी धनीहरू आर्थिक रुपमा पूरै थला परिसकेका छन् ।

हाम्रा गाडी कहिलेकाहीँ उद्धारको काममा मात्र चलेका छन् । सरकारलाई अप्ठ्यारो पर्दा यसरी हामी एम्बुलेन्स पनि भएका छौं, तर त्यसबाट मिल्ने लाभ ज्यादै सानो र सीमित व्यवसायीको लागि मात्रै छ । सिङ्गो सार्वजनिक यातायात क्षेत्र समस्याको पहाडले थिचिएको छ ।

हामीले अझै कतिन्जेल गाडीहरू थन्काएर राख्ने हो ? सरकारले ३ महिना रोग नियन्त्रणमा काम गरेर किन जनतातो रोजीरोटीको बाटो खुला गर्न सकेन ? प्रश्नहरू छन् ।

यो क्षेत्रमा करिब ६० प्रतिशत स्वरोजगार मजदुर छन् । उनीहरू आफ्नो सवारी आफैँ चलाउँछन्, त्यसबाट आएको पैसाले घर व्यवहार धान्छन् । सबै सवारी रोकिएपछि उनीहरूको घरमा भोकमरी सुरु हुन लागिसक्यो ।

हाम्रो अनुमानमा सार्वजनिक यातायात क्षेत्रमा करिब १० खर्ब लगानी भएको छ । यसमा अधिकांश बैङ्कको ऋण छ । अहिले यातायात व्यवसायी र स्वरोजगार मजदुरहरू बैङ्कको किस्ता र ब्याज कसरी तिर्ने भन्ने चिन्ता छ । सवारी नचलेर बेखर्ची भएको मान्छेले कसरी बैङ्कलाई तिर्ने ?

हामीले बैङ्क ब्याजमा सहुलियत चाहिन्छ भनेको धेरै भयो । यसबीचमा बजेट पनि आयो । सरकारलाई थाहा छ— कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन र यातायात हो । हाम्रा लागि सरकारले के योजना ल्यायो त ? केही ल्याएन । ब्याजमा सामान्य छुट दिएर, बुझाउने म्याद केही पर सारेर समस्या समाधान हुन सक्ने अवस्था छैन ।

यो महामारी कहिले साम्य हुन्छ, टुङ्गो छैन । अवस्था सामान्य भएपछि पनि तुरुन्तै पुरानो अवस्थामा फर्किन सकिन्न । गाडीभित्र सामाजिक दुरी, स्वास्थ्य सुरक्षाको कुरा आएको छ । त्यसैले हामीलाई पर्यटन क्षेत्रलाई जस्तै राहत र पुनः उद्धारको कार्यक्रम चाहिन्छ ।

हामी सरकारलाई अभिभावकको रुपमा हेरिरहेका छौं । सरकारले बेवास्ता गर्‍यो भने हामी चाबी बुझाउने अवस्थामा पुग्छौं । हामीलाई परेको समस्या फुकाउन बैङ्क ब्याज, ऋणको पुनः तालिकीकरण र अन्य पक्षबाट राहतमा हेरिनुपर्छ । कागजपत्रको नवीकरणमा जरिवाना र कर नलाग्ने व्यवस्थाहरू हुुनपर्छ ।

यो त हाम्रो तत्कालको समस्याका कुरा भए । भविष्यमा हामी सेवामा आउनै पर्छ । बहुसंख्यक नेपाली ‘भुइँमान्छे’ हुन् । उनीहरूसँग निजी गाडी छैन । सार्वजनिक सवारी नचल्दा उनीहरू पैदल हिँड्दैछन् ।

सरकारले जोर–बिजोरका आधारमा निजी नम्बर प्लेटका गाडी चल्न दिएको छ, ठिकै छ । तर, निजी सवारी मात्र चलेर देशको अर्थतन्त्र उकासिएला ? सडकमा हिँडिरहेका बहुसंख्यक नागरिकको जनजीवन सहज होला ? कोरोना फैलाउने यी भुइँमान्छे मात्र हुन् ? अब सरकारले सोच्नुपर्छ ।

लकडाउन खुकुलो भएको छ । व्यापार–व्यवसाय सञ्चालनमा आएका छन् । अर्थतन्त्रले केही राहत महसुस गरेको छ । तर पसल खुलेपनि ग्राहक छैनन्, किन ? किनकि, बजारसम्म आउन सर्वसाधारणसँग आफ्नो गाडी छैन ।

त्यसैले हामीले भन्दै आएका छौं– सार्वजनिक सवारी अर्थतन्त्रको रक्तसञ्चार प्रणाली हो । यसलाई सरल गरिएन भने अर्थतन्त्र सप्रँदैन । यसलाई लामो समय बन्द गरियो भने देशको अन्य क्षेत्रमा पनि नकारात्मक प्रभावहरू देखिन्छन् । कति प्रभाव अहिले नै देखिएका छन्, कति दीर्घकालमा देखिनेछन् ।

भक्तपुरका साना व्यापारीलाई काठमाडौंको महाबौद्धको होलसेलमा समान किन्न आउन समस्या छ । लगनखेलमा पसल चलाउने व्यापारीलाई चापागाउँबाट आउन समस्या छ । कार्यालयहरू खुलेका छन्, तर सेवा दिने र लिनेहरू सार्वजनिक सवारी चढ्न पाएका छैनन् । यस्ता समस्या अब कसरी हटाउने ? यसमा सबैपक्ष बसेर गृहकार्य हुनुपर्छ ।

यहीबेला हो सरकारले अभिभावकत्व देखाउने । केही क्षेत्र बामे सर्न खोज्दैछ, अब अघि बढ्न र उठेर हिँड्न सघाउने गरी हात र साथ दिने काम सरकारको हो ।

सरकारलाई थाहा छ— कोरोनाका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन र यातायात हो । हाम्रा लागि सरकारले के योजना ल्यायो त ? केही ल्याएन ।

कोरोना तत्कालै नियन्त्रणमा आउने अवस्था देखिएन । अब लड्दै अघि जानुको विकल्प छैन । अब सरकारले सोचोस्, कति दिन पूर्ण निषेध गर्ने ?

सरकारले सार्वजनिक सवारी सञ्चालनका लागि एउटा कार्यविधि बनायो भन्ने सुनेका छौं । विना छलफल बनाएकाले त्यो उपयुक्तखालको नहुने सम्भावना बढी छ । मुख्य कुरा, अहिले स्वास्थ्यको हो । चालक, सह–चालक, यात्रु सबैको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गरिनुपर्छ ।

अब सञ्चालनमा आएपछि २० सिटे गाडीले १० जना मात्र बोक्न सक्छ । यस्तो अवस्थामा सरकारले लगानी र खर्चको पक्ष हेरोस् । गाडीमा तेल हाल्नैपर्छ, बिग्रिए बनाउनैपर्छ । मजदुरलाई तलब भत्ता दिनैपर्छ, बैङ्कको किस्ता तिर्नैपर्छ, गाडी डिसइन्फेक्ट गर्नैपर्छ । अनि आधा मात्र यात्रु राखेर सवारी चलाएबापत हामीलाई के ? सरकारले यो पक्षमा पनि हेरोस् ।

सामाजिक दुरी कायम हुन नसक्ने टेम्पोलगायतका साना सार्वजनिक सवारी चलाउन सकिन्छ, सकिन्न ? चलाउन नदिने हो भने त्यसमा निर्भर हजारौं स्वरोजगार मजदुर र उनीहरूको लगानी के हुन्छ ? यसका लागि पनि उपयुक्त नीति चाहिन्छ । उपयुक्त नीति बनाउन सरोकारवालासँग छलफल हुनुपर्छ ।

अब सबै किसिमबाट सवारी चल्ने वातावरण बनाइदिनुपर्छ । हाम्र्रा चालक र मजदुरहरूको स्वास्थ्य बिमा हुनुपर्छ, सरकारले के अनुदान, सहयोग गर्न सक्छ, त्यो पनि हेर्नुपर्छ ।

सार्वजनिक गाडीहरू ग्यारेजमा थन्काएर देशको अर्थतन्त्र उँभो लाग्दैन । हामीले यसबारे पटक–पटक सरकारलाई लिखित र मौखिक रुपमा भनेका छौं, ध्यानाकर्षण गराएका छौं ।

सार्वजनिक गाडी भनेको गिट्टी कुट्ने, मकै पोलेर बेच्ने, जुत्ता पालिस गर्ने, चटपटे बेच्ने, सानोतिनो जागिर र व्यापार गर्नेहरूको ‘मोबिलिटी’ हो । उनीहरूलाई सम्झिएर सरकारले निर्णय गरोस् ।

सार्वजनिक सवारीलाई सुरक्षित, मर्यादित बनाए सरकारको भूमिकाको प्रशंसाको हुन्छ, नत्र हुँदा खाने वर्गले देशमा सरकार नभएको महसुस गर्ने अवस्था आउँछ । जोखिम घटाउने अनेक उपाय र अन्तर्राष्ट्रिय अभ्यासहरू छन् । त्यसमा सरकारले विचार गरोस् ।

हामी चाहन्नौं– सरकारले दबाबमा निर्णय गरोस् । निर्णयहरू अध्ययन, छलफलबाट न्यायपूर्ण, वैज्ञानिक र प्रभावकारी हुनपर्छ । सरकारको निर्णयले देशको अर्थतन्त्रलाई डुब्नबाट बचाओस्, नागरिकले पनि सहजतापूर्वक बाँच्न पाउन् । कोही पनि पीडित बन्न नपरोस् ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?