Comments Add Comment

चितवनमा मालभोग केरा लोप हुने चिन्ता

४ असार, चितवन । नेपालमा राम्रो मानिने मालभोग प्रजातीको केरा पानामा रोगले लोप हुने खतरा देखिएको छ । चितवनका किसानहरुले लगाएको मालभोग केरामा पानामा रोग धेरै फैलिँदै गएपछि मालभोग प्रजातिको केरा संकटमा परेको विज्ञहरुले बताएका छन् ।

आजभन्दा झण्डै ७५ वर्षअघि संसारकै सबैभन्दा स्वादिष्ट र पोषिलो ‘ग्रस माइकल’ जातको केरा लोप भएको थियो । मालभोगमा पनि त्यही खालको खतरा पैदा भएको विज्ञहरुले बताएका छन् ।

केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, बोट फाट्ने, गुभोभन्दा तलैबाट केरा पसाउने, बाङ्गोटिङ्गो हुने, जरामा गिर्खा पर्ने समस्या देखिएको छ । चितवनको केरा उत्पादन हुने पदमपुर क्षेत्रमा मालभोग केराको बगान नस्ट हुँदै जान थालेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले अबको पाँच वर्षमा चितवनमा मालभोगले धेरै केरा बगान नस्ट गर्ने बताए । ‘हर्दिनाथ १ धानमा नेक ब्लाटले ध्वस्त बनाए जस्तै मालभोगमा पानामा खाएर सक्ने अवस्था आएको छ, यसको कुनै उपचार छैन,’ परियोजना प्रमुख तिमिल्सिनाले भने ।

नमूना चीन पठाइयो

मालभोगमा ‘ट्रपिकल रेस फोर’ नामक ढुसी संक्रमण भए–नभएको पत्ता लगाउन केराको नमूना चीन पठाइएको छ । परियोजना प्रमुख तिमल्सिनाले भने, ‘डेढ वर्षअघि नमूना परीक्षण गर्न चीन पठाएका थियौं तर अहिलेसम्म रिपोर्ट आएको छैन ।’

एकपटक ढुसी संक्रमित माटोमा पानामा रोगको कीटाणु कम्तीमा ३० वर्ष बाँच्ने गर्छ । त्यस अवधिसम्म केरा खेती गर्न सकिँदैन । ढुसी क्वारेन्टाइन र अन्य जैविक सुरक्षा विधि अपनाउँदा पनि खासै प्रगति नभएको विज्ञहरु बताउँछन् । यो रोगको नियन्त्रणका लागि कुनै पनि रसायन र औषधि विकास भएको छैन ।

मालभोग केरामा समस्या बढ्दै गएपछि चितवनका किसानहरु रोगप्रतिरोधी क्षमता बढी भएका जिनाइन र विलियम हाइव्रिडतिर आकर्षित हुन थालेका छन्

नेपालमा कम्तीमा ३० प्रजातिका केरा पाइन्छन् । चितवनमा २२ सय हेक्टरमा केरा खेती गर्ने हुन्छ । अधिकांश ठाउँमा मालभोग केरा नै किसानले लगाउने गरेको पाइएको छ । विगत १० वर्षदेखि मालभोगमा पानामा रोग देखिए पनि अहिले भने निकै बढेको र केरा बगान नै नस्ट हुने अवस्थामा पुगेको छ । मालभोगको गानोमा स्वस्थ बिरुवासमेत निकाल्न नसक्ने अवस्था आएको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख तिमिल्सिनाले भने, ‘नयाँ बगानहरूमा केही वर्ष केरा राम्रो फले पनि पछिल्ला वर्षहरुमा बगान नस्ट हुँदै जाने समस्या देखिएको छ । पहिलो वर्ष रोग सहन सक्ने क्षमता हुन्छ, दोस्रो वर्ष ४० प्रतिशत जति केरामा यो समस्या देखिन्छ, तेस्रो वर्षमा पानामाले ७० प्रतिशत नोक्सानी गर्छ, चौथो र पाँचौ वर्षमा केही पनि आउँदैन, बगानको केरा नफाली सुखै हुँदैन ।’

खाँदा निकै मिठो र बेच्दा नाफा पनि दिने मालभोग केरा लोप हुने खतरा बढेको किसानहरु बताउँछन् । अन्य केराप्रति कोसा ३ रुपैयाँ पर्छ भने मालभोग केरा ६ रुपैयाँ पर्ने किसानहरु बताउँछन् ।

केरा किसान विष्णुहरी पन्तले मालभोग केराको नेपालमा आयु निकै कम रहेको बताए । ‘यो त कोरोना भाइरस जस्तै रहेछ, एक बोटबाट अर्कोमा सर्ने, माटोमा जाने, पुरै फैलिँदो रहेछ,’ किसान पन्तले भने ।

उनले ४० विगाहामा मालभोग केरा लगाएकोमा अहिले १० विगाहा छाडेर ३० विगाहामा झार्ने सोच बनाएको बताए । बाँकी १० विगाहा नयाँ ठाउँ हेरेर त्यहाँ मालभोग नै लगाउने योजनामा किसान पन्त छन् ।

पन्तको जस्तै गुनासो छ अर्का केरा किसान यज्ञ सुवेदीको पनि । सुवेदीले ७५ विगाहामा लगाएको मालभोगलाई हटाउँदै रोगप्रतिरोधी क्षमता बढी भएको केरा लगाउन थालेका छन् । ७५ विगाहाको मालभोगलाई हटाउँदै ५० विगाहामा झारेको सुवेदीले बताए ।

जिनाइन र विलियममा किसानको आकर्षण

मालभोग केरामा समस्या बढ्दै गएपछि चितवनका केरा किसानहरु रोगप्रतिरोधी क्षमता बढी भएका जिनाइन र विलियम हाइव्रिड केरातिर आकर्षित हुन थालेका छन् ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ भरतपुरले ५० प्रतिशत अनुदानमा ५५ हजार ४४५ बिरुवा किसानहरुलाई वितरण गरिसकेको छ ।

मालभोग जातमा पानामा रोग लागेर किसान नै विस्थापित हुने अवस्था आएपछि रोग सहन सक्ने विलियम हाइब्रिड र जिनाइन जातका टिस्युकल्चर बिरुवा वितरण गर्न थालिएको हो ।

जेठ महिनामा मात्रै रत्ननगर, खैरहनी, कालिका नगरपालिका र भरतपुर महानगरपालिकाको १ नं. वडाका ३१ किसानलाई १९ लाख बराबरको बिरुवा वितरण गरिएको थियो । यसमा किसानको पनि लगानी छ ।

केरा उत्पादक संघ चितवनका अध्यक्ष घननाथ महतोले मालभोग केरामा रोगको समस्या देखिएकाले किसानहरु विलियम र जिनाइनतर्फ आकर्षित बनेको बताए । ‘सरकारले पनि केही अनुदान दिएको छ, हामी पनि समस्यामा पर्दै गएका छौं,’ अध्यक्ष महतोले भने, ‘किसानहरुलाई विरुवा वितरणका लागि सहजीकरण गरेका छौं ।’

मालभोगभन्दा जिनाइन केरा बढी फल्ने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना भरतपुर प्रमुख तिमिल्सिनाले बताए । उनका अनुसार मालभोग केरा प्रतिघरीमा ८० कोसा फल्नेमा जिनाइन २ सय कोसासम्म फल्छ । विलियम र जिनाइन जातको केराबाट बढी उत्पादन लिन पानी, मल र सिँचाइको उचित व्यवस्था हुनुपर्ने परियोजना प्रमुख तिमिल्सिनाले बताए । यसका लागि स्थानीय सरकारहरुले लगानी गर्नुपर्ने धारणा उनको छ ।

चितवनमा जिनाइन र विलियम प्रतिहेक्टर २४ मेट्रिक टन खेती हुँदै आएको छ । यसलाई बढाएर कम्तीमा पनि ४० मेट्रिक टन प्रतिहेक्टर पु¥याउन सके भारतीय केराको परनिर्भरतामा कमी ल्याउन सकिने तिमिल्सिना बताउँछन् । परियोजना कार्यालयले माग फारम भरेका आधारमा किसान छनोट गरेर विरुवा वितरण गरेको छ ।

चितवनमा केरा जोन कार्यक्रम चलिरहेको छ । केरा जोनमा ९०० किसान सूचीकृत छन् । चितवन जिल्लामा वार्षिक ४५ हजार टनभन्दा बढी केरा उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित केरा काठमाडौँ, पोखरा, बुटवल र हेटौँडासम्म जाने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment