Comments Add Comment

कालापानीबाट भारतीय सैनिक क्याम्प हट्नुपर्छ : नारायणकाजी श्रेष्ठ

४ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता नारायणकाजी श्रेष्ठले कालापानीबाट भारतीय सैनिक क्याम्प हटाउनुपर्ने बताएका छन् ।

बिहीबार राष्ट्रियसभाको बैठकमा नक्सासम्बन्धी संविधान संशोधन विधेयकमाथिको दफावार छलफल भाग लिँदै नेता श्रेष्ठले भने, ‘हामीले भनेका छौं त्यो भूभाग हाम्रै हो । हामीलाई प्राप्त हुनुपर्छ । त्यो भूभागमा बसेको भारतको सैनिक, प्रहरी, सुरक्षाकर्मीहरु सबै फिर्ता जानुपर्छ, र त्यस प्रकारको क्याम्पहरु त्यहाँबाट बन्द गरिनुपर्छ भन्ने हाम्रो दृढ अडान हो ।’

भारत वार्तामा बस्न तयार हुनुपर्छ

नेता श्रेष्ठले लिम्पियाधुरा क्षेत्रका विषयमा देखिएका समस्या समाधान गर्ने उपाय वार्ता र संवाद नै भएको भन्दै भारत वार्ताका बस्न तयार हुनुपर्ने धारणा राखे ।

‘हामी बारम्बार भनिरहेका छौं वार्तामा बसौं, वार्तामा बस्न आतुर छौं र लगातार प्रयत्न गरिरहेका छौं’ नेता श्रेष्ठले भने, ‘भारत वार्तामा बसेर समाधान गर्न तयार हुनुपर्छ ।’ छिटो वार्तामा बसेर नेपाल र भारतबीचको सम्बन्धलाई नकारात्मक दिशामा जान नदिन उनले भारतलाई आग्रह गरे ।

१८१६ को सुगौली सन्धिमा काली नदीको पश्चिमको भूभाग भारतलाई छोड्ने भनेको, नोभेम्बर १९१९ मा भारतले प्रकाशित गरेको नक्सामा दुई देशबीचको सीमा काली नदी देखाइएको र नेपालको कुनै पनि शासकले सुगौलि सन्धिपछि कुनै सन्धि वा सम्झौता गरेर भारतलाई जमिन हस्तान्तरण नगरेको भन्दै श्रेष्ठले यी आधार नै लिम्पियाधुरा नेपालकै भएको प्रमाणको रुपमा उल्लेख गरे ।

मूल मुद्धा ओझेलमा नपरोस् 

सत्तारुढ नेकपाका प्रवक्ता समेत रहेका नेता श्रेष्ठले नेपालकै राजनीतिक दलहरुलाई पनि लिम्पियाधुराको मुल मुद्धालाई ओझेलमा पार्ने गरी अन्य विषयलाई अगाडि नल्याउन आग्रह गरे ।

‘यतिखेर हेर्नुपर्ने मुख्य मुद्धा भनेको यो भूमि भारतले कब्जा गरेको हो, यो भूमि फिर्ता लिइछाड्नुपर्छ भन्ने हो । यो मुद्धामा हिजो कहाँ कसको कमजोरी भयो भन्ने बारेमा वा राष्ट्रियताको अरु विषयमा पनि सन्दर्भबश चर्चा गर्नु एउटा कुरा हो । तर, यसैलाई मुद्धा बनाएर, आफैँलाई आरोप प्रत्यरोप गर्नेमा लाग्नु हुँदैन’ उनले भने ।

मधेस केन्द्रित दलका नेताले महाकाली सन्धिमा राष्ट्रघात भएको भन्दै त्‍यसको समीक्षा  हुनुपर्ने  भनी सार्वजनिक अभिव्यक्ति दिएका बेला नेता श्रेष्ठले यस्तो बताएका हुन् । उनले इतिहासको समीक्षा गर्दै गरौंला, तर राष्ट्रियताको सवालमा दोहोरो मापदण्ड अपनाउन नहुने धारणा राखे ।

‘इतिहासका समीक्षा इतिहासलाई छाडिदिऔं गरौला, गर्नैपर्छ । आज राष्ट्रियताका सवालमा देखापरेका मुद्धामा डबल स्ट्यान्डर्ड अपनाउनु देखिनुहुन्न । एउटा विषयमा वस्तुनिष्ट ढंगले देशभक्तिपूर्ण अडान राख्ने अरु कुनै विषयमा भने विचलित हुने कुरा हुँदैन’ नेता श्रेष्ठले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment