
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले समाजवादी मोर्चामा रहेका र मोर्चाभन्दा बाहिर रहेका दलका नेताहरूसँग भेटघाट र परामर्श गर्दै आएका छन् । उनले केही स्वतन्त्र र वामपन्थी नेताहरूसँग पनि छलफल थालेका छन् ।
- यी विभिन्न राजनीतिक भेटहरूमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठको प्रस्ताव छ- वामपन्थी शक्तिहरूको एउटा केन्द्र बनाऔं ।
- उनका अनुसार यथास्थितिवाद र प्रतिगमनलाई परास्त गर्न नेपालका कम्युनिष्ट, वामपन्थी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरूको एकता, सहकार्य र गुणात्मक राजनीतिक हस्तक्षेपको आवश्यकता छ ।
२९ साउन, काठमाडौं । गत साउन १९ गते सकिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ३ वटा कारणले अहिले माओवादीको राजनीति ओरालो लागेको विश्लेषण गरेका थिए ।
पहिलो- पार्टीको लाइन विपरीत गएर पार्टी अध्यक्ष प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनुस् हामीले सघाउँछौं भनेपछि जनता र कार्यकर्तामा जनतासँग माओवादी अभियान त नाटकमात्रै रहेछ सरकारमै जान खुट्टा उचालिराखेका त रहेछन् नि भन्ने पर्यो ।
अध्यक्ष प्रचण्डले यसो भन्दा कार्यकर्ताहरूमा सिथिलता पैदा गरेको र जनतामा बढेको सकारात्मक धारणामा पनि ब्रेक लागेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठको भनाइ थियो ।
दोस्रो- भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई जोगाउने गरी भएको दुई बुँदे प्रकरणले पार्टीलाई नै अप्ठ्यारोमा पार्यो ।
र तेस्रो- पार्टीमा उपमहासचिव जनार्दन शर्माले चलाएको अन्तरसंघर्ष जायज भएपछि बाहिर जाँदा यसले माओवादीलाई बलियो भन्दा झन् कमजोर बनाउन सघाउ पुर्यायो ।
बैठकमा उनले पछिल्लो पटक माओवादीका पक्षमा देखिएको जनमत आफूहरूकै कारण सिथिल भएको र कांग्रेस एमालेको सरकार तत्काल नभत्किने निष्कर्ष सुनाउँदै अब वाम ध्रुवीकरण गर्नुको विकल्प नरहेको र यसका लागि माओवादीले नै पहलकदमी लिनुपर्ने बताएका थिए ।
फलस्वरूप बैठकले विप्लव नेतृत्वको माओवादीसँग तत्काल एकताका लागि समिति बनाउने र समाजवादी मोर्चालाई बलियो बनाउने निर्णय गरेको थियो । नेकपा एमालेबाहेकका वामपन्थी दलहरूसँग एकता गर्नुपर्ने आवाज स्थायी कमिटीका अरू सदस्यहरूले पनि बैठकमा उठाएका थिए ।
त्यसपछि श्रेष्ठले मोर्चामा रहेका र मोर्चाबाट बाहिरिएका दलका नेताहरूसँग भेटघाट र परामर्श थालेका हुन् । उनले केही स्वतन्त्र र वामपन्थी नेताहरूसँग पनि छलफल थालेका छन् ।
अहिलेसम्म भेटेका मध्ये उनले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल, नेकपाका महासचिव विप्लव र जनता समाजवादी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई एउटै पार्टी बनाएर अघि बढ्न प्रस्ताव गरेका थिए ।
‘अहिलेको यथास्थितिलाई अन्त गर्न पोलिटिकल पार्टीको यथास्थितिलाई पनि अन्त गर्नुपर्छ, अनि मात्र देशको यथास्थितिलाई तोड्न सकिन्छ,’ यी विभिन्न राजनीतिक भेटहरूमा वरिष्ठ उपाध्यक्ष श्रेष्ठको प्रस्ताव थियो, ‘त्यसो गर्दाखेरि हामी वामपन्थी शक्तिहरूले एउटा केन्द्र बनाऔं ।’ यद्यपि केपी शर्मा ओलीको नेतृत्व रहँदासम्म एमालेसँग समीकरण, संयुक्त मोर्चा वा पार्टी एकता कुनै पनि सम्भव नरहेको विष्लेषण श्रेष्ठको छ ।
‘आजको अवस्थामा राष्ट्रको प्रमुख ऐतिहासिक कार्यभार अहिले प्राप्त राजनीतिक उपलब्धि र लोकतन्त्रको रक्षा गर्दै सामाजिक आर्थिक रुपान्तरण गर्नु हो, विकास र समृद्धिको प्रक्रियालाई तीव्रता दिनु हो, आम जनतालाई त्यो राजनीतिक परिवर्तनबाट हामीले राजनीतिक अधिकार त पायौँ, तर यो परिवर्तनबाट हामीले सामाजिक आर्थिक रुपमा पनि हाम्रो जीवन फेरिएको अनुभूति गर्न पाउनुपर्छ,’ श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यथास्थितिकै कारणले प्रतिगामी शक्तिहरूले पनि टाउको उठाउन पाएका हुन्। त्यसैले यथास्थितिवाद र प्रतिगमनलाई परास्त गर्न नेपालका कम्युनिष्ट, वामपन्थी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरूको एकता, सहकार्य र गुणात्मक राजनीतिक हस्तक्षेपको आवश्यकता छ । यसैको निम्ति मैले छलफल अगाडि बढाइराखेको छु र पार्टी निर्णयको स्पिरिटमा नै मैले छलफल गरिराखेको छु ।’
वृहत वामपन्थी एकताबारे बहस
पार्टी एकता गर्नुपर्छ भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरिरहेका छन् । पार्टी एकताका लागि नेपाल सकारात्मक भए पनि सम्मानित नेता खनाल र महासचिव भूसाल भने पार्टी एकता गर्ने भए पनि एमालेसहितकै गर्नुपर्ने पक्षमा छन् । उनीहरूले वरिष्ठ उपाध्यक्ष श्रेष्ठसँगको छलफलमा पनि वृहत वामपन्थी एकता गर्नुपर्ने बताएका थिए ।
‘एमालेसहितको एकता गर्नुपर्छ भन्नेमा सम्मानित नेता र महासचिवको धारणा भए पनि त्यो तत्काल सम्भव नरहेको निष्कर्ष पनि हो,’ समाजवादीका एक नेताले भने, ‘बरु एमालेका विद्या भण्डारी पक्षधरहरूसँग सम्वाद गर्नुपर्छ भन्ने उहाँहरूको धारणा थियो । यो कोणबाट छलफल भइरहेको छ ।’
नेकपा महासचिव विप्लवले भने अहिलेकै अवस्थामा र यही नेतृत्वमा वामपन्थी एकता सम्भव नरहेको बताएका थिए । उनले माओवादीले एक वर्षअघि पनि एकताको निर्णय गरेको र आफूहरूलाई अलमलमा पारेको बताएका थिए ।
गत वर्षको माओवादीको निर्णयपछि नेकपाले पनि पार्टी एकता गर्ने निर्णय केन्द्रीय कमिटीबाटै गरेको थियो । पछि माओवादी उदासिन भएको भन्दै केन्द्रीय कमिटीमै निर्णय गरेर अब माओवादीसँग एकता तत्काल सम्भव नरहेको निष्कर्ष निकालेको थियो ।
प्रतिक्रिया 4