Comments Add Comment

कोसी करिडोरलाई संघ र प्रदेशले बजेट दिएनन्, स्थानीय तहले बनाउने

४ असार, काठमाडौं । कोसी करिडोरमा संघीय र प्रदेश सरकारले बजेट विनियोजन नगरेपछि उदयपुरका स्थानीय तहले आपसमा मिलेर यो योजना अघि बढाउने भएका छन् ।

बुधबार भएको सर्वदलीय बैठकले स्थानीय तहले नै काम अघि बढाउने निर्णय गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उदयपुर अध्यक्ष विनोद कटुवालले जानकारी दिए ।

मध्यपहाडी लोकमार्गमा जोडिने कोशी करिडोरको नामले चिनिने उदयपुरको घुर्मीदेखि सुनसरीको चतरासम्मको १६७ किलोमिटर लामो सडकको ६० किलोमिटर सडकमा ट्रयाक खोल्न ०६७ मै ठेक्का लागेको थियो ।

त्यतिबेला २० वटा निर्माण कम्पनीले २० ठाउँबाट ट्रयाक खन्न सुरु गरेका थिए । तर, साविकको जिल्ला वन कार्यालय उदयपुरले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी निर्माण कम्पनीले काम गर्न थालेको भन्दै रोकेको थियो ।

पछि ईआईए प्रतिवेदन तयार गरी सरकारबाट स्वीकृत भएपछि भने ठेकेदारले पुरानै मूल्यमा काम अघि बढाउन नसकिने भन्दै छाडेका थिए । त्यसपछि बेवास्तामा परेको यस सडकमा उदयपुरको कटारी नगरपालिका, ताप्ली गाउँपालिका र लिम्चुङबुङ गाउँपालिकाले संयुक्त रुपमा चार करोड लगानी गर्ने प्रतिवद्धता गरेको नेकपा जिल्ला अध्यक्ष कटुवालले बताए ।

ताप्ली गाउँपालिका उदयपुरका अध्यक्ष उद्धवसिंह थापाले वन कार्यालयले इआईए गरेर काम अघि बढाउन भने पनि संघीय र प्रदेश सरकारले चासो नदिएपछि स्थानीय तह अघि सरेको बताए ।

कोसी करिडोरले उदयपुरको बेलका, त्रियुगा, कटारी नगरपालिका, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाँउपालिकाका सर्वसाधारणलाई सुविधा पुग्नेछ । यो सडक खोटाङ, सोलुखम्बु, ओखलढुङ्गालाई प्रदेश १ को राजधानी विराटनगर जोड्ने छोटो दूरीको सडक हो ।

सुनसरी, धनकुटा, भोजपुरलगायतका पूर्वी नेपालका जिल्लालाई काठमाडौं जोड्ने छोटो दूरीको सडक पनि यही हुने भएकाले काम अघि बढाउन आग्रह गर्दा प्रदेश र संघीय सरकारले नसुनेको ताप्ली गाँउपालिकाका अध्यक्ष थापाको भनाइ छ ।

‘सरकार र ठेकेदारबीचको समस्या समाधान हुँदा पनि काम अघि बढेन,’ उनले भने, ‘हामीले पटक पटक डेलिगेसन गएर संघीय सरकारलाई काम सुरु गर्न आग्रह ग¥यौँ, तर भएन ।’
चार स्थानीय तहले कटारी नगरपालिकाको घुर्मीबजारदेखि लिम्चुङबुङको गाउँपालिकाको कुनाही घाटसम्म निर्माण गर्ने गरी चार करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको थापाले बताए ।

यो सडक बन्दा कृषि र पर्यटनमा फाइदा पुग्ने लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले बताए । ‘निर्माण सुरु भएर रोकिएको काम पुनः सुरु गराउन लागि परे पनि संघीय सरकारले वेवास्ता गर्‍यो,’ उनले भने ।

कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ काजीले उदयपुुरका सातै स्थानीय तह मिलेर घुर्मी चतरा सडक सम्पन्न गर्ने गरी अघि बढेको बताए ।

‘सुरुमा हामी कटारी नगरपालिका, ताप्ली गाँउपालिका र लिम्चुङबुङ गाउँपालिकाले काम सुरु गरेका छौ,’ उनले भने, ‘विस्तारै रौतामाई गाँउपालिका, त्रियुगा, चौदण्डी नगरपालिका र बेलका नगरपालिकासँग पनि सहकार्य गरेर काम गर्नेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment