Comments Add Comment

प्रधानमन्त्री ओली नै फेक न्युजको शिकार !

४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को प्रकोपसँगै विश्वभर सही सूचनाको पनि संकट आयो । कोरोना रोगबारे मात्र होइन, यसविरुद्ध औषधि तथा खोप विकासलाई लिएर पनि धेरै अफवाहहरू आउने गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पनि यस्तै एउटा अफवाहको शिकार भएको पाइएको छ । त्यो हो इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको फेक न्युज

चैतमा जतिबेला नेपालले भर्खर लकडाउन सुरु गरेको थियो, इटाली कोरोनाबाट आक्रान्त भइसकेको थियो । संक्रमितको संख्या मात्र होइन, मृतकको पनि संख्याको ग्राफ उकालो लागिरहेका बेला सामाजिक सञ्जालमा इटालीका राष्ट्रपतिले कोरोनासामु आत्मसमर्पण गरेको भन्ने एउटा पोस्ट भाइरल भएको थियो ।

इटालीका प्रधानमन्त्री गिउसेप्पे कोन्टको अभिव्यक्ति भन्दै सेयर गरिएको पोस्टहरूमा भनिएको थियो, ‘हाम्रो नियन्त्रण गुम्यो । संक्रामक रोगले हामीलाई मारिरहेको छ । सम्भवत: सबै प्रयासहरू सकिए, अब आकाशतिर हेर्नुको विकल्प छैन ।’ योसँगै भाइरल बनेको थियो, ‘कोन्ट रोइरहेको’ एउटा तस्वीर ।

बिहीबार राष्ट्रिय सभामा प्रधानमन्त्री ओलीले त्यही भाइरल पोस्टलाई टेकेर राष्ट्रिय सभामा अभिव्यक्ति दिएका छन् ।

भारतबाट आएकाहरूको उचित रुपमा क्वारेन्टिन हुन नसकेको भनेर भइरहेको आलोचनाप्रति इङ्गित गर्दै उनले जेठमा मात्र दुई लाख ४४ हजार मानिस आएको र यति ठूलो संख्यामा मानिहरूको क्वारेन्टिन दुनियाँको कुनै देशले गर्न नसक्ने बताए ।

उनले भने, ‘आइसोलेसनमा राख्दा पनि इटालीजस्तो देशले सडकमा लगेर राख्नुपर्‍यो । आईसीयूको सेवा सडकमा दिनुपर्‍यो । भेन्टिलेटरमा बस्नुपर्ने अवस्थामा मात्र ल्याउनू, नभए ठाउँ छैन नल्याउनू । आइसोलेसनमा बस्नू भनेर विकसित देशहरूले घर पठाउनुपर्‍यो । हामीले यस तहमा हात उठाइसकेका छैनौं ।’

‘अब भगवानको भरोसा छ, हामीबाट केही पनि हुन सक्दैन भनेर विभिन्न देशका कार्यकारी प्रमुखले भनेको र लाचारी प्रकट गरेको हामीले देखेका छौं’ उनले अघि भने ।

प्रधानमन्त्रीको संकेत इटाली राष्ट्रपतिको भाइरल तस्वीरहरूतर्फ भएको सहज अनुमान लगाउन सकिन्छ ।

जबकि दुवै समाचार तथ्यहीन थिए ।

किनकि कोरोनाबाट आक्रान्त इटालीले न सडकबाट आईसीयू सेवा दिएको थियो, न राष्ट्रपतिले हात उठाएका थिए । इटालीको राष्ट्रपतिको भन्दै प्रचार गरिएको पोस्टमा रोइरहेका व्यक्ति ब्राजिलका राष्ट्रपति जैर बोलोनारोको हो । उनले २०१९ डिसेम्बरमा एक प्रार्थना सभालाई सम्बोधन गर्दा यसरी रोएका थिए ।

अनि इटालीले सडकमा आईसीयू सेवा दिएको भनेर प्रचार गरिएको तस्वीर पनि फेक हो ।

सडकमै आईसीयू सेवा दिएको तस्वीर क्रुएसियाको राजधानी जाग्रेबको हो । मे २०२० मा कोरोना भाइरसका कारण सहरमा अर्धलकडाउन थियो । त्यहीबेला भूकम्प आएपछि अस्पतालहरूले चाप धान्न नसकेर सडकमै उपचार सेवा दिएका थिए । यो कोरोना संक्रमितहरूलाई दिइएको उपचार पनि होइन ।

संसदबाटै भ्रमको प्रचार !

प्रधानमन्त्री ओलीले आफ्नो ५५ वर्षे राजनीतिक जीवनमा बोलेका कुराहरूलाई कसैले चुनौती दिन नसकेको दाबी गरे । तर राष्ट्रिय सभामा बेसारका विषयमा प्रधानमन्त्रीले बोलेको विषयलाई लिएर विज्ञहरूले प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री कार्यालयअन्तर्गत उठेका प्रश्नहरूको जवाफ दिन राष्ट्रिय सभामा उपस्थित भएका प्रधानमन्त्रीले आफूलाई सर्वज्ञाता ठान्दै स्वास्थ्य क्षेत्रका विषयमा गरेको टिप्पणीका कारण उनी विवादमा तानिएका हुन् ।

प्रधानमन्त्री ओलीले बेसारको साइड इफेक्टबारे बताउने क्रममा राष्ट्रिय सभामा भने, ‘रक्तअल्पता छ भने बेसार खानुहुँदैन, जण्डिस लागेकाले बेसार खानुहुँदैन । सुत्केरी महिलाले बेसार खानुहुँदैन । आइरनको कमी, ब्लडको कमी छ भने खानुहुँदैन । यस्ता अनेक स्थिति हुन्छन्, जसमा बेसार खानुहुँदैन । अप्रेसन गर्नु अगाडि बेसार खानुहुँदैन ।

तर जण्डिस रोगका विज्ञ डा. सुधांशु केसीले प्रधानमन्त्रीमाथि प्रश्न उठाउँदै टि्वटमार्फत भनेका छन् ‘यसरी गलत सूचना दिनुहुँदैन प्रधानमन्त्रीज्यू । कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खानुहुन्न भनेर ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment