Comments Add Comment

गण्डकीमा थप २४ जनामा कोरोना, संक्रमित ३४८ पुगे

५ असार, काठमाडौं । गण्डकी प्रदेशका चार जिल्लामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पूर्वी नवलपरासीमा २ जना, बागलुङमा १४ जना, कास्कीमा ६ जना र स्याङ्जामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ३४८ पुगेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार बिहान ६ बजे जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिकामा २८ र २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बाग्लुङको गल्कोट नगरपालिकामा ८ जना र कोठेखोला गाउँपालिकामा ६ जनामा कोरोना पुष्टि भएको छ । गल्कोटमा ३५, ३८, ३०, २२, १९ र ४५ वर्षका पुरुष तथा ४२ र २० वर्षका महिलामा कोरोना भाइरस देखिएको छ ।

कास्कीको पोखरा महानगरपालिकाका ५ जना र रुपा गाउँपालिकाका एकजना पुरुष पनि संक्रमित छन् । पोखरा महानगरमा भेटिएका संक्रमित १९ वर्षका २ जना र ४१ वर्षका एकजना पुरुष छन् ।  त्यस्तै, ३० र ५६ वर्षीया २ जनामा महिलामा समेत कोरोना भाइरस पुष्टि भएको छ । यस्तै रुपा गाउँपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना भाइरस पाइएको छ ।

निर्देशनालयका अनुसार स्याङ्जाका २ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये ३६ वर्षीय पुरुष कालीगण्डकी गाउँपालिकाका हुन् भने अर्का ६३ वर्षीय पुरुषको ठेगाना खुल्न नसकेको निर्देशनालय निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

उनीहरु सबैजना भारतबाट फर्किएका हुन् । सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको र सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको निर्देशनालयले. जनाएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ४८ पुग्दा २२ जना निको भएर घर फर्किसकेका छन् भने एकजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको मुस्ताङबाहेक सबै जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ८ सय ४८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment