Comments Add Comment

जब काठमाडौं र बेइजिङमा सँगै घन्कियो कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत

भर्चुअल कार्यशाला प्रचण्डको स्थगित भ्रमणकै निरन्तरता

५ असार,काठमाडौं । युजे पोत्तरको ‘उठ जाग ए भोका नांगा, जाग संसारका दुःखी बोलको डेढ सय वर्ष पुरानो कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीतबाट शुरु भएको नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भर्चुअल कार्यशाला माक्र्सवादको प्रयोग कसरी गर्ने भन्नेमा केन्द्रित रहेको छ ।

नेकपा केन्द्रीय कार्यालय धुम्बाराही र चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरमा एकैपटक कम्युनिस्ट अन्तर्राष्ट्रिय गीत बज्दा नेताहरु आ आफ्नो ठाउँबाट उठेर मुठ्ठी कसेका थिए । संसारका सय भन्दा धेरै भाषामा अनुवाद गरेर गाइएको यो गीत सन् १८७१ मा पोत्तरले लेखेका हुन् ।

नेकपाका कार्यक्रमहरुमा पछिल्लो समय बिरलै बज्ने गरेको अन्तर्राष्ट्रिय गीत शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको हेडक्वार्टरबाट बजेपछि अध्यक्ष प्रचण्ड र स्कूल विभाग प्रमुख ईश्वर पोखरेलसहितका नेताहरु आ आफ्नो ठाउँबाट उठेका थिए । कम्युनिस्ट घोषणापत्रजस्तै यो गीत पनि संसारभरका कम्युनिस्ट पार्टीहरुको साझा सम्पत्ति मानिन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको ९९ औं वर्षगाठ मनाइदै गरेका बेला दुवै देशका कम्युनिस्ट पार्टीबीच शुभकामना आदान प्रदान र पार्टी तथा सरकार सञ्चालनका अनुभवहरुको बारेमा वैचारिक छलफल गरिएको नेकपा स्कूल विभागका उपप्रमुख बेदुराम भुसालले बताए । कोभिडका कारण प्रत्यक्ष सम्मेलन हुन नसकेपछि भिडियो कन्फरेन्स गरिएको उनले बताए ।

भर्चुअल कार्यशालामा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले चिनियाँ कम्युनिस्ट पार्टीको ९९ औं वर्षगाठको अवसरमा दिएको भिडियो सन्देश सुनाइएको थियो । सन् १९२१ जुलाईमा स्थापना भएको चिनियाँ कम्युनिस्ट पार्टीले आगामी वर्ष पार्टी स्थापानाको शताब्दी दिवस भव्य रुपमा मनाउँदैछ ।

कार्यशालाको उद्घाटन समारोहलाई नेकपा अध्यक्ष प्रचण्ड र स्कूल विभाग प्रमुख ईश्वर पोखरेलले सम्बोधन गरेका थिए भने चीनको तर्फबाट विदेश विभाग प्रमुख सोङ ताओ र तिब्बतका कम्युनिस्ट पार्टी सेक्रेटरी यु यीङ्जीले सम्बोधन गरेको थिए । दुवै पक्षले कोभिडविरुद्धको लडाइमा सहकार्य र पार्टीगत सम्बन्ध विस्तारमा जोड दिए ।

चिनिया कम्युनिस्ट पार्टीका नेता सोङ ताओले कोभिड– १९ विरुद्धको लडाइमा नेपाललाई चीनले सघाइरहेको र आवश्यकता अनुसार थप सहयोग गर्न तयार रहेको बताए । उनले राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा भएका सम्झौताहरु कार्यन्वयनको चरणमा रहेको भन्दै नेपालले एक चीन नीतिमा देखाएको प्रतिवद्धताको प्रशंसा गरेका थिए ।

तिब्बत, हङकङ र मकाउ मामिलामा मात्र होइन ताइवानसमेत चीनको एक प्रान्त मानेर नेपालले एक चीन नीतिप्रति गहिरो प्रतिबद्धता जनाएको ताओले सो कार्यशालामा बताएको बैठकका सहभागी नेकपा युवा नेता तथा नेपाल चीन सम्बन्धका विज्ञ कल्याण रोक्काले बताए । नेपालले हालैमात्र हङकङमा चीनको प्रशासनिक कडाइको समर्थन जनाएको थियो ।

कार्यशालामा चीन र भारतबीच लद्दाखमा भएको पछिल्लो तनावका बारेमा भने दुवै पक्षबाबाट कुनै विषय नउठेको उनले बताए । नेपाल तेस्रो पक्ष भएकाले त्यसबारे बोल्न आवश्यक नरहेको र कार्यशाला दुई कम्युनिस्ट पार्टीको सम्बन्ध तथा वैचारिक छलफलमा मात्र केन्द्रित रहेको उनको भनाइ थियो ।

तिब्बतका कम्युनिस्ट पार्टी सेक्रेटरीले हिमालय सीमापार बहुआयामिक सञ्जाल निर्माणमा नेपालसँग चीनले सहकार्य गरिरहेको बताए । उनले सगरमाथाको उचाइ संयुक्त रुपमा मापन गर्ने काम पनि भइरहेको भन्दै तिब्बत र नेपालको ठूलो क्षेत्र एक आपसमा जोडिएकाले दुवैतिरका कम्युनिस्ट पार्टीले जनस्तरको सम्बन्ध विस्तारमा जोड दिनुपर्ने बताएका थिए ।

प्रचण्डको रोकिएको भ्रमणको निरन्तरता

दुवै पार्टीको भिडियो सम्मेलनमा नेकपा अध्यक्ष प्रचण्डले चिनिया कम्युनिस्ट पार्टीसँग नेकपाले वैचारिक, राजनीतिक र सरकार सञ्चालनका अनुभवहरुबाट समेत गहिरो सम्बन्ध स्थापना गर्न चाहेको बताएका थिए ।

उनले आफ्नो पूर्वनिर्धारित चीन भ्रमण पहिले आन्तरिक कारण र पछि कोभिडका कारण स्थगित भएको भन्दै चाँडै चिनिया नेताहरुसँग भौतिक रुपमै भेट हुने बताएका थिए । उनले पार्टी स्थापनाको अवसरमा शुभकामना समेत दिए ।

कार्यशालामा सहभागी करीव सय जना नेकपा नेताहरु यसअघि प्रचण्डको नेतृत्वमा चीन भ्रमणमा जाने टोलीमा थिए । भ्रमण स्थगित भएकाले कार्यशालामा उनीहरुलाई सहभागी गराइएको हो । कोभिड अन्त्यसँगै पुनः भ्रमणहरु आदान प्रदान गर्ने सहमति दुवै पार्टीबीच भएको छ ।

यो कार्यशाला प्रचण्ड नेतृत्वको नेकपाको टोलीको स्थगित भ्रमणको निरन्तरता भएको भेलाका सहभागी कल्याण रोक्काले बताए । चीनको पार्टी स्कूलको अध्ययन गर्ने उद्देश्यले सो भ्रमण तय भएको थियो । त्यसबेला राष्ट्रपति सी सँग भेट हुने निश्चित नभएपछि प्रचण्डले भ्रमण स्थगित गरेका थिए । त्यसपछि कोरोना महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय उडान बन्द र लकडाउन भयो ।

अध्यक्ष प्रचण्डले कोभिड १९ विरुद्ध चीनले अपनाएको मोडल संसारलाई उदाहरण भएको भन्दै नेपाललाई चीनले महामारीविरुद्धको लडाइमा गरेको सहयोग प्रशंसनीय रहेको बताए । उनले चीनबाट थप सहयोग आफूहरुले अपेक्षा गरेको समेत बताएका थिए ।

प्रचण्डले एमसीसीको नाम नलिई नेपालले कुनै पनि सैन्य गठबन्धनमा सहभागी हुने नेपालको नीति नरहेको र त्यस्ता शर्तहरु स्वीकार गरेर अनुदान नलिइने बताएका थिए । विकासको लागि प्राप्त अनुदानहरु मुलुकको सार्वभौमिकतासँग नबाझिने अवस्थासम्म आफूहरु स्वीकार गर्न तयार रहेको उनले बताए ।

सो अवसरमा नेकपा स्कूल विभागका प्रमुख तथा उपप्रधानमन्त्री एबम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन हुने र दुई पार्टीबीचको समझदारी अनुसारका कार्यक्रमहरु पनि निरन्तर अघि बढ्ने बताएको भेलाका सहभागी नेकपा नेता विशाल भट्टराईले बताए ।

कोभिड १९ विरुद्ध सरकारी संयन्त्रको प्रमुखसमेत रहेका पोखरेलले हालसम्म नेपालले अबलम्बन गरेका रणनीतिहरको बारेमा जानकारी दिएका थिए । पोखरेलले कोभिड १९ विरुद्धको लडाइ चीनले गरेको सहयोगको समेत सह्राहना गरेका थिए ।

चीन र भारतबीच सिमानामा लडाइ भइरहेको र दुवै पक्षले नेपाललाई आफ्नो पक्षमा उभ्याउन मिडियाबाजी गरिररहेका बेला नेपाल र चीनका सत्तारुढ कम्युनिस्ट पार्टीको कार्यशाला हुनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । संविधान संशोधनबाट नयाँ नक्सालाई आधिकारिकता दिएपछि नेपाल र भारतबीच संवादहीनता छ ।

यो बेलामा कार्यशाला हुनु संयोगमात्र भएको नेकपा नेताहरुले बताएका छन् । यो छलफल दुई पार्टीबीचको भएकाले यसमा मुलुकको नीति प्रतिबिम्ब नहुने उनीहरुको भनाइ छ ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment