Comments Add Comment

सुर्खेतमा आरडीटी गरेर घर पठाइएका युवकको मृत्यु

७ असार, सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक जनाको मृत्यु भएको छ । भेरीगंगा नगरपालिका-५ का ३५ वर्षीय युवकको आइतबार बिहान मृत्यु भएको हो ।

गत जेठ १६ थते भारतको हिमाञ्चलबाट फर्किएका उनी छिन्चुमा रहेको शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए ।

क्वारेन्टिनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि युवकलाई घर पठाइएको भेरीगंगा नगरपालिका नगर स्वास्थ्य प्रमुख राजेश बुढाले जानकारी दिए । उनलाई एक सातासम्म होम क्वारेन्टिनमा बस्न भनेर घर पठाइएको थियो ।

आज बिहान (आइतबार) ती युवकलाई एक्कासी झाडापखाला लागेपछि छिन्चुस्थित गणेश मेडिकलमा ल्याइएको र उपचारकै क्रममा उनको मृत्यु भएको स्वास्थ्य प्रमुख बुढाले बताए ।

उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ । पीसीआर रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने बुढाले बताए । युवकको शव प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ ।

यसअघि सुर्खेतकै पञ्चपुरी नगरपालिकामा पनि आरडीटी गरेर घर पठाइएका एक युवकको पनि मृत्यु भएको थियो । मृत्युपछि पीसीआर जाँच गर्दा ती युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment