Comments Add Comment

१५ वर्षपछि वीरगञ्जको सुख्खा बन्दरगाह सञ्चालक कम्पनी फेरिँदै

प्रन्स्टाइनले पायो नयाँ ठेक्का

७ असार, वीरगञ्ज । पन्ध्र वर्षपछि वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह सञ्चालनको सञ्चालक फेरिने भएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले गरेको नयाँ ठेक्कामा पि्रन्स्टाइन मेगा लजिस्टिकले सर्वाधिक ३ अर्ब ३३ करोड रुपैयाँको प्रस्ताव पेश गरेपछि कम्पनीले ठेक्का पाउने निश्चित भएको हो ।

नेपाल इन्टरमोडल यातायात विकास समिति (एनआईटीडीबी) ले न्यूनतम २ अर्ब रकम ताकेर ठेक्काको लागि आव्हान गरेको थियो । गएको जेठ २४ अर्थात अंग्रेजी महिनाको जुन ६ तारिकका दिन आर्थिक प्रस्ताव माग गरिएको थियो । भारतीय रेल्वेको भगिनी संस्था कन्टेनर कर्पोरेसन अफ इन्डिया -कोंकर) प्राविधिक प्रस्तावमा अगडि भएपनि आर्थिक प्रस्तावमा पछि परेको छ ।

पि्रन्स्टाइन बाहेक काठमाडौं तीनकुने स्थित अपना-हाईवे-जगदम्बा जेभी, भारत महाराष्ट्रको इन्टरनेशनल कार्गो टर्मिनल्स एण्ड इन्प|mाइस्ट्रक्चर, अदानी लजिष्टिक गुजरात भारत र कन्टेनर कर्पोरेशन अफ इण्डिया लिमिटेड (कोंकर) नयाँ दिल्लीको कम्पनीले प्रस्ताव हालेका थिए ।

मूल्यांकन समितिले प्राविधिक क्षमताको ६० र आर्थिक प्रस्तावको ४० अंकभार तय गरेको थियो । प्राविधिक प्रस्तावमा कोंकरपछि पि्रस्टाइन दोस्रो स्थानमा थियो । आर्थिक प्रस्तावमा अपना-हाइवे-जगदम्बा जेभीले २ अर्ब ४६ करोड, इन्टरनेशनल कार्गो टर्मिनल्स एन्ड इन्फ्राइस्ट्रक्चरले २ अर्ब ४४ करोड ४८ लाख ८० हजार, अदानी लजिस्टिक गुजरात भारतले २ अर्ब ८० करोड ६० लाख र कन्टेनर कर्पोरेसन अफ इन्डिया लिमिटेड (कोंकर) नयाँदिल्लीको २ अर्ब ८१ करोड ९० लाख पेश गरेको थियो ।

सन् २००४ देखि हालसम्म कोंकरकै लगानीमा खोलिएको हिमालयन टर्मिनलले सुख्खा बन्दरगाह सञ्चालन गर्दै आएको छ । १५ बर्षपछि सुख्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी फेरिँदैछ । हिमालयन टर्मिनलको सम्झौता समय जनवरी ६ मै सकिएको भएपनि अर्को ठेक्का नलागेसम्म जुलाई ६ सम्मका लागि सञ्चालनको जिम्मा दिइएको छ ।

आर्थिक भार बढ्ने चिन्ता

बढी मूल्यमा ठेक्का सकार गर्नु इन्टर मोडल यातायात विकास समितिलाई त राम्रै हो । तर कम्पनीले बन्दरगाह सञ्चालनका क्रममा लिने सेवा शुल्कमा वृद्धि गर्न सक्ने सम्भावना रहन्छ । त्यसले नेपाली व्यवसायी तथा उपभोक्तालाई थप आर्थिक भार व्यहोर्नुपर्ने हुन सक्छ ।

प्रवेश शुल्क, गोदाम भाडा, सवारी तथा कन्टेनर पार्किङ शुल्क, मजदुर ज्याला, खुल्ला यार्ड शुल्क, ह्यान्डलिङ चार्ज लगायत विविध शुल्क लिँदै आएको छ ।

हिमालयन टर्मिनल र कोंकरका अधिकारीहरुबीच सीधा सम्पर्क हुने हुँदा रेल्वेमा देखिएका समस्या समाधानमा सहज थियो । अब नयाँ कम्पनीको सेवा कस्तो होला ? भन्ने अर्को चिन्ता थपिएको व्यापारीहरु बताउँछन् ।

हिमालयन टर्मिनलले बन्दरगाहको उचित व्यवस्थापन गर्न नसकेको गुनासो गर्दै आएका वीरगञ्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपाल नयाँ कम्पनीले ती समस्या नदोहोर्‍याउनेमा आशावादी छन् ।

‘हिमालयन टर्मीनलसँग धेरै व्यवस्थापकीय कमजोरी थियो, स्टेकरको संख्या एकदमै कम राखेर उसले रेलबाट झार्न प्राथमिकता दिने तर समान लोड गर्नमा ढिलाई गथ्र्यो,’ महासचिव राजपाल भन्छन्,’ व्यवहार राम्रो हुनुपर्छ, ड्यामरेज र डिटेन्सन पारदर्शी गर्नुपर्छ, शुल्क वृद्धिलाई प्राथमिकता दिनु भन्दा सेवालाई सहज बनाउन ध्यान दिनुपर्छ ।’

उनी सरकारले पनि आईसीपी देखि ड्राईपोर्टसम्मको ६२ विगाहा जग्गा छिटो अधिग्रहण गरेर काम अघि बढाउनुपर्ने बताउँछन् ।

‘सुख्खा बन्दरगाहले क्षमता भन्दा बढी कारोबार गरिरहेको छ । सरकारले अधिग्रहण गर्न लागेको जग्गा छिटो लिएर काम अघि बढाउनुपर्छ । गोदामका समस्या समाधान गरिदिनुपर्छ,’ राजपाल भन्छन् ‘ राज्य आयातकर्ता व्यापारीको हितमा काम गर्न तयार भयो भने अरुले दुःख दिन कहाँ सक्छन र ?’

के हो सुख्खा बन्दरगाह ?

नेपालकै पहिलो सुख्खाबन्दरगाहको क्षेत्रफल ३८ हेक्टर छ । विश्व बैंकको ८२ करोड ऋण सहयोगमा सन २००० मा निमार्ण सम्पन्न भएको हो । भारतको २० करोडको अनुदानमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिंक स्थापना गरिएको थियो । नेपाल र भारत सरकारबीच २१ मे सन् २००४ मा रेल्वे सम्झौता भएपछि बन्दरगाहमा रेल आउन थालेको हो ।

वि.स. २०६१ साल पौष २७ गते देखि अलग्गै अस्तित्व भएको भन्सार कार्यालय स्थापना गरेर सेवा सञ्चालन गरिएको छ । १७ डिसेम्बर २००८ मा लेटर एक्सचेन्ज गर्दै फ्ल्याट वागन कार्गो आउन सक्ने गरी पूनः सम्झौता भएको थियो । वि.स. २०५४ माघमा स्थापना भएको नेपाल इन्टरमोडेल यातायात विकास समितिलाई वि.स. २०५७ सालमा बन्दरगाह हस्तान्तरण गरिएको थियो ।

सन् २००४ जुलाई ६ मा हिमालयन टर्मीनल (एचटीपीएल) र एनआईटीबी बीच १० वर्षको लागि लिज सम्झौता गरिएकोमा सन् २०१४ डिसेम्बरमा ५ वर्षको लागि पुनरावलोकन गरिएको थियो । त्यसको पनि म्याद सकिन लागेकोले नयाँ ठेक्का लगाईएको हो । भारतीय रेल्वे निगम कन्कोरको भगिनी संस्था हिमालयन टर्मीनलको व्यवस्थापनमा बन्दरगाह सञ्चालन भईरहेको थियो ।

बन्दरगाहमा ठूला २ र साना २ गरी ४ गोदाम घर, टर्मीनल भवन १, तौल पुल, बैंकिंग सुविधा, ६ वटा रेल एकैपटक पार्किङ क्षमता, १ हजार ५ सय ८६ वटा २० फुटे कन्टेनरको व्यवस्थापन गर्न सकिने गरि ६ सय ८५ मिटर लम्बाई र ६४ मिटर चौडाइ भएको कन्टेनर झार्ने र चढाउने यार्डको व्यवस्था छ । रिच स्टेकर, र्फक लिप्ट, टेलर जस्ता आधुनिक यन्त्र उपकरणहरूसँगै सरल तथा आधुनिक भन्सार जाँचपास प्रणालीको सुविधा भएको दावी गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment