
६ असार, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा स्थानीय वासिन्दाले तालाबन्दी गरेका छन् ।
वडाबासीलाई अपायक पर्ने ठाउँमा स्वास्थ्य चौकी बनाउन लागेको भन्दै उनीहरुले विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरुको विरोधका कारण आइतबार स्वास्थ्य चौकी भवन गाउँपालिका अध्यक्ष पीएल श्रेष्ठले शिलान्यास कार्यक्रम समेत स्थगित भएको छ । स्वास्थ्य मन्त्रालयले सामुदायिक स्वास्थ्य इकाईलाई स्वास्थ्य चौकीमा स्तरोन्नतीका लागि वडा कार्यालयमा ३८ लाख रुपैयाँ बजेट पठाएको थियो ।
गाउँवासीलाई जानकारी नै नदिई वडा अध्यक्ष रामप्रकाश कुवँरले अपायक ठाउँमा स्वास्थ्य चौकी निर्माण गर्न लागेकोले विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेको स्थानीयले बताएका छन् । उनीहरुले अहिले स्वास्थ्य चौकी बनाउन लागिएको जमिन सरस्वती खोलाको किनारमा रहेकोले असुरक्षित ठाउँ भएको समेत बताएका छन् ।
छलफलपछि मात्रै स्वास्थ्य चौकी बनाउने ठाउँको टुंगो लगाउन भनेको तर अध्यक्षले मनोमानी गरेपछि विरोधमा उत्रनु परेको स्थानीय सुशील अधिकारीले बताए ।
वडा अध्यक्ष कुँवरले भने सामुदायिक स्वास्थ्य इकाईको स्तरोन्नतीका लागि नै बजेट आएको र दाताले सोही ठाउँमा नम्बरी जग्गा दानमा दिएकोले त्यहाँ भवन बनाउन लागेको बताए ।
प्रतिक्रिया 4