Comments Add Comment
कथा :

रहस्य

अठार शिशिरका अनेक आरोह÷अवरोह खेपेको पवन बाहिरी आवरणमा जति कमजोर र ख्याउटे देखिन्थ्यो यथार्थमा ऊ त्यस्तो थिएन । ऊ निकै बलशाली, धैर्यवान र सिपालु थियो । पढेर परिपक्व नभए पनि परेर परिपक्व थियो ।

पाँचवर्ष पुग्दा नपुग्दै आफ्नी जन्मदातृलाई गुमाउनुपरेको भयानक पीडाले हर दिन उसको अन्र्तहृदय मधुरो बिझइरहन्थ्यो । पीडालाई मुस्कानमा बदलेर ऊ हरेक दिनलाई सार्थक तुल्याउन कोशिसा गर्थ्यो ।

आमाको न्यानो काख चिसिएपछि शुरुका कयौँ साँझ उसका आँसुले घर ततायो । दिनभरी कतै हराए पनि साँझ टुप्लुक्क आइपुग्ने र न्यानो काखमा आश्रय दिने आमा एकाएक आउनै छोडेपछि पवन न्यास्रिँदै बुबालाई सोध्थ्यो, ‘आपा, आमा कहाँ गयो ? कहिले आउँछ ?’

बलिभद्रलाई श्रीमती गुमाउनुको पीडा भन्दा नाबालक छोराको प्रश्नले बढी चिथोर्थ्यो । उत्तर दिनुअगाडि उनी पवनलाई डोर्‍याउँदै आँगनको डिलमा पुग्थे र आकाशको जुन देखाउँदै भन्थे, “उ त्याँ गएको छ तिम्रो आमा । तिमी माम खाएर चाँडै सुत्यौ भने भोलि बिहानै आइपुग्छ ।”

त्यति भनेपछि बल्ल पवन बुबाको छातीमा टाँसिन्थ्यो र निदाउँथ्यो ।

हरेक दिन त्यसरी नै गलामा वाक्य अड्काउँँदै र ओठ थर्थराउँदै बलिभद्र आकाशको जुन देखाएर पवनलाई भुलाइरहन्थे । प्रत्येक साँझ पवन आँगनको डिलमा जान्थ्यो र आमा गएको ठाउँ भन्दै जुनको आगमन पर्खिरहन्थ्यो । जुन नदेखिएको साँझ भन्थ्यो, “आपा, आज त आमा गएको ठाउँ नै देखिएन ।”

बलिभद्र भोलिको भाका राख्दै अनेकानेक कथा र गीत गुनगुनाएर पवनलाई सुताउँथे ।

पवनकी आमा धर्ती हराएको लगभग अठार महिनापछि एकदिन बलिभद्रले बाबरीमायालाई औल्याउँदै भने, “यी हेर त बाबु, तिम्रो आमा आइपुग्यो ।”

पवनले पनि केही दिनसम्म उनैलाई आमा ठान्यो । उनैको मायालाई सर्वोपरी मान्यो र खुसी हुँदै थियो । तर एकरात ओछ्यानमा बलिभद्रको छातीमा सुँकसुँकाउँदै पवनले भन्यो, “हैन यो मेरो आमा, मेरो आमा त मसँग सुत्थ्यो र मेरो निधारमा माया गर्थ्यो। आपासँग सुत्ने ! हैन यो मेरो आमा ।”

यसरी पवनले अनौठो व्यवहार देखाएपछि उसलाई फुल्याउन बलिभद्रले निकै मिहिनेत गर्नु परेथ्यो । उनले ‘बाबरी फूलको बासना सुन मेरी निरमाया…’ गीत गाएर धेरैबेर थमथमाउँदै पवनलाई सुताएका थिए ।

पवन ती दिनहरु सम्झँदै आजपर्यन्त आफ्नो श्रम, सीप र मिहिनेतले सबैलाई मोहित पार्दै आइरहेको छ । अहिले पवनका ओठ र गालामा दाह्रीका रेखी बसेका छन् । उसले स्कुल छोडेको पनि तीन वर्ष भइसकेको छ । सात पास गरेपछि एकदिन कान्छीआमाले भनिन्, “तैँले राम्रैसँग अक्षर चिनिसकिस्, अब पढ्नुपर्दैन । अब भाइबहिनीलाई पढाउनू, आपालाई काममा सघाउनू ।”

कान्छीआमाले त्यसो भनेपछि उसले केही भन्न सकेन । बाबरीमायाको जिद्दीका अघि बलिभद्रको पनि केही जोर चलेन ।

त्यसछिका दिनहरु पवनले बस्तुभाउ, घाँस, दाउरा र मेलापर्ममै बितायो । त्यसबीचमा उसले के मात्रै सिकेन । माटोढुङ्गाको काम, काठको काम, बाँसबाट बन्ने अनेक प्रकारका सामाग्री– डोको, घुम, कोक्रो, फिफीलगायत कुरुसले स्वीटर बुन्ने र नाम्ला, दाम्ला र डोरी बाट्ने कामसमेत सिक्यो । खेतीपाती सबै जान्यो ।

गाउँमा कसैको भैँसी फुक्यो भने पवन गुहारिन्थो । कसैका बच्चा जन्मिए भने कोक्रो बुन्ने जिम्मा पवनलाई हुन्थ्यो । चरनमा कसैका गोरु जुधे छुट्याउन पवन नै अघि सर्थ्यो । गाउँमा कोही बिमारी परे डोकोमा बोकेर अस्पताल पुर्‍याउन पवन हाजिर हुन्थ्यो । गाउँघरमा झिँगा मार्न परे पनि, भैँसी उचाल्नु परे पनि कुनै कुरामा नाइनास्ती नगर्ने पवन गाउँको नमुना जवान थियो ।

एकदिन पवन रित्तो डोको बोकेर सुसेलीले बिरही गीत गाउँदै घाँस काट्न ओरालो झर्दै थियो । उसले बाँसहरुमा केही टुक्रा कविता, सायरी देख्यो र बाटैमा डोको मिल्काएर कविता र सायरी सरसर्ती पढ्यो । केही कवितात्मक भावनाहरु पढ्दापढ्दै उसको मनमा पनि अनेक भावनाहरु खेल्न थाले । उसलाई केही लेखौँ–लेखौँ लाग्यो । काम्रोमा सिउरेको कचिया झिक्यो र टुप्पोले मिलाई–मिलाई सकेसम्म राम्रा अक्षर बनाउँदै लेख्यो :

मेरी जुन,
तिमी कहाँ छौ ?
सायद यसै धर्तीमा हौली
छौ भने कस्ती भएकी हौली !
मेरो मन
खुल्दुलीले पुतली भएको छ
कहिले आकाश पुग्छ, कहिले पाताल छिचोल्छ
मनभरिको माया साँचेर म तिमीलाई पर्खिबसेको छु
एकपटक भेटौँ न ल ।
–उही ‘पवन विरही’

लेखिसकेपछि पवन मुसुक्क हाँस्यो । उसको मन त्यसै–त्यसै कपासजस्तो हलुका भयो । सिमलको भुवासरि आकाशको चन्द्रमामा पुगेको आभास भयो ।

फुरुङग परेर ऊ अलि परतिर पुग्यो र फर्किएर आफैँले लेखेको हेरिरह्यो केही छिन । त्यसपछि भुइँको डोको टिपेर सुसेल्दै ओरालो झर्‍यो ।

पवनले उक्त कुरा कसैलाई लक्षित गरेर लेखेको थिएन । अरुले लेखेको पढ्दापढ्दै मनमा तत्काल जे उब्जियो त्यही लेख्यो र आकाशको जुनलाई समपर्ण ग¥यो अनि आफ्नो बाटो लाग्यो । केही समयपछि जङ्गलबाट घाँसको भारी बोकेर फर्कँदा आफैँले लेखेको कवितांश परैबाट हेर्‍यो । अक्षरहरु अझ चम्किला हुँदै थिए । ऊ अनायासै मुस्कुरायो । केही समय त्यहीँ सुस्तायो, शरको टोपी निकालेर पसिना पुछ्यो । दोभानबाट जङ्गलैजङ्गल आएको चिसो हावाले शरीर ओभाएपछि ऊ घाँसको भारी बोकेर उकालो लाग्यो ।

धेरै बटुवा जो मूलबाटोमा ओहोर–दोहोर गरिरहन्थे । सायद पहिलो पल्ट उनीहरुले नै पढे होला र बिर्सिए पनि होला । स्कुल जाने विद्यार्थीहरुले पढे होलान्, घाँस काट्न जानेले पढे होलान् । भारी बोक्नेले, बारी जोत्नेले, घाममा छाता ओढेर उकालो–ओरालो हिँड्नेले, पानीमा रुझ्दै भिज्दै हिँड्ने हली, किसान र खेतालालगायत कतिले पढे होलान् र बुझेहोलान् । कतिले बुझेर मुसुक्क मुस्कुराउँदै हिँडेहोलान् वा कुन चाहिँ उरन्ठेउलाले लेख्यो भन्ठाने होलान् । या कतिले कविताको भावार्थ आफैँ लगाए होलान् र घुटुक्क थुक निलेर हतारिँदै गन्तव्यतिर दौडिए होलान् ।

त्यही बाटो पटकपटक उकालो ओरालो गरिरहँदा पवन आफैँले लेखेका ती अक्षरहरु बारम्बार नियालिरहन्थ्यो । हेर्दाहेर्दै त्यो बाँस पनि छिपियोे । बाँस छिपिएसँगै बाँसमा लेखिएका ती अक्षरहरु पनि झनझन् प्रष्ट र स्पष्ट हुँदै गए । जवानीको पुरुष चिह्न, पवनका कैला दाह्रीजुँगा पनि निख्खर काला भएर प्रष्ट र स्पष्ट देखिन थाले ।

बाटो हिँड्दा पवनले जसलाई भेट्थ्यो उसैलाई मैले लेखेको हो भनौ–भनौ मान्थ्यो तर भन्दैनथ्यो । सँगै हिँडेको साथीले हेरि दिए पनि हुन्थ्यो जस्तो लाग्थ्यो । कसैले हेर्न वा पढ्न थाले ऊ थाहा नपाएझैँ गथ्र्यो । कसैले पढ्दै गरेको देखे अनायासै उसको मनमा खुसी सञ्चार हुन्थ्यो, ढुकढुकी बढ्थ्यो ।

एकदिन पवन, आफूभन्दा ठूलो स्याउलाको भारी बोकेर हिँड्दै गर्दा भारीसँगै मुन्टो घुमाएर बाँसतिर हेर्‍यो । त्यही बाँसमा ठीक तलतिर केही लेखेको देखेर हतारिँदै भारी बिसायो । त्यहाँ लेखिएको थियोः

म तिम्रै वरिपरी
तिम्रै मन मन्दिरमा घुमिरहेकी छु
तिमीलाई भेट्न नपाएर सिमल भुवाझैँ भएकी छु
हावालाई साथी बनाएर कहिले माथि जान्छु आकाशतिर
कहिले धर्ती ओर्लन्छु
म तिमीले कल्पना गरेभन्दा बढ्ता छु
छिट्टै भेटौँला है ।
– उही तिम्री ‘जुन’

पढ्दा पढ्दै पवनको मुटुको धड्कन बढ्यो । छिटोछिटो स्वास चल्न थाल्यो । शरीर तरंगीत भयो । उसलाई के गरौँ कसो गरौँ भयो । निकैबेर कल्पनामा हराएपछि त्यसैको ठीक तल एक आँख्लामुनि लेख्यो–

दोभानमा जसरी भेटिन्छन् दुई नदी
त्यसरी नै
म छहराझैँ आउँला
तिमी झरनाझैँ आऊ
यही दोभानबाट
एउटै खोलो भएर बगौंला र हराउँला
जिन्दगीको महासागरमा
वा ताराजस्तै चम्कौँला एउटै आकाशमा
जुनीजुनीसम्म सँगसँगै
–उही ‘पवन बिरही’

यति लेखेर ऊ मुस्कुरायो, थाप्लोमा नाम्लो हाल्यो र उकालियो गन्तव्यतर्फ ।

त्यसपछिको धेरै समय पवनको दिनचर्या गोठालो–खेतालो, घाँस–दाउरा, अर्मपर्ममै चलिरहेको थियो ।

एकदिन दिउँसै डरलाग्लो मेघ गज्र्यो । पहाडको टुप्पोतिरबाट ओरालो बतास चल्यो । छिनमै असिना पानी पर्ने र छिनमै घाम लाग्ने प्रकृतिको अनौठो लीला देखियो । त्यही दिन अपरान्हतिर एउटा सनसनीपूर्ण खबर फैलियो । खबरले गाउँ सहर र समग्र देशनै स्तब्ध भयो । भदौरे गाउँकी एघार कक्षामा अध्ययनरत जुनकुमारी स्कुलबाट फर्कने क्रममा बाटैमा बलात्कृत भइन् । मरणासन्न अवस्थामा उनको उद्दार गरियो । खबर फैलिएसँगै गाउँ समाज र सम्पूर्ण देशनै बलात्कारीको खोजीमा जुट्यो ।

हरेक तह र तप्काबाट द्रूततर रुपमा खोजी हुँदा पनि निकै दिनसम्म अपराधी फेला परेन । चोक, चौतारा, हाटबजार, धारापँधेरा, मेलापात, गोठाला जहाँ चारजना मान्छे भेला हुन्थे त्यहीँ जुनकुमारीको कुरा हुन्थ्यो । कोही भन्थे– अपराधी कुनै दलीय शक्तिको आडमा छिपेको छ । कोही भन्थे– बलात्कारी यही गाउँको कुनै सामन्त हो, ऊ दौलतको पर्दाले छेकिएको छ । अर्कोले कुरा काट्थ्यो– हैन, अपराधी टाढाको नभएर परिवारभित्रकै कोही हुनु पर्छ । नत्र, किन अहिलेसम्म गुपचुप भयो ।

यसरी एउटाको कुरा सकिँदा नसकिँदै अर्कोले थपिहाल्थ्यो । शंका–उपशंकाहरु जोडिँदै जान थाले । अपराधीलाई माथिको आदेशबाटै लुकाइएको छ, किनकी कस्ताकस्ता अपराधी ठाउँको ठाउँ समातिएका छन्, छिनको छिनमै घटनाको फेहरिस्त प्रस्तुत हुन्छ । यही घटनाको दोषी चाहिँ कसरी अहिलेसम्म पत्ता लाग्न सकेन त ? यसरी प्रश्नमाथि प्रश्न थपिए । आशंकामाथि आशंका जन्मन थाले ।

घटनाका विश्लेषकहरु दिन दुगुना रात चौगुना बढ्दै गए । कसैले यही घटनाको आडमा आफूलाई बज्रुक सावित गरे । रातारात बडो मानिस भनाउन पछि परेनन् । यसरी एकपछि अर्को अड्कलबाजीहरु दिनानुदिन बगरमा बालुवाझैँ थुप्रँदै, फोहोरको डङ्गुरझैँ चुलिँदै र गन्हाउँदै गए । गाउँ–सहर जताततै अपराधको दुर्गन्ध टियर ग्याँसको धुवाँझै फैलियो र सबैलाई रुवायो ।

महिनौसम्म घटनाको कुनै दसी फेला परेन ।

एक कान दूईकान मैदान भनेझैँ त्यो जघन्य अपराधको खबर बालक, बृद्ध, जवान सबैका कानकानमा त्रास भएर घुस्यो । घरघरमा आतङ्कझैँ फैलियो । हरेक घरका अभिभावक आफ्ना छोरीचेलीको असुरक्षाले त्रसित बने । भदौरे र माझगाउँ मात्र होइन देशैभरका घरघरलाई त्रासदीले अशान्त बनायो । गाउँलेहरु डरपोक बन्न थाले । एक प्रहर रात रहँदै तीनआँख्ले तारा हेरेर उन्मुक्त चुलोचौका गर्ने, ढिकी जाँतोमा लाग्ने, लोक भाका गुनगुनाउँदै पँधेरातिर लाग्ने आमा र छोरीबुहारीहरु घरभित्रै खुम्चिन थाले । आफ्नै कोठेबारी र घुर्‍‍यानसम्म पुग्न पनि आँट मार्न थाले ।

सुरक्षा र अनुसन्धानमा खटिएकाहरु गाउँगाउँमा भेटिन थाले । शंकाको घेरामा परेकाहरु गुपचुपमै समातिए र गुचुपमै छोडिए । पहुँचवालाहरु तत्काल छोडिए । सर्वसाधारणलाई विभिन्न ताडना दिएर तारेखमा छोडियो । वास्तविक अपराधीको किटानी भने कसैले गर्न सकेन ।

एकदिन अनुसन्धानकै क्रममा अपराधका केही आधार फेलापरेको चर्चा चल्यो ।

अर्को दिन राष्ट्रिय स्तरका अखबार र रेडियोहरुले ‘जुन’ भनिने जुनकुमारी गहतराज र ‘पवन’ भनिने पवनकुमार चाम्लिङबीच प्रेम सम्बन्ध रहेको समाचार प्रवाह गरे । बाँसमा प्रेमपत्र साटासाट गर्दै झाँगिएको प्रेमले बलात्कारसम्मको रुप लिएको निश्कर्ष सार्वजनिक भयो ।

गाउँमा पवनकुमारको खोजी हुन थाल्यो । त्यसैदिन माझगाउँको पवनकुमार हराएको हल्ला फैलियो । ऊ हराएपछि गाउँ झन् त्रासमा पर्‍यो ।

गाउँभरीको असल युवक; बालकदेखि र बृद्धसम्मको प्रिय, मेलापर्म, गाह्रोसाह्रो र अप्ठेरोमा सबैको सहयोगी, डोको, खुँगी, ढडिया, कोक्रो, महला बुन्नेदेखि नाम्लो, दाम्लो, डोरी, लठारोसम्म बाट्ने सीप भएको, वृद्धवृद्धालाई गाँठेलौरी, छातेलौरी र टेकुवासम्म बनाउन निपुर्ण, माटाको भाँडादेखि ढुङ्गाको मूर्ति कुँद्नेसम्मको पाषाण कलामा कुशलता भएको, काठका झ्याल, ढोका र बुट्टेदार चौकोस, कन्तुर र खाटबाकस लगायत अनौ, हलो, जुवा रहरिसबनाउने काष्ट कलामासमेत माहिर, गाउँको एक होनहार युवा; केवल नामसँग मिल्दोजुल्दो बाँसमा लेखिएको कवितात्मक भावनाकै कारण दोषी बनाइएको हो कि वास्तविक दोषी हो ?

आज वर्षौँ बितिसक्यो गहतराज परिवारकी एक्लो सन्तान जुनकुमारी अस्पतालको बेडमा अर्धमृत अवस्थामा छटपटाइरहेकी छन् । परिवारले शोकको हुण्डरी खेपेको खेप्यै छ । छोरीको नाम जप्दाजप्दै जुनका बुबा र आमा आकाशमा विलय हुन लागिसके । उनीहरुका आँसुको बाढी समुन्द्रसम्म पुगिसक्यो होला, मिसियो होला नुनिलो पानीमा ।

त्यही घटनाका कारण पवनका बुबाको हृदयघातले मृत्यु भयो । कान्छी आमा घरखेत, जग्गा जमिन त्यसै छोडेर पँखेटा काटिएका जुरेलीजस्ता चार सन्तान डोर्‍याउँदै आफन्तकोमा आश्रय माग्दै तराई झरिन् । आधाजसो गाउँलेहरु पनि बसाइँ सर्न बाध्य भए । आजभोलि ती घरका धुरी र आँगनमा बन्सो उम्रिएको छ । जमिन बाँझै छन् । सिमखेतमा उत्तिसको राज छ ।

आज दशौँ वर्ष बितिसकेको छ ।

कहाँ होला पवन ? कसैलाई कुनै मेसो छैन । कस्ती भइन् होला जुन ? कसैलाई चासो छैन । यस्ता रहस्यको गर्भमा कति घटना होलान् ? कति पात्र होलान् ? यो त एउटा प्रतिनिधि घटना मात्रै हो । ‘पवन’ र ‘जुन’ प्रतिनिधि पात्र मात्रै हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment