+
+

पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारी साधन अलपत्र

देवराज सुवेदी/रासस देवराज सुवेदी/रासस
२०७७ असार ९ गते ८:२६
सां‌केतिक तस्वीर

९ असार, मेलम्ची । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारिदिएपछि अहिले तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनरहरू बाटोमै अलपत्र परेर थन्किएका छन्।

ढुङ्गासहित पहिरो खसेपछि तातोपानी भएर भित्रिने मालवाहक सवारीसाधन बीच बाटैमा अलपत्र परेका हुन् । तातोपानीको लिपी बजारदेखि २०० मिटर नजिकै भिरमा पहिरो गएपछि १४ कन्टेनर बाटोमै रोकिएका हुन् । लिपी भिरमा पहिरो गएपछि धेरै कन्टेनरहरू नाकामै रोकिएका छन् ।

चीनबाट फर्किएका कन्टेनरहरूमा कोरोनाबाट बच्ने स्वास्थ्य सामग्री भएको इलाका प्रहरी कार्यालय कोदारीले जनाएको छ । तातोपानी नाकामा करिब ५० ट्रक र कन्टेनर रोकिएका छन् । यसअघि पनि सोही ठाउँमा पहिरो खस्दा बाटो अवरुद्ध हुने गरेको थियो । बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

भोटेकोसी आयोजना र मध्यभोटेकोसी आयोजनासँग समन्वय गरेर बाटो बनाउने काम भइरहेको भोटेकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन निरौलाले बताए। कोरोना भाइरसको महामारीका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुन: सञ्चालनमा आएको थियो ।

तत्कालीन अवस्थामा स्वास्थ्य सामग्री र कृषि क्षेत्रका सामानहरु मात्र आयात गर्नका लागि खोलिएको तातोपानी नाकाबाट अहिले सबै प्रकारका सामग्रीहरू आयात हुने गरेको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए । यता कपडा, जुत्ता, चप्पल, खाद्यान्न, विद्युतीय उपकरणलगायतका सामग्री लिन चीनतर्फ जान लागेका करिब ५० भन्दा बढी कन्टेनर र ट्रकहरू पनि बाटोमै अलपत्र छन् ।

विपद्को जोखिममा तातोपानी क्षेत्र

तातोपानी क्षेत्र विपद्को उच्च जोखिममा पर्दछ । चीनसँगको व्यापारिक नाका तातोपानीमा बाढी, पहिरो, सुक्खा पहिरो र ढुङ्गा खस्नेजस्ता समस्याका कारण स्थानीयवासीलाई त्रसित बनाउने गरेको छ ।

बाह्रबिसेको खुर्सानीबारीदेखि तातोपानीको लिपिङसम्मका बस्तीे दुई पहाडबीचबाट बग्ने भोटेकोसी नदीको किनारमा पर्दछ । भोटेकोसी र ठाडोखोलाको बाढी र पहिरोले कच्ची घरहरू पूरै भत्किएका छन् । बाढी, पहिरोको समस्या मात्रै होइन, भिरबाट खस्ने ठूलाठूला ढुङ्गाको जोखिम पनि उत्तिकै छ । यी सबै समस्याले गाती, झिर्पु, कोदारी र लिपिङ क्षेत्रमा कहिल्यै पनि त्रास नहटेको गाउँपालिकाका स्थानीय गणेश श्रेष्ठले बताए ।

वर्षातमा हुने पहिरोको जोखिम त छँदैछ, हिउँदमा पनि सुक्खा पहिरोले सताउने गरेको छ । पानी पर्नेबित्तिकै भोटेकोसी नदीमा आउने बाढीको डर एकतिर छ भने वर्षाकै कारण मुख्य सडक पनि भास्सिएका छन् । ठूला दुई पहाडबीच बग्ने नदी छेउको बसाइँ त्रासपूर्ण भएको स्थानीय निङ्मा शेर्पा बताउँछन‍् ।

गाउँपालिकाको तातोपानी क्षेत्रका प्राय सबै बस्तीहरू खोला र पहिरोको उच्च जोखिममा छन् । अतिजोखिममा रहेका बस्तीहरूलाई तारजाली तथा स्थानान्तरणको व्यवस्था गर्ने योजना बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिए ।

विपद्को अवस्था हेरेर जिल्ला विपद् व्यवस्थापन समितिले पनि काम गरिरहेको छ । बाढी, पहिरो र पानीबाट पर्ने समस्याका साथै कोरोना भाइरसलाई समेत समेटेर समितिले पूर्वतयारीको काम गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । उनले अति जोखिममा रहेका लार्चा खोला आसपासका बस्तीहरूमा विज्ञको टोलीले अध्ययन गरिरहेको र अध्ययनको निष्कर्षअनुसार अगाडि बढ्ने बताए ।

विपद्का दृष्टिले उच्च जोखिमको सूचीमा रहेको भोटेकोसी क्षेत्रमा हुने समस्या सामाधान गरिनुपर्ने स्थानीयवासीको माग छ तर हालसम्म जोखिमपूर्ण बस्तीको व्यवस्थापन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?