Comments Add Comment

जब संक्रमित नै बिरामीलाई उपचार गराउन हिँडे

९ असार, डोटी । डोटीको आदर्श गाउँपालिका–२ का ६२ वर्षीय एक पुरुष गत जेठ १३ गते भारतको गुजरातबाट आए । उनी स्थानीय शारदा माविको क्वारेन्टिनमा १५ दिन बसे । २९ गते उनको र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा नतिजा नेगेटिभ आयो । उनीसँगै क्वारेन्टिनमा बसेका केही व्यक्तिहरूको पीसीआर परीक्षणका लागि स्वाव संकलन पनि गरियो ।

र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको भन्दै ६२ वर्षीय ती पुरुषलाई एक साता क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइयो । घरमै क्वारेन्टिनमा बसेको एक साता पूरा भइसक्दा पनि उनको स्वाव परीक्षणको नतिजा आएन । उनको रिपोर्ट स्वाव संकलन गरेको १० दिनपछि शनिबार मात्रै आयो । रिपोर्टले उनी संक्रमित भएको देखायो । जब उनको रिपोर्ट पोजेटिभ आयो तब उनको खोजी भयो । उनी त बिरामी छिमेकीलाई उपचार गराउन धनगढी पो गएका रहेछन् ।

‘छिमेकी बिरामी भएपछि एम्बुलेन्समा लिएर धनगढी जानुभएको रहेछ,’ वडाध्यक्ष रामबहादुर बोहराले भने, ‘हामीलाई कुनै जानकारी थिएन ।’ वडाध्यक्ष बोहराले थपे, ‘यतिका दिनसम्म कति जनाको सम्पर्कमा गए अब कसरी ट्रेसिङ गर्ने होला ।’

उनका अनुसार आरडीटी टेस्टमा नेगेटिभ आएपछि ती पुरुषलाई पीसीआर रिपोर्ट नआएसम्म होम क्वारेन्टिनमा बस्ने शर्तमा घर पठाइएको थियो ।

क्षयरोगका बिरामीलाई लगेर उनी एकदिन धनगढी उपमहानगरपालिकाको बोरोडाँडीस्थित आफन्तको घरमा बसेको खुलेको छ । ‘हाम्रो घरमा एक रात बस्नुभएको थियो, कोरोना पोजेटिभ रहेछन् भन्ने कुरा अहिले मात्र थाहा भयो,’ बोरोडाँडीका उनका आफन्तले भने, ‘कतै हामीलाई पनि संक्रमण भएको त छैन भन्ने पिर परिरहेको छ ।’

धनगढीबाट उनी गोदावरी नगरपालिकाको लालपुरस्थित आफन्तको घरमा आएका थिए । उनलाई फेला पारेर सोमबार कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी क्याम्पसको क्वारेन्टिनमा ल्याइसकिएको आदर्श गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बमबहादुर खड्काले जानकारी दिए । ‘गोदावरी नगरपालिकासँग समन्वय गरी हामीले ती व्यक्तिलाई क्वारेन्टिनमा राखिसकेका छौं,’ खड्काले भने, ‘उनलाई डोटी ल्याउनका लागि एम्बुलेन्सको खोजी भइरहेको छ ।’

उनको सम्पर्कमा आएका सबै व्यक्तिहरूको स्वाब परीक्षण गर्ने तयारी भइरहेको खड्काले बताए ।

खड्का भन्छन्– आरडीटीले धोका दियो

आदर्श गाउँपालिकाका अनुसार अहिलेसम्म आरडीटी परीक्षणमा नेगेटिभ देखिएका आठ जनाको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको छ । वडा नं.२ का दुई, ३ का दुई, ४ का तीन र वडा नं. ६ का एक जनामा आरडीटी नेगेटिभ देखिएकोमा पीसीआर पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख खड्का बताउँछन् । उनी भन्छन्, ‘आरडीटीले हामीलाई धोका दियो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment