
१० असार, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४ अर्ब ७९ करोड १५ लाख ६२ हजार ५ सय १५ रुपैयाँको बजेट विनियोजन गरेको छ । बुधबार महानगरमा मेयर चिरीबाबु महर्जनले बजेट सार्वजनिक गरेका हुन् ।
महानगरले कारोनाका कारण क्षति पुगेको अर्थतन्त्रलाई उकास्न विशेष नीति लिएको जनाएको छ । कारोना संक्रमण फैलिन नदिन गरिएको लकडाउन अवधिको विभिन्न करमा १० प्रतिशत छुट दिने मेयर महर्जनले बताए ।
बजेटमा करसम्बन्धी नयाँ कार्यक्रमहरू पनि समावेश भएका छन् । विद्युतीय माध्यमबाट कर तिर्न सकिने र निःशुल्क रुपमा कर चुक्ताको प्रमाण पत्र उपलब्ध गराउने महानगरको नीति छ ।
यसैगरी महानगरले सम्पत्ति करमा कडा रुपमा प्रस्तुत हुने नीति लिने भएको छ । बैङ्कमा खाता खोल्न, खानेपानीको धारणा जडान गर्नेलगायत कामका लागि सम्पत्ति कर चुक्ताको प्रमाण पत्र पेश गर्नैपर्ने नीति लिने महानगरले बताएको छ ।
यसका लागि सम्बन्धित कार्यालयहरूसँग समन्वय गरिने महानगरको बजेटमा उल्लेख छ ।
प्रतिक्रिया 4