+
+
Shares

आलोपालो छाडेर गल्ती गरेछु, ओलीमा अहंकारमात्र बढ्यो : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १० गते २०:४०

१०, असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् ।

बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले आफू निराश बनेको अनौपचारिक प्रतिक्रिया दिएको स्रोतले अनलाइनखबरलाई बतायो ।

जेठ २ को सहमतिको स्मरण गरेका हुन् । सरकार र पार्टीलाई केही फाइदा होला कि भनेर आफूले पाँच वर्ष नै अर्का अध्यक्ष केपी शर्मा ओलीलाई सरकार चलाउन दिने सहमति गरेको भए पनि त्यसो नभएको उनले बताएका छन् ।

‘सरकार र पार्टीलाई केही फाइदा हुन्छ कि भनेर मैले छाडेँ । तर, त्यसले अहंकार बढ्यो’ प्रचण्डको भनाइ उधृत गर्दै स्रोतले भन्यो, ‘आलापालो छाडेर गल्ती गरेँ भन्ने लाग्छ ।’

पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गर्न सक्ने काम पनि नगरेको प्रचण्डको विश्लेषण छ ।

बाहिरबाट पार्टी र सरकारलाई असफल बनाउने प्रयत्न हुनु स्वभाविक भएको बताउँदै प्रचण्डले भने, ‘सरकारले राम्रो काम गर्न नसक्नुको मुख्य कारण आन्तरिक नै हो ।’

साम्यवादमा पुगेपछि पार्टी नचाहिने भन्ने आफूहरुको विश्लेषण भए पनि अहिले नै पार्टी विलीन हुने अवस्था आएको प्रचण्डले बताएका छन् । ‘गुटहरु छन् तर पार्टी छैन जस्तो भएको छ’ प्रचण्डको भनाइ उधृत गर्दै एक नेताले बताए ।

अब पार्टीका नेताहरु ‘सामू फाइट टू फिनिस’ संघर्ष गर्ने र एकतावद्ध हुने मात्र विकल्प भएको प्रचण्डले बताएका छन् । संघर्षको बाटोमा जाँदा पार्टी फुट्ने उनले बताए । तर, कुनै हालतमा त्यो बाटो रोज्न नहुने भन्दै उनले एकतामा जोड दिए ।

यसका लागि सबैले आफ्नो गल्ती कमजोरीप्रति आत्मालोचित हुने र त्याग गर्न तयार हुनुपर्ने प्रचण्डले बैठकमा बताए । उनले भने, ‘मैले गल्ती गरेको भए म सच्चिनुपर्छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्रीले गल्ती गएको भए उहाँ सच्चिनुपर्छ र त्याग गर्न तयार हुनुपर्छ । पार्टीलाई एकतावद्ध बनाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?