Comments Add Comment

स्थायी कमिटीका सदस्यको आपत्तिपछि नेकपा बैठकको एजेण्डा फेरियो

Photo Credit : RSS

१० असार, काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठक झण्डै सात महिनापछि बुधबार बालुवाटारमा बस्यो । तर बैठकको सुरुमा नै नेतृत्वले विरोधको सामना गर्नुपर्‍यो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकका एजेण्डामै स्थायी कमिटीका सदस्यहरूले आपत्ति जनाएका छन् ।

अध्यक्षद्वयका तर्फबाट भन्दै महासचिव विष्णु पौडेलेले बैठकको सुरुमा पाँच बुँदे एजेण्डा प्रस्तुत गरेका थिए ।

बैठक बोलाउँदैखेरि स्थायी कमिटीका सदस्यहरूलाई यी एजेण्डाहरूमाथि छलफल गरिनेछ भनेर पहिल्यै सूची पठाउनुपर्ने नेकपाको प्रचलन थियो । यसका लागि पहिले सचिवालयको बैठक बस्ने र त्यसले तयार पारेका एजेण्डाहरू स्थायी कमिटीमा प्रस्तुत गर्नुपर्नेमा सचिवालयको बैठक नै नबसी महासचिवले बैठकमा एजेण्डाहरू सुनाएका थिए ।

बुधबार बिहान विनाएजेण्डा स्थायी कमिटीका नेताहरूलाई बालुवाटार बोलाइएको थियो । बैठकमा आएसकेपछि मात्र महासचिव पौडेलले ‘अध्यक्षद्वयका तर्फबाट’ भन्दै एजेण्डाहरू प्रस्तुत गरे ।

महासचिव पौडेलले प्रस्तुत गरेका एजेण्डा यस्ता थिए–

१, वर्तमान परिस्थिति र स्थायी कमिटीको बैठकका सम्बन्धमा अध्यक्षद्वयको मन्तव्य

२. सरकारको कामका सम्बन्धमाः

क) कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचार सम्बन्धमा

ख) नेपालको सीमा समस्या र समाधान

ग) अन्य

३. पार्टी एकीकरणका बाँकी काम

४. एमसीसीका सम्बन्धमा

५. विविधि ।

तर स्थायी कमिटी सदस्यहरूले महासचिवबाट प्रस्तुत एजेण्डामा आपत्ति जनाए । सरकार र पार्टीको कामबारे समीक्षालाई प्राथमिकतामा नराखेको भन्दै नेताहरूले विरोध जनाए ।

भीम रावल, अष्ट्रलक्ष्मी शाक्य, लीलामणि पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डेलगायतका नेताहरूले बोले । उनीहरूले सरकारका कामबारे स्थायी कमिटीमा समीक्षा गर्नुपर्ने माग गरे । साथै, पार्टी एकताका बाँकी काम अब पुरानो एजेण्डा भइसकेको भन्दै समग्र पार्टी सञ्चालनकै समीक्षा गर्न माग गरे ।

‘पार्टी विधि पद्धतिअनुसार चलेको छैन, यसको समीक्षा गर्नुपर्छ भनेर नेताहरुले धारणा राख्नुभयो’ एक नेताले भने, ‘त्यसपछि बैठकको एजेण्डा पुनर्लेखन भयो ।’

स्थायी कमिटीका सदस्यहरूको आपत्तिपछि बैठकका परिमार्जित एजेण्डाहरू यसरी तय गरियो–

१. अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य

२. कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्ने

३. सीमा समस्या र समाधानबारे

४. सरकारको कामको समीक्षा

५. पार्टी कामको समीक्षा र सांगठिनक एकताको पूर्णता

६. एमसीसीबारे

७. विविधि

प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीहरूलाई बताएअनुसार विविध एजेण्डामा एक महिनाअघि भएको रुकुम घटना र हालै मात्र राज्य व्यवस्था समितिले सांसदमा पेश गरेको नागरिकता विधेयकबारे छलफल हुनेछ । यस्तै, सांसद र प्रदेशसभा सदस्यको बैठक भत्ता नलिने विषयमा पनि छलफल हुनेछ ।

यी एजेण्डाहरू तय गरेपछि बल्ल दुवै अध्यक्षले बोले । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले सरकारको कामकारबाहीको बचाउ गरे । पार्टीभित्रैबाट प्रतिपक्षको भूमिका खेलेको भन्दै उनले असन्तुष्टि जनाए ।

बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर आफूले गल्ती गरेको महसुस भएको टिप्पणी गरे ।

दुवै नेताले बोलेपछि बैठक पर्सि १२ गते ११ बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment