Comments Add Comment

डोटी बोगटान गाउँपालिकाको बजेट ४१ करोड ३५ लाख

१० असार, डोटी । डोटीको बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४१ करोड ३५ लाख ८९ हजार ६ सय ९० रुपैयाँको बजेट ल्याएको छ ।

जसमध्ये चालुतर्फ २० करोड ५६ लाख ६७ हजार र पुँजीगततर्फ २० करोड ७९ लाख २२ हजार ६ सय ९० रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकारले जानकारी दिए ।

गाउँपालिकाले ‘बेरोजगार युवालाई स्वरोजगार, श्रमशक्तिको व्यवस्थापन’ भन्ने नारा दिएको छ । युवालाई प्रत्यक्ष उत्पादनसंग जोड्ने उद्देश्य राखिएको गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिला ‘एनान’ ले जानकारी दिए । उनका अनुसार गाउँपालिकालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने र कृषि क्षेत्रबाटै युवाहरुलाई स्वरोजगार वनाउने लक्ष लिइएको छ । कृषि र पशुपालनमा युवाहरुलाई अनुदान प्रदान गर्ने, सीप र प्रविधिहरु हस्तान्तरण गर्ने गाउँपालिकाको सोच छ ।

रोजगारीको सिलसिलामा भारत तथा तेस्रो मुलुक गएका युवा कोरोना भाइरस (कोविड–१९) को महामारीका कारण घर फर्किएकाले उनीहरुको श्रम र सीपलाई गाउँकै विकासमा लगाइने अध्यक्ष गडसिलाले बताए । सडक मर्मतमा मेसिनको प्रयोगलाई निरुत्साहित गर्दै अन्य विकास निर्माणका काममा पनि युवाहरुको दक्ष, अर्धदक्ष र अदक्ष श्रमको समुचित प्रयोग गर्ने व्यवस्था मिलाइने नीति रहेको उनले बताए ।

गाउँ सभामा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिकाका उपाध्यक्ष भगवती बमले यस बर्षको वजेटले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताइन् । उनले गाउँपालिकाभित्र १५ शय्याको अस्पताल स्थापना गर्ने, स्वास्थ्य संस्थाहरुको स्तरोन्नति गर्ने, स्वास्थ्यकर्मीहरुको अभाव हुन नदिन ठोस पहल गर्ने बताइन् ।
नीति तथा कार्यक्रममा ‘गरीवसंग अध्यक्ष’ र ‘महिलासंग उपाध्यक्ष’ भन्ने बिगतको कार्यक्रमलाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment