Comments Add Comment

रोमेरोले तोडे ८० वर्ष पुरानो कीर्तिमान, बने ला लिगामा कान्छा खेलाडी

११ असार, काठमाडौं । स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा मालोर्का रियल मड्रिडसँग २-० ले पराजित भयो । तर मालोर्काका लुका रोमेरोले भने कीर्तिमान बनाए । खेल सकिन ७ मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लुका रोमेरोले ला लिगा खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाए ।

युथ लेभलमा अर्जेन्टिनाको लागि खेलेका यी मेक्सिकन खेलाडीले १५ वर्षको उमरमै ला लिगामा डेब्यु गरेका हुन् । रियलविरुद्ध खेल्दा उनी १५ वर्ष २१९ दिनका थिए । स्टडियो डे स्टेफानोमा भएको खेलमा रोमेरो इड्रिसु बाबुको स्थानमा ८३औं स्थानमा मैदान प्रवेश गरेका थिए ।

रोमेरोले ८० वर्ष पुरानो कीर्तिमान तोडेका छन् । सन् १८३९-४० को सिजन सेल्टाभिगोका सानसोनले १५ वर्ष २५५ दिन हुँदा कान्छा खेलाडीको कीर्तिमान बनाएका थिए ।

रोमेरो अर्जेन्टिनी बाबुबाट मेक्सिकोमा जन्मेका हुन् । उनका बुबा डिएगो एड्रिन रोमेरोले मेक्सिकोमा अलाक्रानेसका लागि फुटबल खेल्दा २००४ मा लुका रोमेरो मेक्सिकोमा जन्मिएका थिए । मेक्सिको र अर्जेन्टिना दुवै देशका लागि खेल्न सक्षम रोमेरोले अर्जेन्टिनाका लागि यू १५ लेभलमा खेलिसकेका छन् ।

खेल्ने शैलीका कारण रोमेरोलाई बार्सिलोना लेजेण्ड लिओनल मेसीसँग तुलना गरिन्छ । उनलाई मेक्सिकन मेसीको उपनाम समेत दिइएको छ । उनी सात वर्ष हुँदा नै बार्सिलोनाको ट्रायलमा गएका थिए तर उनको परिवारले त्यहाँ जान मन गरेनन् ।

‘हामीले उनी १२ वर्षको हुँदादेखि हेरिरहेका छौँ तर हामीले कहिल्यै उनलाई चाँडै प्रमोसन गर्न चाहेनौँ किनकी हामीले उनको केयर गर्नुपर्ने थियो,’ मालोर्काका प्रशिक्षक डानी पेन्डिनले भनेका छन् ।

पेन्डिनले शारीरिक रुपमा पूर्ण विकास नहुँदासम्म उनलाई सिनियर खेलाडीसँग खेल्न समस्या हुन्छ भनेर नखेलेको बताए । अहिले उनी खेल्न फिट भएको उनले बताए ।

कोरोना भाइरस महामारीपछि सुरु भएको लिगमा उनले टिमसँगै प्रशिक्षण गरेका थिए । भियारियालविरुद्धको खेलका लागि उनी टिममा थिए । यस्तै लेगानेसविरुद्धको खेलमा उनी बेन्चमै सीमित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment