
राजनीतिक विश्लेषक सौरवले केही समयअघि भनेका थिए –‘ओलीपछिको प्रधानमन्त्री राष्ट्रपति (विद्यादेवी भण्डारी)’ । सुन्दा पनि अचम्मै लाग्ने । उनको अन्तरवार्ता हेर्दै गर्दा मैले पनि अचम्म मानेकी थिएँ ।
बुधबार पुरानो कुराको स्मृति ताजा भयो । राष्ट्रपति कार्यालय अर्थात् स्वयम् राष्ट्रपतिले मुलुकको राजनीतिमा देखाएको चासोले सौरभको तात्कालीन विश्लेषणको सम्झना गरायो ।
बुधबार बिहान नेकपाका केही नेताहरुसँग छलफल गरेकी राष्ट्रपति भण्डारीले बालुवाटारमा बसेको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टीबाट घेराबन्दीमा पार्ने काम भएपछि चियापानको आयोजना गरिन् ।
मुलुकमा लकडाउन जारी छ । लकडाउन खुकुलो मात्रै बनाइएकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन र सामाजिक कार्यमा १५ जना भन्दा बढी भेला नगर्न सरकारका मन्त्रीले पटक–पटक जनतालाई निर्देशन गर्दै आएका छन् ।
बुधबार नै कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको थियो । एकै दिन ६ सय २९ जना संक्रमित बढेका थिए । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसमा बसेका धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदाले पखाला लाग्दा जीवनजल नपाएर ज्यान गुमाए ।
शासन सत्ता जनतालाई सुम्पेर सर्वसाधारणको जीवन निर्वाह गरिरहेका पूर्वराजा ज्ञानेन्द्रले कोरोना कहरमा चिन्ता व्यक्त गर्दै असारमा पर्ने आफ्नो जन्मदिनलाई नमनाउने घोषणा गरे । जनताका प्रतिनिधिले भने राष्ट्रियताको सवालमा जुटेको अभुतपूर्व एकताका लागि धन्यवाद दिन भन्दै महामारीमा उत्सव मनाए ।
जनता लकडाउनमा छन् । सर्वसाधरणको दैनिकी कष्टपूर्ण बनेको छ । पीसीआर परीक्षण बढाउन र क्वारेन्टिन र आइसोलेसनलाई व्यवस्थित पार्न माग गर्दै दैनिकजसो सरकारविरुद्ध सडकमा नाराबाजी हुने क्रम बढ्दै गएको छ ।
सर्वसाधारणलाई लकडाउन छ । हुने खाने र सम्पन्नशालीले त निजी सवारी साधनमा हुइँकेलान् । तर, सार्वजनिक सवारी साधन सञ्चालन नहुँदा कैयौंले समयमै अस्पताल पुग्न नसकेर मृत्युवरण गर्न पुगेका छन् । कयौं गर्भवतीहरु सुत्केरी हुन नसकेर ज्यान गुमाएका छन् । दैनिक श्रम गर्ने बर्ग श्रमबाट बञ्चित हुँदा हातमुख जोर्न नसकेर आत्महत्या गर्न बाध्य छन् ।
संघीय गणतन्त्र नेपालको प्रमुख पद भनेको राष्ट्रपति हो । सम्मान, आस्था , विश्वास, मर्यादा र भरोसाको सम्मानित पद । राष्ट्रपति अभिभावक हो । सार्वजनिक पदाधिकारीहरुले आदर्श र अनुकरणयोग्य जीवनशैली अपनाउनुपर्छ । स्वार्थहीनता, सदाचारिता, वस्तुपरकता, नेतृत्व, इमान्दारिता, खुलापन, जवाफदेहिता, सार्वजनिक जीवनका सिद्धान्तहरु हुन् ।
सार्वजनिक व्यक्तिमा मैले कसैलाई जवाफ दिनुपर्छ भन्ने उत्तरदायित्व बहन हुनुपर्छ । संकटमा जवाफदेही, उत्तरदायीविहीन सार्वजनिक व्यक्ति र संस्थाको क्रियाकलापले जनतामा सन्देश राम्रो जाँदैन ।
विगतमा पनि साना मसिना विषयमा पनि राष्ट्रपतिमाथि नकारात्मक टिप्पणी हुदै आएका छन् । यसमा कतै न कतै संस्थागत व्यवस्थापनको कमजोरी देखिन्छ । कतिपय अवस्थामा विषयवस्तुबारे राम्रोसँग सूचना प्रवाह गरिँदैन । फलतः सर्वसाधारणले त्यसलाई गलत अर्थ लगाउँछन् । अथवा पत्रकारहरु कराउँदै गर्छन् कसैले केही गर्न सक्दैन भन्ने अहम र हेलचेक्र्याइँका कारण विषयवस्तुको गाम्र्भीयलाई नजरअन्दाज गर्दा संस्था नै आलोच्य बन्छ । अन्ततः त्यसले सर्वसाधारणमा संस्थाप्रति नै वितृष्णा पैदा गरिदिन्छ ।
भारतद्वारा अतिक्रमित भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी आफ्नो पक्षमा ल्याउने एजेण्डामा देखिएको राष्ट्रिय एकताका लागि धन्यवान दिनका लागि रात्री भोज नै गर्नु आवश्यक थियो ? त्यो पनि यो गम्भीर संकटका समयमा । धन्यवाद नै दिनु थियो भने राष्ट्रपतिले सार्वजनिकरुपमा विज्ञप्तिमार्फत दिन सकिन्थ्योे वा संघीय संसदमा धन्यवाद पत्र पठाउन सकिन्थ्यो । त्यो संसदको सम्पत्ति बन्थ्यो अनि जनताले पनि थाहा पाउथे । यसले संसदीय प्रणालीलाई बलियो बनाउँथ्यो । जनतामा सन्देश राम्रो जान्थ्यो ।
राष्ट्रपति संस्था र राष्ट्रपति निवास कोही एउटा व्यक्तिको निजी निवास होइन । आस्था, एकता र सम्मानको केन्द्र पनि हो । जनताको विश्वासको केन्द्र हो । यस्ता कुरा गर्दा भोलि जनताका अगाडि जवाफदेही बन्नुपर्छ भन्ने कुरालाई सितल निवासले बुझ्नु जरुरी छ ।
राष्ट्रपतिले चाल्ने साना ठूला कदमहरु उदाहरणीय हुनुपर्छ । केही यस्ता कदमहरु असामयिक र बेमौसमी हुन्छन्, तिनीहरु कैफियतमा रहन्छन् । राष्ट्रपति निवासका लागि खरिद गरिने भनिएको कार्पेटका विषयमा सदनदेखि सडकसम्मको चर्चा सेलाउन नपाउँदै फेरि जलपान अर्को संवेदनहीन काम भएको छ ।
बुधबारकै प्रसंगलाई हेर्ने हो भने फगत बधाइ र शुभकामना अनि सम्मानभन्दा पनि सत्तारुढ पार्टी स्थायी कमिटीको बैठक सुरु भएकै दिन यसको संयोग पारिनु विचारणीय छ ।

यो बुधबार नभएर कि त मंगलबार साँझ हुन सक्थ्यो, कि विहीबार हुनसक्थ्यो । किन बुधबार नै गरियो ? यसमा सन्देह उत्पन्न हुन्छ । हामीकहाँ देशको राजनीति र नेकपाको राजनीतिमा राष्ट्रपतिले कुनै न कुनैरुपमा प्रत्यक्ष/अप्रत्यक्ष भुमिका खेल्ने गरेको प्रतीत हुन्छ । कतै यो स्थायी कमिठीको बैठकमा प्रस्तुत भएका एजेण्डाहरुमा एउटा धारणा वा सन्देश दिनका लागि जलपान आयोजना गरिएको त होइन भन्ने प्रश्न उब्जिएको छ ।
पछिल्लो समय पार्टीभित्र र बाहिर जोडतोडका साथ उठिरहेको विषय एमसीसी पनि हो । कतै यो जलपान सम्माननीय प्रधानमन्त्रीको अडानलाई पृष्ठपोषण दिनका लागि ‘निमित्त आग्रह’ हुनेगरी राखिएको त होइन ?
नेकपाको आन्तरिक विवाद चुलिदै जाँदा राष्ट्रपति हुनु अगाडि र राष्ट्रपति भइसकेपछि पनि विभिन्न समय र विषयमा यसरी नै छलफल गर्दै आएको समाचारमा सुन्न पाईन्छ ।
जनता लकडाउनभित्र भएका बेला अख्तियारीको दुरुपयोग र पदीय जिम्मेवारी बोध नगरिए गरिएको जलपानले सर्वसाधारण, उपचार नपाएर छटपटिएका विरामी, गाई गोठलाई क्वारेन्टिन बनाएर बस्न बाध्य र आइसोलेसनमा उपचार नपाएका वर्गको मजाक भएको छ । कष्टकर बन्दै गएको सर्वसाधारणको दैनिकीलाई खिसिट्युरी गरेको छ ।
स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको कुरा उठ्दै गर्दा केही दिनअघि राष्ट्रियसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कसैलाई काम गर्नु छ । कसैलाई हिसाब–किताब चाहिएको छ ।’ भनेका थिए । राष्ट्रपतिको जलपानको निमन्त्रणामा शीतलनिवास छिर्दै गर्दा प्रधानमन्त्री ओलीले सायद बिर्सेको हुनुपर्छ आफ्नै भनाइलाई । उनले यो पनि भनेका थिए– राष्ट्रपतिको विरोध गर्नेहरु लोकतन्त्रविरोधी हुन् ।
सबैको साझा संस्था हो राष्ट्रपति । जनताको अभिभावक संस्था हो । जनतालाई लकडाउनमा राखेरनिवासमा जलपान आयोजना गर्ने ? अनि कोभिडको महामारीमा अत्यावश्यक काम बाहेर घर बाहिर ननिस्कन उर्दी जारी गर्ने सरकार प्रमुख नै जलपानमा सहभागी हुने ?
राष्ट्रपतिले भेटघाट गर्न हुन्न भन्ने पटक्कै होइन । सक्रिय र निष्कृयको कुरा पनि होइन । अनावश्यक विवादमा तान्नका लागि तिललाई पहाड बनाएको पनि होइन । सम्माननीय ओहोदामा रहेका व्यक्तिले विषय र परिस्थितिको गम्भीरतालाई नजअन्दाज गर्नु दुःखको कुरा हो । सार्वजनिक स्रोत र शक्तिको प्रयोग गरी सार्वजनिक भलाइका लागि काम गर्ने व्यक्तिको व्यवहार पनि आम नागरिकको अपेक्षा अनुकूल नै हुनुपर्छ । सार्वजनिक व्यक्तित्वबाट समाजले अनुकरणयोग्य व्यवहारको अपेक्षा गरेको हुन्छ ।
राष्ट्र र जनताप्रतिको दायित्व र जम्मेवारीबोध गर्न सकियो भने मात्रै जनताले पनि सार्वजनिक संस्था र पदको मर्यादा कायम राख्छन् । संस्कार ठूलाले दिने र सानाले सिक्ने हो । ठूलैको संस्कारमा सानाले चोरीआंैला देखाउन थाले भने के हुन्छ ?
प्रतिक्रिया 4