+
+

आत्महत्या रोक्न राष्ट्रिय रणनीति ल्याऔं : डा. ओझा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ११ गते १०:३८

११ असार, काठमाडौं । मनोचिकित्सक प्राध्यापक डा. सरोजप्रसाद ओझाले आत्महत्या रोकथामका लागि राष्ट्रिय रणनीति आवश्यक रहेको बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमार्फत उनले यस्तो आग्रह गरेका हुन् ।

प्रा.डा.ओझाले कोभिड–१९ का कारण लगाइएको लकडाउनका बेला करिब २० प्रतिशतले आत्महत्या बढेको भन्दै रोकथामको पहल गर्नुपर्ने बताए । उनले भने, ‘आत्महत्या रोकथामका लागि राष्ट्रिय रणनीति ल्याउन सरकारसँग आग्रह गर्दछु ।’

खासगरी आइसोलेसन, क्वारेन्टिन र घरमा रहेकाहरूलाई मनोसामाजिक परामर्श आवश्यक रहेको डा. ओझाको भनाइ छ ।

आर्थिक, सामाजिक वा आफन्त गुमाएर विभिन्न मानसिक समस्यामा रहेकाहरूलाई सकारात्मक रोच राख्न पनि डा. ओझाले आग्रह गरे । उनी भन्छन्, ‘कोरोना आउला भनेर चिन्ता गरेर बस्ने होइन, यो रोगसँग लड्ने क्षमता बृद्धि गर्ने समय हो ।’

‘महामारीले सिर्जित मानसिक समस्या विना औषधि ठीक हुन्छ’

प्रा.डा. सरोजप्रसाद ओझा, मनोचिकित्सक

नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी कहिलेसम्म रहन्छ, कतिलाई संक्रमित बनाउँछ भन्ने कुरा कसैलाई पनि थाहा छैन । यसले हाम्रो सामाजिक, पारिवारिक जीवनमा के असर पार्छ भन्ने पनि निश्चित छैन । यति हामी सबै मनोवैज्ञानिक डर र त्रासमा छौं ।

सुरु–सुरुमा इटली, अमेरिकामा कोरोना फैलिँदाको भन्दा तुलनात्मकरुपमा डर घटेको अवस्था छ । विश्व स्वास्थ्य संगठन र राज्यहरूले पनि मनोसामाजिक समस्यालाई कसरी सम्बोधन गर्ने भनेर छलफल गरेको देखिन्छ । अमेरिकामा मानसिक स्वास्थ्य संकटको पूर्वानुमान गरिसकेको छ ।

नेपाली दाजुभाइ, दिदीबहिनीहरूमा पनि एक किसिमको मनोसामाजिक डर र त्रासमा गुज्रिएका छन् । सञ्चार माध्यममा आत्महत्याका तथ्यांकहरू आईरहेका छन् । त्यसो गर्नेहरूमा १५ देखि ४० वर्षका युवाहरू बढी छन् ।

विश्वमा हरेक ४० सेकेन्डमा एकजनाले आत्महत्या गर्छ । भारतमा हरेक दुई मिनेटमा र अमेरिकमा हरेक ११ मिनेटमा एक जनाले आत्महत्या गर्छ ।

नेपालमा दैनिक १३–१५ जनाले आत्महत्या गरेको तथ्यांक थियो । लकडाउन सुरु भएपछि यो संख्या १७–१८ जना पुगेको छ । अर्थात २० प्रतिशतको हाराहारीमा आत्महत्या बढेको देखिन्छ ।

क्वारेन्टिन, आइसोलेसन वा घरमै बस्नेहरूमा पनि मनोसामाजिक समस्या देखिएको छ । आर्थिक, सामाजिक समस्या, आफन्त गुमाएको अवस्था छ । उहाँहरूले तनाव बहन गर्न नसकेर आत्महत्या गरेको देखिन्छ ।

क्षणिक तनावले गर्दा मान्छे आत्महत्या गर्ने तहसम्म पुग्न सक्दछ । मानसिक समस्या भएका व्यक्तिहरूलाई सान्त्वना दिनुपर्दछ । उनीहरूको मनमा उब्जिएका कुरा प्रकट गर्न दिनुपर्छ । मनको कुरा बाहिर आउन दिनुपर्छ । सम्भव भएसम्म मनोचिकित्सकसँग परामर्श लिने व्यवस्था मिलाउनु पर्दछ । मनोचिकित्सकीय उपचार गर्ने हो भने आत्महत्याबाट बचाउन सकिन्छ ।

अहिलेसम्मको तथ्यांक हेर्दा हामी भाग्यमानी छौं । भारइसले अरु देशमा भन्दा हाम्रोमा ज्यान लिने दर कम छ ।

२०७२ सालको विनासकारी भूकम्पपछि पनि ठूलो मनोसामाजिक समस्या पर्ने अनुमान गरिएको थियो । तर, नेपालीहरूको रोगसँग सामना गर्ने क्षमता बलियो भएकाले त्यस्तो समस्या देखिएन । परेका बेला एकअर्कालाई सहयोग गर्ने संस्कृतिले गर्दा पनि मनोसामाजिक समस्या कम देखिएको हो ।

आर्थिक रुपले विपन्न, वेरोजगार, खानेकुराको अभाव भएका व्यक्तिहरूलाई सहयोग, सदभाव देखाउने बेला हो । मनोचिकित्सक हिसाबले भन्नु पर्दा डिप्रेसन, एन्जाइटी भनेको ठूलो मानसिक रोग होइन ।

मानसिक रोग भनेपछि निको हुँदैन, अब केही गर्न सकिँदैन भन्ने सोच छ । त्यो सही होइन । मानसिक रोगलाई जित्न सकिन्छ । महामारीबाट उत्पन्न भएको रियक्टिभ डिप्रेसनलाई त विना औषधि पनि ठीक गर्न सकिन्छ । वा केही समयको औषधिले ठीक गर्न सकिन्छ ।

यो भनेको रोगसँग लड्ने क्षमता बृद्धि गर्ने समय हो । स्वस्थ जीवन शैली अपनाउने हो । ठीक समयमा सुत्ने, ठीक समयमा उठ्ने गर्नुपर्छ । दैनिक ७÷८ घण्टा सुत्न सक्ने हो भने रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । व्यायाम, योग, सन्तुलित खानामा जोड दिनुपर्दछ ।

धेरै नकारात्मक समाचार हेरेर नबसौं । बरु मन खुशी हुने सामग्री पढ्न वा हेर्न सकिन्छ । कोरोना लागिहाल्यो भने पनि ८० प्रतिशतमा त लक्षणै देखिँदैन । कोरोनालाई जित्न सकिन्छ ।

जुनसुकै अवस्थामा भए पनि सकारात्मक सोचको विकास गर्नु जरुरी छ । पारिवारिक सहयोग, सान्त्वना, हौसला प्रदान गर्नु आवश्यक छ ।

आत्महत्या रोकथामका लागि राष्ट्रिय रणनीति ल्याउन सरकारसँग आग्रह गर्दछु । आत्महत्याको सोच आउनेहरूका लागि २४ घण्टे हटलाइन परामर्श उपलब्ध गराउनुपर्छ । ‘रिल्याक्सेसन टेक्निक’ को सिकाउन सकिन्छ ।

सरकार र गैर–सरकारी संस्थाले सुरु गरेका हटलाइन सेवालाई व्यवस्थित गरौं । आइसोलेसन, क्वारेन्टिन र घरघरमा बसेकाहरूलाई परामर्श दिने व्यवस्था मिलाउँ । आत्महत्या रोक्न समुदायसम्म जनचेतना पुर्‍याउँ । आत्महत्या रोकथाम हुने विषय हो ।

कसैलाई पनि आत्महत्याको सोच आयो हटलाइन वा मनोचिकित्सकसँग सम्पर्क गरौं । कोरोनाले गर्दा जीवन बर्बाद भयो भन्ने सोच त्यागौं । सकारात्मक सोच राखौं ।

(पत्रकार सम्मेलन व्यक्त धारणाको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?