Comments Add Comment

३७ वर्षपछि गुल्मी फर्केर धान रोप्दै पूर्व मुख्यसचिव पौडेल

११ असार, काठमाडौं । कालो हाफ प्यान्ट र निलो टिसर्ट लगाएका, कपाल सेतै फुलेको, पातलो ज्यान भएका एक पुरुष बाउसे गरेर ठिक्क बनाएको खेतको गरामा धमाधम धान रोपिरहेका छन् । खेतमा रहेका केही खेतालाहरु गराको तल्लोपट्टी खाजा खाँदैछन्, दिन घुरमैलो छ । एकजना महिला मोबाइलमा भिडियो खिच्दै भनिरहेकी छिन् ‘मामाले कति छिटो भ्याइसक्नु भयो एउटा खेत ।’

‘मामा’ अर्थात् पूर्वमुख्यसचिव लिलालमणि पौड्याल । झण्डै घुँडा–घुँडा हिलोमा डुबेका ती पौड्याल दायाँ हातले धमाधम हिलोमा धान रोप्दैछन् । मोबाइलले पहिलो भिडियो खिच्दाखिच्दै आधी गरा खेत रोपी सकिएको छ ।

दोस्रो भिडियोको सुरुवातमा उनले एक किशोरीलाई धान रोप्नका लागि बोलाउँछन् । संगिता नामकी किशोरी धान रोप्न आउँछिन् तर जान्दिनन् । शरीरमा हिलो लाग्ला जस्तै गर्छिन् । खेतको गरामा एक्लै रहेका पौड्याल यसरी भएन भनेर गालामा हिलो लगाइदिँदै भन्छन्, ‘हिलोमा आएपछि हिलो लाग्दैन त ? ल यसरी रोप धान ।’ किशोरीलाई रोप्न सिकाउँदै आफू पनि छिटो–छिटो हिलोमा धानका बेर्ना रोप्छन् ।

एकजना महिला पनि धान रोप्न खेतको गरामा मिसिन्छिन् । अन्य महिला रोपारहरु खेतको डिलमा बसेर पौड्याललाई जिस्क्याउँदै भन्छन्, ‘कति छिटो रोपेको हो ? बाक्लो बिउ रोपियो, सबै बिउ एउटै गरामा सकिने भो । बुहारीको भन्दा जेठाजूको हात छिटो चलेको ? बिस्तारै अन्य खेतालाहरु पनि पौड्यालसँगग धान रोप्न मिसिन्छन् । उनलाई जिस्क्याउँदै भन्छन्– यो लकडाउनले जात्रै गरायो, के–के देख्न पाइने भो के–के ? अरु सबै मान्छे गलल हाँस्छन् । तर पौड्याल नबोली धान रोप्ने काम जारी राख्छन् । अन्य खेतालहरु पनि कति छिटो रोपेको हो के भन्दै जिस्क्याउँछन् । मोबाइलमा भिडियो खिच्दै गरेकी युवती भन्छिन्, ‘यो त भरे फेसबुकमा हाल्ने हो ।’

चीनका लागि नेपाली पूर्वराजदूत एवम् पूर्वमुख्यसचिव लिलामणी पौड्यालले गुल्मीको रुरु क्षेत्र गाउँपालिका ५ बलेटक्सारस्थित घीउबेंसीको फाँटमा धान रोप्दै गरेको फोटो र भिडियो यतिबेला सामाजिक सञ्जालमा चर्चामा छ । मंगलबार साँझ ८ बजे फेसबुक र ट्विटरमा एकसाथ पोष्ट गरिएको पौडेलको फोटो र भिडियोलाई लिएर सञ्जालमा उनका मित्रहरुले उदाहरणीय काम भन्दै प्रशंसा गरिरहेका छन् ।

३७ वर्षपछि आफ्नै खेतको हिलोमा

सामाजिक सञ्जालको फोटोका विषयमा अनलाइनखबरसँगको कुराकानीमा पौडेलले आफू ३७ वर्षपछि आफ्नै खेतको हिलोमा फर्किएको बताए । ‘हिजो ठूलो गरोको रोपाइँ थियो खेतालाहरु खाजा खाँदै थिए, सानै छँदादेखि जानेको काममा मेरो कार्यक्षमता कति रहेछ भनेर जाँच्न पनि डेढ घण्टा धान रोपें,’ पौडेलले भने ।

गाउँमा हुर्कंदै गर्दा घाँस काट्ने, दाउरा बोक्ने, खेत रोप्ने, गाई–भैंसी दुहुने तथा चराउन जंगल जाने लगायतका सबै काम आफूले जानेको पूर्व मुख्यसचिव पौड्यालले बताए । ‘पढ्न भनेर गाउँ छोडेको ३७ वर्ष भएछ त्यसबीचमा वर्षमा तीन–चार पटक घर आए पनि घीउबेंसीको फाँटमा रोपाइँ गर्न पाइएको थिएन,’ उनले सुनाए । सचिव तथा मुख्य सचिव हुँदा विभिन्न जिल्लामा पुगेर रोपाइँ गरेको भए पनि साढे तीन दशकपछि आफ्नै खेतको हिलोमा डुब्न पाएको उनले बताए ।

भुइँ घाँस काट्दा आफन्तले अचम्म माने

रानीवासमा पौडेलको पुर्ख्यौली घर छ । भाइको परिवारसँगै बुवा पनि गाउँमै रहेको र स्वास्थ्यमा समस्या देखिएकाले आफू पाँच साता अघि गाउँ आएको पौडेलले बताए । घरमा रहँदा अघिल्ला वर्षहरुमा आउँदा लगाएका बिरुवाहरु स्याहार गर्ने, तरकारी, फलफूल रोप्ने, घाँस काट्ने काम गर्दै बुवाको स्याहारमा पनि आफूले सघाइरहेको उनले बताए । ‘विभिन्नखाले तरकारी लगाएको छु, ६ वर्ष पहिले पाउलोनीय रोपेको थिएँ, यसको गोडमेल र रेखदेख गरेको छु,’ पौड्यालले भने, ‘अगरउडको ६० बिरुवा रोपेको थिएँ । राजदूतको रुपमा चीनमा रहँदा स्याहार नपाएर मरेछ, केही अझै बाँकी छन् ।’

बारीमा फलफूल लगायतका वनस्पतिको बिरुवा, कुरिलो, साग, बोडी, खुर्सानी लगायतका तरकारी फलेको र हरेक दिन आफू बारीमा पस्ने गरेको पौडेलले सुनाए । एक दिन भुइँ घाँस काट्दै गर्दा एक जना आफन्त आएर अहो ! तपाइँ त अझै सबै जान्नु हुँदोरहेछ भनेर अचम्म मानेको पनि पौडेलले सुनाए ।

समस्याहरु छन् तर श्रमलाई सम्मान गरौँ

सबै खेत रोप्दा २५ मुरी फल्ने भए पनि आधा खेत रोप्न नसकेर मकै लगाइएको र आधा मात्रै रोपाइँ गरिएको पौड्यालले सुनाए । गाउँमा श्रम गर्न नचाहने सोच हावी भएको, वन्यजन्तुबाट कृषि उपज जोगाउन कठिन भएको, मल, बिउ बजार जस्ता समस्याबाट कृषक पीडित रहेको पौड्यालको भनाइ छ । ‘हाम्रो वरपरको वातावरण बहुमूल्य सम्पत्ति हो, यसलाई बचाएर राखौँ, देश बनाउन सकिन्छ,’ पौड्यालले भने । समस्याबाट कोही पनि नेपाली भाग्न नहुने र श्रमको सम्मान गर्दै आफ्नै माटोबाट स्वाभिमानी बन्न सकिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment