+
+
Shares

नेपालगञ्ज उपमहानगरले भन्यो : प्रदेश ५ को राजधानी नपाए कर्णालीमा समाहित हुन्छौं

टोपराज शर्मा टोपराज शर्मा
२०७७ असार ११ गते १४:०२

११ असार, बुटवल । बाँकेको नेपालगञ्ज उपमहागरपालिकाले प्रदेश ५ को राजधानी बाँकेमा ल्याउन पहल गर्ने अन्यथा कर्णाली प्रदेशमा समाहित हुने बताएको छ ।

बुधबार सार्वजनिक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संस्कृति, तथा पर्यटनसम्बन्धी नीतिको एक बुँदामा भनिएको छ ‘नेपालगञ्जलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन प्रयास गरिने छ अन्यथा कर्णाली प्रदेशमा समाहित हुन आवश्यक पहल गरिनेछ ।’

मेयर धवलशम्शेर राणाले बाँके र बर्दियालाई कर्णाली नै पायक पर्ने अनलाइनखबरलाई बताए । ‘‘बाँके र बर्दियालाई ५ नम्बर प्रदेशमा अपायक परेको छ, तैपनि अहिलेको राजनीतिक बाँडफाँटमा हामी ५ नम्बरमा पर्‍यौं’ उनले भने ‘नेपालगञ्ज ऐतिहासिक सहर हो, कि त हामीलाई राजधानी बनाइदिनुपर्‍यो नभए कर्णालीतिर पठाइदिनुपर्‍यो ।’

मेयर राणाले कर्णाली प्रदेशमा समाहित हुँदा भने नेपालगञ्जलाई राजधानी नचाहिने बताए । ‘कर्णालीले पनि स्वीकार गरिसकेको छ, हामी पनि सुर्खेतलाई राजधानी स्वीकार गर्न सक्छौं’ उनले भने ।

नेपालगञ्ज धेरै पहिलेदेखि कर्णालीसँग जोडिएको भन्दै राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा रहँदा सहज हुने बताए ।

प्रदेशको स्थायी राजधानीको निर्णय प्रदेश सभाको दुई तिहाइ बहुमतले गर्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभा गठन भएको साढे दुई वर्ष पूरा भइसक्दा पनि प्रदेश ५ को स्थायी राजधानी तोकिएको छैन ।

यहाँ राजधानी बुटवल र दाङ कहाँ बनाउने भन्ने मुख्य विवाद छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?