Comments Add Comment

नेपालमा कोरोना समुदायस्तरमा फैलिएको हो ?

११ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण पाटन अस्पतालमा उपचाररत ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भयो ।

चितवन स्थायी घर भई ललितपुर महालक्ष्मीका उनको पाँच महिना अगाडि मिर्गौला प्रत्यारोपण गरिएको थियो । उनी फलोअपका लागि अस्पताल गइरहन्थे । अधिकांश समय एम्बुलेन्समा अस्पताल पुग्थे । ‘पछिल्लो महिना पनि पटक-पटक अस्पताल गएका रहेछन् । तर अस्पताल र घरबाहेक अन्यन्त्र गएको ट्राभल हिस्ट्री छैन’ स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाल भन्छन् ।

पछिल्लोपटक उपचारका लागि नर्भिक अस्पताल गएको बेला उनलाई कोरोना संक्रमण भएको पुष्टि भयो । त्यहाँबाट भएपछि पाटन अस्पताल सारियो । स्वास्थ्यमा समस्या भएका आईसीयूमा उपचाररत उनको बिहीबार निधन भयो ।

डा. गेलाल भन्छन्, ‘संक्रमणको स्रोतबारे हामी अनुमान गर्न मात्र सक्छौं, अहिले केही भन्न सक्दैनौं ।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) का निर्देशक वासुदेव पाण्डेले पनि कहाँबाट संक्रमण सर्‍यो भनेर खोज्न कन्ट्याक ट्रेसिङ सुरु गरेको बताए ।

कोरोना संक्रमण पुष्टि भएपछि पनि संक्रमण स्रोत पत्ता नलागेको यो पहिलो घटना भने होइन ।

सरकारले जेठ ३ गते कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भएको घोषणा गरेको थियो । मृतक सिन्धुपाल्चोक, बाह्रबिसेकी १० दिनकी सुत्केरी थिइन् ।

उनको ट्राभल हिस्ट्री त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, गाउँकै स्वास्थ्य चौकी र धुलिखेल अस्पताल थियो । तीनवटा स्वास्थ्य संस्था धाउँदा र श्वास-प्रश्वासमा समस्या आउँदा पनि उनको कोभिड परीक्षण भएको थिएन ।

जब उनको मृत्यु भयो, तब मात्र परीक्षण गरियो  । उनलाई कोरोना संक्रमण पुष्टि हुँदा मृत्यु भएको झण्डै दुई दिन भइसकेको थियो । तर संक्रमण स्रोत पत्ता लागेन ।

जेठ १२ गते मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा तत्कालीन प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमणबाट नेपालमा चौथो व्यक्तिको मृत्यु भएको बताए। बाराका उनको जेठ ४ गते भएको थियो भने त्यही दिन अन्त्येष्टि गरिएको थियो । यो केसमा पनि संक्रमणको स्रोत पत्ता लगाउन मन्त्रालय असफल भयो ।

जेठ ८ गते रुपन्देहीको मणिग्रामस्थित अस्पतालमा भर्ना भएका गुल्मी मदानेका एक शिक्षकको मृत्यु भयो । मृत्यु हुनुअघि नै कोभिड १९ पुष्टि भएको उनको ट्राभल हिस्ट्री  गाउँपालिकाको स्वास्थ्य चौकी, अर्घाखाँचीको क्लिनिक र त्यहाँबाट मणिग्राम अस्पताल थियो । तर उनको पनि संक्रमण स्रोत पत्ता लागेन ।

जेठ १४ ललिलपुरको किस्ट अस्पतालमा ५७ वर्षीय पुरुषको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भयो । पाटन अस्पतालमा आईसीयू नभएर किस्ट रिफर गरिएको उनलाई अल्कोहलिक लिभर डिजिज थियो । मृत्युपछि कोरोना संक्रमण रहेको रिपोर्ट आयो । तर उनको पनि संक्रमण स्रोत पत्ता लागेन ।

कोरोना संक्रमणका कारण मृत्यु भएका तर संक्रमण स्रोत पत्ता नलागेका यी त केही उदारण मात्र हुन् । संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका दर्जनौं संक्रमितको संक्रमण स्रोत पत्ता लागेको छैन ।

यस्ता घटनाहरूले कोरोना संक्रमण समुदायमा फैलिएको संकेत गरेको संक्रामक रोग विशेषज्ञ डाक्टर अनुप सुवेदी बताउँछन् । उनका अनुसार अधिका‌ंश संक्रमितहरू लक्षणविहीन हुन्छन् भने केही संक्रमितलाई मात्र लक्षण देखिन्छ । सिकिस्त र मृत्यु हुने संक्रमित अत्यन्तै थोरै भएकाले पनि ठूलो संख्यामा संक्रमण भएको थाहा नभएको हो । नेपालको परीक्षणको दायरा अत्यन्तै साँघुरो भएकाले समुदायस्तरको संक्रमण पत्ता नलागेको उनको दाबी छ ।

‘न अधिकांश संक्रमितको कन्ट्याक ट्रेसिङ भएको छ, न त समुदायस्तरमा परीक्षण भएको छ । यति हुँदाहुँदै पनि यति धेरै मृत्युको संक्रमण स्रोत पत्ता नलाग्नु भनेको संक्रमण समुदायस्तरमा गएको संकेत हो’ डा. सुवेदीले भने, ‘यो त मृत्युको मात्र तथ्यांक भयो, धेरै संक्रमितहरूको पनि संक्रमण स्रोत पत्ता लागेको छैन ।’

संक्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरूको पहिचानका आधारमा समुदायमा संक्रमण फैलिएको नफैलिएको यकिन गर्न सकिने डा. सुवेदी बताउँछन् । तर नेपालमा कन्ट्याक ट्रेसिङ वैज्ञानिक ढंगले नभएको जनस्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् ।

‘कुनकुन घटनाको स्रोत पत्ता लाग्न सकेन भन्ने गर्नुपर्ने हो । तर हामीकहाँ त्यसरी हुन सकेको छैन । गरिएको भनिएका कन्ट्याक्ट ट्रेसिङको पनि आँकडा हेर्न पाइँदैन । जबकि विभिन्न देशहरूमा भने बिरामीको पहिचान नखुलाई त्यस्तो तथ्या‌ंक सार्वजनिक गरिन्छ’ डाक्टर सुवेदीले भने, ‘संक्रमितसँग सम्पर्कमा आएका र सम्भावित संक्रमित सबैको परीक्षण गर्ने हो भने समुदायस्तरमा संक्रमण फैलिएको र नफैलिएको थाहा हुन्छ ।’

जीवाणु वैज्ञानिक समीरमणि दीक्षितका अनुसार मृत्यु भएको तर संक्रमण  स्रोत पत्ता नलागेका केसले तीनवटा संकेत दिएको छ ।

पहिलो, कन्ट्याक ट्रेसिङले हावा खाइरहेको छ ।

दोस्रो, संक्रमण हुन सक्ने व्यक्तिको खोजी गरेर परीक्षण गरिएको छैन ।

तेस्रो, संक्रमण समुदायमा गइसकेको छ तर लक्षणविहीन र सिकिस्त नभएकाले धेरैलाई थाहा भएकै छैन ।

‘समुदायमा संक्रमण नभएको भए भारत वा अन्य तेस्रो मुलुकबाट नआएको व्यक्ति, जसको ट्राभल हिस्ट्री अस्पताल मात्रै छ, उसलाई संक्रमण कहाँबाट सर्‍यो त ?’ डाक्टर दीक्षित भन्छन्, ‘यो थाहा पाउन कि त कन्ट्याक ट्रेसिङ व्यापक हुनुपर्छ, कि त समुदायमा टेस्ट गर्नुपर्छ ।’

टेस्टको दायरा साँघुरो भएको अवस्थामा समेत यति धेरै केसहरूको संक्रमण स्रोत पत्ता नलाग्नुले समुदायमा संक्रमण फैलिएको संकेत गरेको डाक्टर दीक्षितको दाबी छ। उनी भन्छन्, ‘यो अवस्थामा राज्यले कि त व्यापक टेस्ट गरेर संक्रमणको स्रोत भन्नुपर्‍यो कि त समुदायमा संक्रमण फैलिएको स्वीकार गर्नुपर्‍यो ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा अहिले १३ जना संक्रमितको उपचार भइरहेको छ । अधिकांश संक्रमितमा लक्षण भएका छन् । केहीलाई आईसीयूमा राखिएको छ । ‘हाम्रोमा पनि केही संक्रमितको अवस्था गम्भीर छ । तर संक्रमण स्रोत पत्ता लागेको छैन’ नाम उल्लेख गर्न नगर्ने शर्तमा एक चिकित्सकले भने, ‘हामीलाई कम्युनिटी ट्रान्समिसनको संकेत मिलेको छ ।’

जीवाणु वैज्ञानिक सुदीप खड्का पनि नेपालमा कम्युनिटी ट्रान्समिसन सुरु भएको संकेत मिलेको बताउँछन् । उनका अनुसार कुनै पनि समुदायको मानिसमा कसरी भाइरस सरेको होला भनेर पहिचान गर्न नसकिने गरी संक्रमित भेटिनुले स्थानीयस्तरमा संक्रमण फैलिएको प्रष्ट पार्छ । यस्तै केसहरू फेला पर्दै जानु नै कम्युनिटी ट्रान्समिसनको संकेत हो ।

‘संक्रमण भेटिएको ठाउँमा परीक्षणको दायरा बढाउँदै लगेमा सामुदायमा संक्रमण फैलिएको प्रष्ट पार्छ’ डाक्टर खड्का भन्छन्, ‘कन्ट्याक ट्रेसिङ वैज्ञानिक हुनुपर्छ र ट्रेसिङ गरिएका सबैलाई परीक्षण गर्ने हो कम्युनिटी ट्रान्समिसनको संकेत मिल्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार ठूलो संख्यामा स्थानीय संक्रमण (लोकल ट्रान्समिसन) भएको ठाउँमा कम्युनिटी ट्रान्समिसन हुन्छ । जसमा ठूलो संख्याका केसहरू ट्रान्समिसन चेनहरूबाट लिङ्क गर्न सकिँदैन भने कम्युनिटी ट्रान्समिसन भनिन्छ । उसले भनेको छ, ‘देश/क्षेत्र/स्थानका धेरै ठाउँहरूमा धेरैवटा असम्बन्धित क्लस्टरहरू फेला पर्‍यो भने पनि कम्युनिटी ट्रान्समिसन भनिन्छ ।’

कम्युनिटी ट्रान्समिसन अनुमान मात्रै : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीका अनुसार नेपालमा संक्रमण कुन चरणमा रहेको भन्ने विश्लेषण गर्न विज्ञहरूको छुट्टै टोली छ ।

टोलीले अहिलेसम्मका केसहरूको विश्लेषण गर्दा कम्युनिटी ट्रान्समिसनमा पुगिसकेको निष्कर्ष निकालिसकेको छैन । ‘केही केसहरूले कम्युनिटी ट्रान्समिसनको संकेत गरेको छ तर त्यति थोरै केसहरूको आधारमा कम्युनिटी ट्रान्समिसन भनिहाल्न मिल्दैन’ अधिकारीले भने, ‘हामीलाई इडीसीडीले पनि यो यो केसको संक्रमण स्रोत पत्ता लागेन भनेर फाइनल रिपोर्ट दिइसकेको छैन । त्यसैले अहिले नै कम्युनिटी ट्रान्समिसन भन्न मिल्दैन ।’

कट्याक ट्रेसिङ गरिरहेको इडीसीडीले संक्रमण स्रोत पत्ता नलागेको केसहरूको फाइनल रिपोर्ट दिएपछि कम्युनिटी ट्रान्समिसनबारे भन्न सकिने उनले बताए । उनले भने, ‘धेरै ठाउँ, धेरै मानिस र धेरैलाई संक्रमणको जोखिम बढ्दै जाँदा पनि संक्रमण स्रोत पत्ता लागेन भने मन्त्रालयले कम्युनिटी ट्रान्समिसन भएको भन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment