+
+

व्यापारीका पीडा : ‘पसल त खोलियो, ग्राहक छैनन्’

रोयल आचार्य रोयल आचार्य
२०७७ असार १२ गते २०:३५

१२ असार, काठमाडौं । न्युरोड गेटबाट दायाँ लागेपछि देखिन्छ अनेकानेक पसल । कुनै पसल अगाडि विविध रङ्गका खेलौना झुण्डाइएका छन् त कुनैमा स्टाइल-स्टाइलमा ब्यागहरू ।

पसलहरूका अगाडि फुटपाथमा पनि व्यापारका अनेकथरी सामान फिँजाइएका छन् । न्युरोड गेटबाट महाबौद्धसम्म पुग्दा अनेकथरीका सामानले सजिएका पसलहरू खुलेसँगै भिडभाड पनि बढेको देखियो । तीन महिनादेखि हात बाँधेर बस्ने भरियाहरू असारे झरीले हिलाम्य बनाएको सडकमा फुर्तीसाथ यताउता गरिरहेका देखिन्थे ।

पेटीमा सयको तीन जोडीवाला मोजादेखि २९० रुपैयाँवाला टि-सर्टसम्म बेच्न राखिएका थिए । कोही सयको तीन, सयको तीन र कोही दुई सय नब्बे, दुई नब्बे… भन्दै कराइरहेका थिए ।

बुधबार अपराहृन यस्तै हल्ला र चहलपहलकाबीच महाबौद्ध चहार्दा हामीले ग्राहक नभएर छिमेकी पसलेसँग गफ गरिएका पसलेहरू पनि भेट्यौं ।

फुर्सदिलामध्येका एक सुरेश तिवारीलाई हामीले सोध्यौं- ‘व्यापार कस्तो छ त ?’

महाबौद्धमा मास्क, भेस्टसहित इनर आइटमको होलसेल पसल सञ्चालक उनले भने, ‘पसल खोल्यौं, तर ग्राहक आउँदैनन् । के व्यापार हुनु ?’

बोहनी मात्र हुँदा पनि खुसी हुनुपर्ने अवस्था रहेको बताउँदै उनले भने, ‘बिहान आयो पसल खोल्यो, दिनभर बस्यो व्यापार छैन । एक जना आएर बोहनी गरिदिए पनि खुसी हुनुपर्ने अवस्था छ ।’

कोरोना संक्रमण नफैलियोस् भनेर ग्राहकलाई मास्क र स्यानिटाइजर अनिवार्य गरिएको तिवारीले सुनाए । सामान्य अवस्थामा जस्तै ग्राहक आए दुरी कायम गर्न चाहिँ अलि समस्या हुने बताउँदै उनले भने, ‘अहिले त १० प्रतिशत पनि व्यापार छैन, यस्तो बेला दुरीको समस्या हुने कुरै भएन ।

तिवारीको पसलमा भेटिएका प्युखाका होलसेल व्यापारी निर्मल पाण्डेले अतिआवश्यक सामग्री भए पनि अहिले धेरैलाई कपडाको खाँचो नपरेकाले व्यापार कम रहेको सुनाए ।

लामो समय लकडाउन भएको र ग्राहकसँग खर्च गर्ने रकम कम भएको उनको बुझाइ छ । ‘अहिले पहिलो आवश्यकता स्वास्थ्य र दोस्रोमा खाद्यान्न हुन पुग्यो,’ पाण्डे भन्छन्, ‘यस्तो महामारीका बेला कपडाहरू कम प्राथमिकतामा परेका कारण ग्राहक आएका छैनन् ।’

कस्मेटिक सामग्रीका होलसेल व्यापारी गोविन्द दाहाल फाट्टफुट्ट ग्राहक आउन थालेको बताउँछन् । उनका अनुसार, पहिलेको भन्दा आधा व्यापार हुन पनि समय लाग्ने देखिएको छ ।

अर्को, आयस्रोत नभएका कारण सरकारले लकडाउन नखोल्दै आफू पसल खोल्न बाध्य भएको उनी बताउँछन् । ‘मैले जेठ २१ गतेदेखि पसल खोलेँ, तर व्यापार छैन !’ उनले भने, ‘भाडा तिर्नसम्म पुग्यो ठूलो उपलब्धि मान्नुपर्ने अवस्था छ ।’

रञ्जना ट्रेड सेन्टरमा जुत्ताको होलसेल पसल चलाएका मदनराज अर्यालले अहिले व्यापार शून्य बराबर रहेको बताए । ‘अहिले त पसल खोल्नु पनि ठूलो कुरा हो, उनी भन्छन्, ‘सार्वजनिक यातायात नखुली कसैको व्यापार चल्दैन ।’

सार्वजनिक यातायातको पर्खाइ

महाबौद्धका व्यापारीहरू सार्वजनिक यातायात कहिले खुल्ला भनेर पर्खिरहेका छन् । सार्वजनिक सवारी खुलेपछि ग्राहक आउने विश्वास उनीहरूमा छ । ‘अहिले त लकडाउन र खेतीको सिजन पनि छ’, मदनराज अर्याल भन्छन्, ‘सार्वजनिक गाडी खुलेपछि व्यापार पक्कै बढ्छ ।’

महाबौद्वका व्यापारी सुरेश तिवारीले लकडाउन खुलेपछि मानिसहरूको मनोबल पनि बढ्ने अनुमान गरे । ‘फेरि ठूला चाड पनि आउँदैछन्’, उनी भन्छन्, ‘सरकारले सार्वजनिक सवारी खुला गरेसँगै व्यापार बढ्नेमा ढुक्क छौं ।’

होलसेलभन्दा खुद्रा व्यापारको अवस्था नाजुक रहेको व्यापारीहरू बताउँछन् । करिब दुईदशकदेखि खिचापोखरीमा खुद्रा व्यापार गर्दै आएका मनोजबावु श्रेष्ठ कोरोनाविरुद्वको लकडाउनले थला पारेको बताउँछन् । अहिले घरभाडा र स्टाफलाई तलब दिन पनि नसक्ने अवस्थामा पुगेको उनले बताए ।

खिचापोखरी व्यापार संघका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले अहिले एकाध ग्राहक आएर पसलमा पस्नु नै ठूलो कुरा भएको सुनाए । उनका अनुसार अबको एउटै आशा भनेको सार्वजनिक यातायात हो । ‘सार्वजनिक गाडी खुलेपछि व्यापार भइहाल्ला भन्ने एउटा आस बाँकी छ’, श्रेष्ठ भन्छन्, ‘तर यातायात खुलेपछि पनि कोरोनाको त्रास त बाँकी नै रहन्छ ।’

कहिले सहज होला, अनुमान नै गर्न नसकिने अवस्थामा सरकारले घरभाडा र बैङ्कहरूको ब्याजमा छुट हुने योजना ल्याउनुपर्ने उनको माग छ ।

‘करिब तीनमहिना सटर खोलेनौं, सटर खोलेपछि पनि व्यापार छैन’ श्रेष्ठ भन्छन्, ‘यस्तो अवस्थामा महिनाको छ लाख भाडा कसरी तिर्न सकिन्छ ?’

महँगो सामान बिक्री हुँदैन !

महाबौद्ध, खिचापोखरीलगायतका क्षेत्रमा दुई घण्टा डुल्दा हामीले केही ग्राहकसँग पनि कुरा गर्यौं । होलसेल पसलेका लागि ग्राहक तर उनीहरू आफैं व्यापारी ।अहिले भित्री वस्त्र र घर बस्दा लगाउने कपडामात्र बिक्री हुने उनीहरूले सुनाए । मोजा, पञ्जा, मास्कलगायतका सामग्री लिन आएकी भक्तपुरकी व्यापारी गौमती श्रेष्ठले घरमा चाहिने सस्तो चिजबाहेक अरू अहिले बिक्री नै नहुने बताइन् ।

‘म तीनमहिनापछि सामान लिन आएकी मोजा, मास्क र घर बस्दा लगाउने सस्तो टि-सर्ट किनेकी छु’ दुई हातका झोला देखाउँदै उनले भनिन्, ‘महँगो सामान त बिक्री नै हुँदैन ।’

जोरपाटीमा पसल रहेका मनोज कार्की पनि घर बस्दा बच्चा र ठूलो मान्छेले लगाउने सस्तो खालको टि-सर्ट, सेन्ड्रो, कट्टु र ट्रयाकसुट किन्न आएका रहेछन् ।

अहिले अलि महँगो माल त पसलमा नराख्दा नै राम्रो हुने उनले बताए । उनले भने, ‘कोरोना महामारी र लकडाउनले गर्दा मान्छेहरूको किन्ने क्षमता नै छैन ।’

तस्वीर र भिडियोः आर्यन धिमाल/अनलाइनखबर

 

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?