Comments Add Comment

अष्ट्रेलियाको मेलबर्नबाट फर्किए २११ नेपाली

मेलबर्न एयरपोर्टमा नेपालीहरु

१३ असार, सिड्नी । अष्ट्रेलियाबाट आज दोस्रो ‘उद्धार’ उडान भएको छ । भिक्टोरियाका लागि नेपाली महावाणिज्यदूत चन्द्र योन्जनले मेलवर्नबाट २११ जना नेपाली यात्रुहरु शनिबार काठमाडौं फर्किएको जानकारी दिए । भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यूसाउथवेल्स, तास्मानियाबाट नेपालीहरू काठमाडौं फर्किएका हुन् ।

यसअघि यही असार ९ गते अष्ट्रेलियाको सिड्नीबाट २५९ जना नेपालीहरुलाई काठमाडौं ल्याइएको थियो । पहिलो उडानमा जस्तै अहिले पनि अष्ट्रेलियामा आफ्ना आफ्न्त भेट्न र घुम्न आएका पर्यटकहरु नेपाल फर्किएका हुन्  । चार महिना लामो लकडाउनका कारण उनीहरु यतै रोकिएका थिए ।

नेपालबाट ५ बच्चासहित ४५ जनालाई लिएर आएको नेपाल एयरलाइन्सको हवाई जहाजबाट उनीहरु स्वदेश फर्किएका हुन् । हवाई जहाजमा क्याप्टेन विजय लामासहितको टोली छ ।

मेलबर्न एयरपोर्टमा नेपाल एयरलाइन्सको जहाज

नेपाल फर्किन लागेकाहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले विमानस्थलमा सहयोग गरेको छ । विमानस्थलभन्दा टाढाबाट आएकाहरुलाई शुक्रबार साँझ एनआरएनएले स्वयंसेवी ढंगले खाने–बस्ने व्यवस्था मिलाएको छ ।

साथै शनिबार बिहान पनि ती यात्रुहरुलाई ब्रेकफास्ट र उपहारको व्यवस्था मिलाइएको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कँडेलले जानकारी दिए । अष्ट्रेलियामा कार्यरत नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरुले पनि नेपाल फर्किन लागेका नेपालीहरुलाई सहयोग गरिरहेका छन् ।

अष्ट्रेलियाबाट १३ सय नेपालीले स्वदेश फर्किन भनेर निवेदन दिएका थिए । दुई पटकको उडानबाट हालसम्म ४७० जना नेपाली स्वदेश फर्किएका छन् । आवेदन दिएका अन्य नेपालीहरु स्वदेश फिर्ताको पर्खाइमा छन् । तर, अर्को उद्धार उडान भने अझै टुंगो लागेको छैन । उद्धार उडानको क्रममा यात्रुहरुबाट चर्को भाडा असुलिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment